जलवायु परिवर्तनको असर बाल स्वास्थ्यमा
काठमाडौँ, ५ मंसिर। विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
यसै क्रममा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता दिने बताएका हुन् ।
उनले सरकारका तर्फबाट बालबालिकाको अधिकार सुनिश्चित गर्न, बालबालिकाको आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन र जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न कटिबद्ध रहेको प्रतिबद्धतासमेत व्यक्त गरे ।
मन्त्री ठकुरीले भने, “जलवायु सङ्कट केवल विश्वव्यापी आपत्काल मात्र होइन, यो बाल अधिकारको सङ्कट पनि हो, यसले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई खतरामा पार्छ, नेपालको झन्डै ८० प्रतिशत जनसङ्ख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको अवस्थामा बालबालिका र युवा यस सङ्कटबाट प्रभावित भएका छन् ।”
कार्यक्रममा युनिसेफ की नेपाल प्रतिनिधि एलिस अङ्कुगाले जलवायु परिवर्तनले नेपालका बालबालिका र युवा पुस्तामा पर्ने असर र रोकथामबारे विस्तृत रूपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
सम्पर्क इमेल : [email protected]