अन्तर्वार्ता :

‘मेडिकल शिक्षा क्षेत्र जुन गतिका साथ अघि बढ्दै थियो त्यसमा अहिले ब्रेक लागेको अवस्था छ’

उमेरको हिसावले उनी युवा हुन्, भर्खर ३१ पुग्दैछन् । जिम्मेवारीको हिसावले भने उनी पाको भैसकेका छन् ।  हामी कुरा गर्दैछौँ शाहनवाज अन्सारीको ।

नेशनल मेडिकल कलेज वीरगञ्जको म्यानेजिङ डाइरेक्टर (प्रवन्ध सञ्चालक )अन्सारी अहिले नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँको समेत सञ्चालक समितिका सदस्य बनेका छन् ।  युवा अवस्थामै दुई ठूला मेडिकल कलेजको गहन जिम्मेवारीमा पुगेका उनीसंग यसपटक नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपानेले कलेज तथा अस्पताल व्यवस्थापनमा केन्द्रीत रहेर केही कुराकानी गरेका छन् । हेर्नुहोस् कुराकानीको सारसंक्षेप :

अहिले ३१ वर्ष पुगेँ भन्नु भयो, तपाईँको मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यारम्भ वा आवद्धता कतिवर्षको उमेर देखि सुरु भयो ?

मैले नेशनल मेडिकल कलेज वीरगञ्जमा लगभग छ वर्ष अघि देखि एक्जुकेटिभ डाइरेक्टरको भूमिकामा काम सुरु गरेको हुँ । अहिले सातौँ बर्षमा प्रवेश गर्दा मैले त्यहाँ म्यानेजिङ डाइरेक्टरको जिम्मेवारीमा रहेको छु । यस हिसावले म लगभग २५ वर्षको उमेर देखि मेडिकल क्षेत्रमा आएँ ।

अहिले म काठमाडौँमा रहेको अर्को ठूलो मेडिकल कलेज (नेपाल मेडिकल कलेज) को बोर्ड सदस्यमा समेत रहेको छु ।

तपाईँको शिक्षाको बारेमा पनि थाहा पाउन मन लाग्यो, बताईदिनु हुन्छ कि ?

हजुर, मेरो विद्यालय शिक्षा माउन्ट हार्मोन स्कुल दार्जिलिङबाट भएको हो । त्यसपछि  ए लेभलको पढाई मैले  यहि लिटिल एन्जल्स कलेज हात्तीवनबाट गरेँ ।

त्यसपछि बीबीए तर्फ लागें,  इन्डियन एन्स्टिच्युट अफ प्लानिङ एण्ड म्यानेजमेन्ट नयाँ दिल्ली भारतबाट  बीबीए गरेँ ।

त्यसपछि एमबीए । मास्टरर्स इन हेल्थ केयर म्यानेजमेन्ट विषयमा जैन युनिभर्सिटी बेङ्लोर भारतबाट एमबीए पुरा गरेको हुँ । जब एमबीए पुरा गरेँ त्यसपछि नेपाल फर्कें र अस्पताल ब्यवस्थापनमा आवद्ध भएँ । वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पतालमा जोडिएँ ।

तपाईँको बाबा चिकित्सा क्षेत्रमा नाम कमाएको व्यक्ति, परिवारको लगानी  पनि स्वास्थ्य सेवा तथा व्यवसायमा, अझ भनौँ खासगरी मेडिकल कलेज र अस्पतालमा, तर तपाईँ चै चिकित्सक बन्नु भएनछ । किन ?

मेरो परिचय पछि धेरैले चासो राख्ने विषय हो यो ।

अनि तपाईँलाई यो पनि भनु  मेरो प्रेरणाको स्रोत बाबा नै हुनुहुन्छ ।

उहाँ जतिवेला बिरामी हेर्न जानुहुन्थ्यो, शल्यक्रिया कक्षमा छिर्नु हुन्थ्यो मैले मनमनै भन्ने गर्दथेँ,  ‘म पनि यसैगरी डाक्टर बन्छु र बिरामीको सेवामा प्रत्यक्ष रुपमा जोडिन्छु ।’

समय बित्दै गयो, बाबाले उपचार सेवासंगै अस्पताल तथा मेडिकल कलेजको व्यवस्थापन सम्हाल्न थाल्नु भयो, त्यसपछि उहाँले क्लिनिकल प्राक्टिस गर्न छाड्नु भयो ।

सुरु सुरुमा दुबै जिम्मेवारीमा रहे पनि उहाँले अहिले क्लिनिकल प्राक्टिस गर्नु हुन्न । सुरु सुरुमा म्यानेजमेन्ट र क्लिनिकल प्राक्टिस गर्न कोसिस पनि गर्नु भयो तर त्यसरी व्यालेन्स गरेर लैजान गाह्रो भयो भनेर छाड्नु भयो ।

उहाँले त्यसबीचमा धेरै अफ्ट्याराहरुको सामना गर्नु भयो । किनभने बिरामी व्यवस्थापन र संस्थाको व्यवस्थापन दुई अलग कुरा थिए । उहाँको अवधारणा के थियो भने उपयुक्त व्यक्ति उपयुक्त ठाउँ राखियो भने काम गर्न सजिलो हुन्छ र नतिजा राम्रो आउँछ । तर कन्सेप्ट बुझ्नु परयो, कसरी गर्ने ?  के गर्ने ? भन्ने विषयमा ।

अध्ययन् कै क्रममा यीे विषयहरु पनि मैले बाबालाई नै हेरेर सिकेको हुँ । म अहिले सोच्छु म यदि डाक्टर पढ्थेँ भने पनि प्राक्टिस गर्ने थिईन होला यदि यो जिम्मेवारीमा आउँथे भने । त्यहि कन्सेप्ट अनुसार मैले विजनेश अध्ययन र करिअर अघि बढाउँदै आएँ । अहिले म मेरो नेतृत्वको संस्थालाई कसरी अगाडी बढाउने भनेर लागि परिरहेको छु ।

नेपाली समाज, डाक्टरको सन्तान डाक्टर नै हुनु पर्ने,  इन्जिनियरको सन्तान इन्जिनियर, व्यापारीको छोरा व्यापारमै हुनुपर्छ वा अभिभावकले सन्तान पनि आफनै पदचापमा अघि बढोस भनेर सोच्ने गर्दछन् भनिन्छ, तपाईँ त झन् डाक्टरको एक्लो छोरा, डाक्टर बन्नु पर्छ भन्ने दवाव आएन ?

तपाईँले भनेको ठिक हो, ए लेभल सकिए पछि म पनि केही समय निकै अन्योलतामा गुज्रिएँ । के गर्ने होला भनेर ।

चिकित्साशास्त्र तर्फ जानु पर्छ भनेर इन्ट्रान्सको तयारीमा गएँ । इन्ट्रान्सको तयारीका लागि भनेर ट्युसन पनि सुरु गरेँ । हो, त्यो बेलामा निकै नै दोधारमा पनि थिएँ । के गर्ने कसो गर्ने भनेर ।

त्यो बीचमा मैले र मेरो परिवारले उच्च तहका डाक्टरसंग समेत सुझाव लियौँ । कि, के गर्दा राम्रो हुन्छ भनेर । सुझाव लिएका ९० प्रतिशत जतिले भने कि म्यानेजमेन्ट पढ्नै पर्छ । जुन हिसावले हाम्रो स्वास्थ्य संस्थाहरु अघि बढेको छ यसलाई राम्ररी व्यवस्थापन गरेर अघि बढाउनु पर्छ र  त्यसका लागि म्यानेजमेन्ट पढनु अनिवार्य छ भन्नु भएको थियो उहाँहरुले। अनि केहीले एमबीबीएस गरेर एमबीए गर्नु राम्रो हुन्छ भनेर पनि सुझाव दिनुभयो ।

त्यसपछि मलाई के लाग्यो भने, एमबीबीएस पूर्ण रुपमा टेक्निकल फिल्ड भयो, मानव जीवनको उपचारसंग जोडिएको विषय । त्यसकारणले यदि मैले म्यानेजमेन्ट नै गर्नु छ, अस्पताल र आफ्नो व्यावसाय सम्हाल्नु छ भने किन ५ वर्ष एमबीबीएसमा अल्झिनु ? ‘ह्युमन बोडी’ पढे पनि मेरो लक्ष्य क्लिनिकल प्राक्टिसमा पुरा समय दिने भन्ने आखिर छैन । मेरो मुख्य लक्ष्य त यी भएका स्वास्थ्य संस्थाको राम्ररी सञ्चालनमा निरन्तरता दिनका लागि व्यवस्थापन गर्ने भन्ने हो । यदि व्यवस्थापनमै जाने हो भने किन सुरु देखि नै व्यवस्थापन विषय नसमाउने भन्ने भयो ।

औषधि उपचारका लागि थुप्रै विज्ञहरु हुन्छन्, हरेक रोगका विज्ञहरु हुन्छन् । तर ती सबैका लागि म्यानेज गर्नु महत्वपूर्ण कुरा हो भन्ने लाग्यो । त्यसपछि मेरो मनले निर्णय गर्‍यो अब अलमल होइन, व्यवस्थापनको बाटो तर्फ लाग भनेर ।

त्यसअघि सम्म खासमा बुबा पनि कन्फ्युज हुनुहुन्थ्यो । म पनि कन्फ्युजमै थिएँ तर पछि हामी दुबै जनाले सबैको सुझावलाई समेत हेरेर म्यानेजमेन्टमा जानु पर्छ भनेर निर्णय गर्‍यौँ ।

त्यसपछि इन्ट्रान्स तयारी कक्षा बीचमै छाडेर बीबीएमा भर्ना भएँ ।

सन् २०१७ मा एमबीए सकेर आएपछि नेशनल मेडिकल कलेजमा काम सुरु गरेँ ।

२५ वर्षकै उमेरमा तपाईँले महत्वपूर्ण पद सम्हाल्नु भएको रहेछ,  काममा आवद्धता हुने बेलाका केही गाह्रो अफ्टेरो भएको अनुभव छ ?

खासगरी ठूलो च्यालेन्ज के हो भने, हामीसंग पढाईको ज्ञान त छ तर त्यसले काम गर्ने हो कि होइन भन्ने कन्फ्युजन हुँदो रहेछ । किनभने हामीसंग अनुभव थिएन । तर, भाग्यवस मैले काम सुरु गर्दा मेरो सिनियरहरु मेरा अभिभावकहरुले निरन्तर मलाई सहयोग र सपोर्ट गर्नु भयो ।

हामी पनि तिमि जस्तै थियौँ, एकै पटक सबै कुरा जान्ने भएर कोही आउँदैन विस्तारै सिकिन्छ भनेर भन्नु भयो । गल्ती नै हुँदा पनि मलाई सुधार्ने धेरै मौका पाएँ । मेरो लागि सिकाईको बातावरण बन्यो ।

अर्को कुरा समस्याहरु खण्ड खण्ड पार्न सक्यो भने एकदमै ठूलो जस्तो हुँदैन, त्यसलाई एक एक गर्दै सुल्झाउँदै जान सजिलो हुन्छ । मलाई के लाग्छ भने सबै ‘प्रब्लम’हरु एउटै ‘लियर’मा राखेर एकैपटक सुल्झाउछु भन्न पनि हुँदैन । ‘मल्टिपल लियर’मा राखेर ‘सटडाउन’ गर्दै जाने हो । कसरी ‘बेस्ट आउटकम’ हुन्छ भन्ने हिसावले जानु पर्छ । त्यसरी मैले समस्याहरु समाधान गर्दै गएँ । यसले मलाई थप जिम्मेवारी बोध र अनुभवी बनाउँदै गयो ।

म्यानेजमेन्टमा थाहा पाउनु पर्ने कुरा समस्या जहिले पनि ८०/२० प्रतिशतको नियम लागू हुन्छ । कसरी बुझौँ भने कुनै पनि ८० प्रतिशत समस्या २० प्रतिशत कुराले हुने गर्दछ । त्यसैले उच्च प्राथमिकतामा २० प्रतिशत परेमा ८० प्रतिशत समस्या त्यसै समाधान भएर जान्छ । किनभने त्यो ८० प्रतिशत समस्या भनेको आफै तलमाथि भइरहेको हुन्छ । खासै असर गर्दैन । मुख्य समस्या भनेको २० प्रतिशत मात्रै हुन्छ । जसलाई मिलाउन मात्रै सकेमा संस्था ८० प्रतिशत राम्रो चल्छ । अर्कोकुरा समस्या आयो भनेर धेरैले माइक्रो म्यानेजमेन्ट गर्न खोज्दो रहेछ ।

म अहिले भन्न चाहन्न माइक्रो म्यानेजमेन्ट राम्रो कि नराम्रो तर यदि त्यसमा मात्रै केन्द्रीत हुनुभयो भने तपाईँ त्यहि समस्यामा अडकिनु हुन्छ । त्यसैले त्यसैले डेलिगेसन अफ पावर, डेलिगेसन अफ रोल एण्ड रेस्पोन्सविलिटी चाहि एउटा ठूलो कुरा हो । कसरी डेलिगेट गर्ने ? तर मेरो नीति भनेको ७० /८० प्रतिशत राम्रो छ भने ठिक भन्ने हो । सत प्रतिशत राम्रो चाहनुहुन्छ भने तपाईँ अड्किनुहुन्छ । सानो कुरामा माइक्रो म्यानेजमेन्ट गर्न तर्फ लाग्नु भयो भने त्यो भन्दा माथि तपाईँ जान सक्नुहुन्न ।

तपाईँका भावि योजना  तथा प्राथमिकता के के छन् ?

मेडिकल फिल्डको कुरा गर्दा अव पहुँच कसरी बढाउने ? जनतालाई स्वास्थ्य शिक्षाबारेमा सिकाउने ? आजको दिनमा स्वास्थ्यको बारेमा जुन निरक्षरता छ त्यसलाई कसरी घटाउँदै जाने भन्ने बारेमा र एक दिन त्यसको उन्मुलन गर्ने भन्ने विषयमा म बढी केन्द्रीत हुन्छु ।

स्वास्थ्य रोकथामका उपाय के के हुन् ? के कुरामा ध्यान दिनु पर्छ ? यदि उपचार नै गर्नु परेमा के के कुरामा ध्यान दिने भन्ने विषयमा पनि जानकारी हुन जरुरी छ । नागरिकलाई सहज ढंगले सबैको पहुँचमा स्वास्थ्य सेवा कसरी पुर्‍याउने भन्ने मेरो उदेश्य हो ।

वीरगञ्ज औद्योगिक क्षेत्रको रुपमा चिनिन्छ, सीमा क्षेत्र पनि भयो, चिकित्सा शिक्षा अध्यापनका लागि बातावरण कत्तिको सहज छ ?

मेरो अनुभव भन्नु हुन्छ भने ‘नो प्लेस इज इजी एण्ड नो प्लेस इज हार्ड ।’

आजको दिनमा वीरगञ्जको व्यक्ति हुनुका नाताले म धन्य छु । त्यो ठाँउमा केही गर्न सकिन्न भनेर सोच्नु हुन्छ भने तपाईँले केही गर्न सक्नु हुन्न । राम्रा नराम्रा पक्ष जहाँ पनि हुन्छन् । सजिला र अफ्टेरा अवस्था जुनसुकै बेला आउन सक्छन् ।

म जहिले पनि सकारात्मक सोच राख्ने र आशावादी हुने गर्दछु । सकारात्मक सोचले मात्रै सबै कुरा राम्रो हुन्छ भन्ने पनि होइन तर मैले त्यसलाई कसरी म्यानेज गर्ने भन्ने कुरा गर्दछु ।

निजी क्षेत्रबाट मेडिकल कलेज चलाउन चुनौतीहरु के कस्ता देख्नु भएको छ ?

यसलाई दुई भागमा बाँढेर हेर्नु पर्छ जस्तो लाग्छ । एउटा सरकारले बनाएको नीति नियम र अर्को बिरामीको उपचार ।
सरकारको नीतिलाई हेर्दा दुर्भाग्य नै भन्छु म । मलाई थाहा छैन किन यस्तो गर्छ सरकार । तर जुन क्षेत्र ‘बुम’ हुन्छ त्यसलाई गिराउन अनेक नीति ल्याईन्छ । त्यसरी अनेक थरी नीति ल्याइएकै कारण गिर्दो क्रममा रहेको नेपालको एउटा क्षेत्र मेडिकल एजुकेशन हो ।

किनभने नेपालको एउटा ‘बुमिङ सेक्टर’ भनेको ‘मेडिकल एजुकेशन सेक्टर’ थियो । एजुकेशन र हस्पिटल सेक्टर । ‘बुम’ नै गरेको थियो । हाम्रै कुरा गरौँ न नेशनल मेडिकल कलेजमा १५० सिट थियो, विदेशी विद्यार्थी आइरहेको थियो, त्यसबाट विदेशी पैसा भित्रिएको थियो । त्यसलाई घटाएर १००  मा झारियो ।  यसो गर्नुको कारण सोध्दा गुणस्तरीय शिक्षाका लागि भनियो ।तर मलाई के लाग्छ भने ३०० विद्यार्थी पढाउँदा पनि गुणस्तर मेन्टेन गर्न सकिन्छ ।

सिट बढाउँदा गुणस्तर घट्छ भन्ने जुन भास्य बनाईयो यो अत्यन्त गलत छ । सिट र गुणस्तर फरक चिज हुन् । यदि तपाँईले गुणस्तर मेन्टेन गर्नु भयो भने विद्यार्थीको ठूलो संख्या पाउनु हुन्छ । तपाँईलाई विश्वास गरेर विद्यार्थी पढ्न आउँछ ।

सरकारले गुणस्तर जाँच गर्ने हो तर त्यता नहेरी सबै निजी क्षेत्र भनेको गलत गर्न आएका हुन भन्ने भास्य बनाईयो । यो दुर्भाग्य हो । यो सेक्टरलाई कसरी सहयोग गर्ने, राम्ररी चलाउने र सहज बनाउने नियम कसरी बढाउने भन्ने कहिल्यै सोच आएन जस्तो लाग्छ । कसैले राम्रो चलायो भने यसले लुट्यो भन्ने आरोप लगाउने र अनेक थरीका नियम तत्कालै तयार पारेर दुख र झन्झट दिने प्रबृत्ति भयो ।

तपाईँ हेर्नुहोस् न हाम्रो छिमेकी भारतमा अहिले १०० बाट बढाएर २५० सिटमा पुग्यो तर हामी १५० बाट १०० मा झर्न पुग्यौँ । पीजी हामी २२–२३ लाख रुपैयाँमा पढाई रहेका छौँ, जो संसारकै सबैभन्दा सस्तो हो ।

त्यसैले तपाँईहरुले एमबीबीएस तथा बिडिएस दुई सिफ्टमा पढाउन पाउँ भनेको हो ?

हजुर, हामीले दुई सिफ्टमा पढाउन पाउँ भनेका हौँ । एउटा सिफ्टमा ८० प्रतिशतसम्म कोटा विदेशीका लागि छुट्याउ भनेको हो । यसो गरेमा हामीले छात्रबृत्ति कोटा पनि बढाउँछौँ र नेपाली विद्यार्थीहरुका लागि पर्याप्त हुन्छ भनेका छौँ ।

संगै कलेजको आम्दानी बढ्छ र राज्यमा पैसा भित्रन्छ भनेको हो । यसले राज्यपक्ष र निजी क्षेत्रका लागि ‘वीन वीन सिचुएसन’ बन्छ । हामीले मंहगो नै गरे पनि छिमेकी भन्दा निकै सस्तो हुन्छौँ । त्यसैले ‘वीन वीन’ भनेको हो ।

नेपालको मेडिकल एजुकेशन गुणस्तरीय छ भनेर कसरी पनि थाहा हुन्छ भने यहाँबाट पासआउट भएका भारतीय विद्यार्थीकै कुरा गरौँ न,  उनीहरुले जब  त्यहाँ गएर एमसीआईमा परीक्षा दिन्छन्, पास प्रतिशत उच्च रहेको छ । ८०–९० प्रतिशत पास हुन्छ ।

त्यसैले यो ‘वीन वीन सिचुएसन’ हो ।

मैले नबुझेको अर्को कुरा आजको दिनमा २२ लाखमा विद्यार्थी ल्याउ र २५ लाख फिर्ता देउ भनेको छ । हाम्रो भनेको निजी क्षेत्रबाट सञ्चालित कलेज हो । सेवा त हुन्छ नै कलेज सञ्चालन पनि हुन पर्छ । किनभने हामीसंग विद्यार्थीको फिस बाहेक आम्दानीको अरु स्रोत छैन ।

हामीले बिरामीबाट लिने शुल्कले अस्पताल चलाउन नै ठिक्क हुन्छ । तर तपाईँ सरकारी निकायले यी निजी क्षेत्र चलाउनै नसकुन भनेर नियम फेरिरहनु हुन्छ ।  किन यस्तो ?

शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रलाई लिएर खाली विवाद हुन्छ, बदनाम मात्रै गराउन खोजिन्छ । तर, मेरो  सामान्य प्रश्न के भने निजी क्षेत्रलाई सरकारले राम्रो संग सेवा दिए भने त निजी क्षेत्र बन्द भईहाल्छ नि ।

राम्रो सेवाका लागि आफू नलाग्ने अनि निजी क्षेत्रमा गयो भनेर जान नदिनका लागि अफ्टेरो नियम बनाउने ? सरकारीमा सेवा राम्रो भए त पैसा खर्च गरी गरी मानिसहरु निजी क्षेत्रमा किन जान्छन् ? त्यसैले नियम बदल्ने होईन आफ्नो सेवा सुधार गर्न तर्फ क्रियाशिल हुनुहोला ।

मेरो स्पष्ट धारणा के हो भने राज्यले निजी क्षेत्रलाई हेर्ने नजरिया परिवर्तन हुनु पर्छ । निजी र सरकारी भनेर पक्षपातपूर्ण व्यवहार गर्नु जरुरी छैन । चिकित्सा शिक्षा र सेवा गर्नु निजी र सरकारी दुबैको अधिकार र दायित्व हो । यो निजी हो त्यसैले यसलाई अलि बढी कसौँ र यो सरकारी हो अलि खुकुलो गरौँ भन्नु आवश्यक छैन । बरु प्रतिस्पर्धाबाट दुबैले आफूलाई अब्बल सावित गर्ने प्रणालीको विकास गरौँ ।

हाम्रो प्रतिप्रर्धा जनतालाई सेवा कसरी राम्रो गुणस्तरीय दिने भन्नेमा हुनुपर्छ,  नकी अरु कुरा ।

स्वास्थ्य सेवाको पहुँचलाई कसरी राम्रो बनाउने ? स्वास्थ्य शिक्षामा जनताको पहुँच कसरी विस्तार गर्ने ? लगायतका कुराहरुमा सरकारको ध्यान केन्द्रीत हुनुपर्छ । त्यसमा निजी क्षेत्रले अवश्य सघाउने नै छ । स्थानीय तहमा स्वास्थ्य शिक्षाको स्वास्थ्य सेवाको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि हामीले सोच्नु आवश्यक छ ।

अर्कोकुरा हामी निजी क्षेत्रले पनि सरकारले केही गर्न सकेन त्यसैले हामी आएका हौँ भनेर फुर्ति गर्नु पनि जरुरी छैन । हामी मिलेरै काम गर्न सकिन्छ । सरकारसंग हातेमालो गरेरै अघि बढ्न सकिन्छ ।

नेशनल मेडिकल कलेज टिचिङ हस्पिटलले के कसरी सेवा दिईरहेको छ ?

नेशनल मेडिकल कलेज वीरगञ्ज ५५० बेडको अस्पताल हो । तर हामीले सुरु गरेको १०५० बेडबाट हो । जुन बेला मेडिकल काउन्सिलको नियम यस्तो थियो कि १५० सिटको लागि १०५० बेड हुनु पर्छ भन्ने थियो । तर १५० पछि १०० मा झरेपछि हामी पनि ५५० मा झरेका हौँ ।

त्यसपछि डाक्टर, कर्मचारी सहित धेरैको रोजगारी पनि गुम्यो ।

ठूलो अस्पताल मेडिकल कलेज हुँदा त्यहाँका जनतालाई पनि फाइदा हुन्थ्यो । तर सिट कटौती र बेड कटौतीमा पर्दा घाटा स्थानीयलाई पनि भयो ।

मेडिकल कलेज भएको ठाउँमा वरपरका अरु क्लिनिक तथा अस्पतालले पनि आफू खुशी रेट बढाउन पाउँदेनन् । महंगो हुने वित्तिकै मान्छेहरु मेडिकल कलेजमा जान्छन् भनेर । धेरै नै बढी लिन त सक्दैन ।

हाम्रोमा मल्टीस्पेशेयालिटी, एउटा ओपिडी टिकटले न्युरो कार्डियो ग्यास्ट्रो लगायत थुप्रै केशमा कन्सलटेसन गर्न सक्छ तर अरु निजी अस्पतालमा यो सुविधा छैन । हरेकको छुट्टा छुट्टै टिकट लिएर देखाउनु पर्छ । एक पटक छिरेपछि एउटै टिकटले आवश्यकता अनुसार सबै जाँच गर्न सकिन्छ । यो मेडिकल कलेज टिचिङ हस्पिटलको सबैभन्दा राम्रो पक्ष हो ।

नेशनल मेडिकल कलेज वीरगञ्ज सबैभन्दा पहिले क्याथ ल्याव सञ्चालन गर्ने मधेश प्रदेशको पहिलो अस्पताल हो । छ – सात वर्ष भयो । पहिलो पटक हामीले नै एन्जीयोग्राफी गरयौँ । त्यसपछि बिरामीको फ्लो केही बढ्न पनि थाल्यो । युरो पनि सुरु गरेको ६ वर्ष बढी भयो । ओपन हार्ट सर्जरी पनि सुरु गरयौँ । भैरहेको छ । ओपनहार्ट सर्जरीका लागि आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु उपलव्ध छ ।

डीएम/एमसीएच पनि सुरु गरेका छौँ । कार्डियोमा डीएम सुरु भएको छ ।

बिरामीहरु त्यहाँ भारतबाट ४० प्रतिशत बढी बिरामी आउँछन् । बिरामीसंगै भारतबाट पैसा पनि देशमा भित्रिएको छ । यो राज्यको लागि पनि गर्वको कुरा हो ।

नेपाल मेडिकल कलेजको सञ्चालक हुनुभयो कसरी समय मिलाउनु हुन्छ ? 

मेरो भनाई के भने यस्ता संस्थामा रहँदा तपाईँ माइक्रो म्यानेजमेन्टमा फस्नु भयो भने यसरी अघि बढ्न सकिदैन । किनभने अब हाम्रो संस्था सिस्टमबाट चल्ने हो । एक्लै कहिले पनि चल्न सक्दैन,  टिमले चलाउने हो । कसरी डेलिगेट गरेर केके आफूसंग राख्ने र के के भन्ने आफ्नो क्षमता र योजना बनाउन सक्नु पर्‍यो ।

अन्त्यमा सरकारलाई के सुझाव दिनु चाहनुहुन्छ ?

मेडिकल सेक्टर जो हाम्रो देशमा एउटा गतिका साथ अघि बढ्दै थियो त्यसमा यतिवेला ब्रेक लागेको अवस्था छ । तर अब त्यसलाई रोक्ने काम नगर्नुहोला । ‘कोल्याब्रेटिभ – वे’ मा जानु पर्छ । कसरी यो ‘सेक्टर’लाई प्रमोट गर्ने भन्ने विषयमा सल्लाह गर्नुपर्ने हुन्छ ।

यसैगरी हाम्रोमा के छ भने सानो कुरा पनि प्रधानमन्त्रीसम्म पुग्छ । यसरी हुँदैन । अनुसन्धान र अध्ययन गर्नुपर्छ । एक दुई प्रतिशतमा हुने कुरालाई लिएर सबै नीति नियम निकाल्दा अनुसन्धान गरेर विश्लेषण गर्नुहोस र त्यसपछि लागू गर्नुहोस। सबै पार्टीसंग सल्लाह गर्नुहोस । कसैको लहडमा नीति नबनाउनुहोस । कसैलाई खुशी पार्न, कसैले जिद्धि गरयो भन्दैमा दीर्घकालमा कस्तो अफ्टेरो पार्छ भनेर हेर्दै नहेरी काम नगर्नुहोला । योजना बनाएर काम गर्नुहोला । मुख्य कुरा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नु होला ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *