स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा
जुम्ला, मंसिर ४ । जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई रु ९५ लाख बजेट विनियोजन गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिए । स्थानीय सरकारको स्रोतसाधनबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको उनले बताए ।
‘जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको पनि अर्थ रहँदैन भनेर जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने निर्णय गरी शिविरमार्फत सेवा दिन थालेका हौँ । स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिफलसहितका योजना बनाएर अघि बढेका छौँ,’ अध्यक्ष धितालले भने ।
गाउँपालिको आयोजनामा प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा गत कात्तिक ३० गते शनिगाउँ स्वास्थ्य चौकी र यही मङ्सिर १ गते नराकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहित स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।
उनका अनुसार स्वास्थ्य शिविरबाट सात सय २२ जनाले सेवा लिएका छन् ।
उक्त शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय दुई, स्त्री रोगसम्बन्धी ९५, जनरल जाँच एक सय ५०, मनोसामाजिक परामर्श एक सय ३०, अपाङ्गता परीक्षण एक सय १० र मुखको परीक्षण ३५ जनाको भएको रोकायाले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।
गत कात्तिक २८ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क कानको परीक्षणमा दुई सय ५९ जनाले सेवा लिएका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोकायाले जानकारी दिए । उक्त शिविर गाउँपालिकाको आयोजना र नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
सिञ्जाका ३२ वटा गाउँमा पुगेर मासिक रुपमा यहाँका ज्येष्ठ नागरिकको स्वास्थ जाँच गर्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाले बताए । गाउँमै दक्ष चिकित्सकबाट निःशुल्क उपचार पाउँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको सिञ्जा( ३ की नुन्नु उपाध्यायले बताए ।
अहिले पालिकामा छ वडामध्ये तीनमा स्वास्थ्य चौकी र तीनमा आधारभूत स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइरहेको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए ।
उनका अनुसार गर्भवतीका लागि नराकोट, धापा र शनिगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ ।
आपत्कालीन अवस्थाका बिरामी, ज्येष्ठ नागरिक, अपङ्गता र सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताइन् ।
गत आवमा चारवटा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार पाँच सयबढीले सेवा लिएका गाउँपालिकाले स्वास्थ्य शाखाले जनाएको छ ।
आगामी वैशाखमा सिञ्जा कर्णाली प्रदेशकै उकृष्ट पोषणमैत्री स्थानीय तह घोषणा हुन लागेको बताउँदै विभिन्न १६ सूचकमध्ये १४ वटा पूरा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए । स्वास्थ्य क्षेत्रको पहुँच कम भएका ठाउँमा स्वास्थ्य शिविरमार्फत सेवा प्रवाह भइरहेको उनले बताए ।
नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिसहित स्वास्थ्य जाँच कार्यक्रमले दीर्घरोगीले सहज उपचार पाएका स्थानीय बताउँछन् । गत आवमा स्वास्थ्यतर्फ सिञ्जा गाउँपालिका जिल्लाका आठ स्थानीय तहमध्ये पहिलो भएको थियो ।
स्वास्थ्य सेवातर्फ विभिन्न सूचक पूरा गरी ८७ प्रतिशत अङ्क प्राप्त गर्दै सिञ्जा जिल्लाकै पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]