वालिङको झलुङ्गेमा नि:शुल्क आँखा शिविर सम्पन्न
स्याङ्जा, ६ मंसिर । जिल्लाको वालिङ नगरपालिका वडा नं–१३ स्थित झलुङ्गेमा गत सोमबार निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । स्थानीय १३ नम्बर वडा आयोजक तथा बीएम फाउण्डेशन काठमाडौँ सह आयोजक बनेको सो शिविरमा हिमालय आँखा अस्पताल र जापानीज संस्था ओयुआई आईएनसीले प्राविधिक सहयोग गरेका थिए । यस्तै शिविरमा टीपीवी फाउण्डेशन र केडीसी जनरल हस्पिटलले पनि साथ दिएका थिए ।
बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार एक दिने आँखा शिविरमा ९९ जना पुरुष र १३२ जना महिला गरी कुल २३१ जनाले परीक्षण गराएका थिए । उनले परीक्षण गराउनेहरुमध्ये कतिपयमा आँखाको बुढ्यौलीसंग सम्वन्धित समस्या प्रेस्बायोपिया, आँखा सुख्खा हुने समस्या ड्राइआई सिन्ड्रोम तथा पिग्युकुला जस्ता समस्या देखिएको बताए ।
शिविरमा समस्या देखिएकाहरुलाई आवश्यकता अनुसार औषधि तथा चस्मा समेत निशुल्क वितरण गरिएको थियो ।
डा. श्रेष्ठले शिविरकै अवसरमा स्वास्थ्य प्राविधिकहरुले स्थानीय सर्वसाधारणलाई आँखा स्वास्थ्य राख्ने उपायका बारेमा प्रशिक्षण समेत दिएका थिए ।
‘स्थानीयहरु जो आँखा स्वास्थ्यबारेमा नियमित जानकारी लिई रहेका हुँदैनन्, आँखा जाँच पनि नियमित गरेका हुँदैनन्, उहाँहरुलाई लक्षित गरेर हामीले शिविर सञ्चालन गरेका हौँ । यो कार्यका लागि १३ नम्बर वडा आयोजक नै बनेर साथ दियो भने हिमालय आँखा अस्पताल पोखराले प्राविधिक पठाइदियो । अरु संस्थाहरु पनि सहयोगी भएर आएर शिविर राम्ररी सम्पन्न भयो,’ डा. श्रेष्ठले भने ।
उनले आफ्नो फाउण्डेशनले विभिन्न जिल्लाका दुर्गम स्थानीय तहसम्म पुगेर विगतमा पनि यस्ता थुप्रै आँखा शिविर गरिसकेको भन्दै आगामी दिन पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।
त्यसअघि शिविरको अवलोकन गर्न आएका वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले अगुवाई गरेको बीएम फाउण्डेशनलाई धन्यवाद दिदै अन्य वडामा पनि यसैगरी शिविर सञ्चालन गरिदिन आग्रह गरेका थिए ।
शिविर सम्पन्न भएपछि १३ नम्बरका वडा अध्यक्ष नम डुम्रे तथा प्रशासकीय अधिकृतले शिविर सञ्चालनका लागि पुगेको टोलीलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
सम्पर्क इमेल : [email protected]