सिकलसेलका बिरामीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्यायो बेग्लै वार्ड

काठमाडौं, २ मंसिर । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल रोगको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।

आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले २० कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए । यसलगत्तै थारुबहुल क्षेत्र दाङको घोराहीमासमेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो ।

मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउने बताएको एक महिनाकै बीचमा थप अर्को ठूलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो ।

यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रुपमा रहेको सिकलसेल उपचारका लागि उनीहरुको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार शुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिकलसेलबाट त्यस समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति डा लामिछानेले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *