राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ, २ मंसिर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालले आफ्नो पाँचौं राष्ट्रिय  महाधिवेशन आगामी चैत महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष डा झलक गौतमको अध्यक्षतामा शनिबार राजधानीमा सम्पन्न महासंघको छैटौ पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नयाँ सदस्य बिस्तार तथा नवीकरण गर्ने कार्यलाई त्यस अघि नै सम्पन्न गर्न तथा स्थानीय, जिल्ला तथा प्रदेश तहमा महासंघको र घटक संघहरुको अधिवेशन फागुन महिना भित्रै सम्पन्न गराउने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले यहि मंसिर महिनामा हुन लागेको नेपाल नर्सिङ संघको निर्वाचनमा पनि महासंघको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्धारलाई बिजयी गराउन लाग्नका लागि आफ्ना सदस्यहरुलाई आव्हान गर्ने निर्णय गरेको छ ।

यसैगरी समायोजन तथा विभिन्न बहानामा स्वास्थ्यकर्मीहरुले उत्पिडन खेपिरहेको भन्दै यसलाई सम्वोधन गर्न एकीकृत स्वास्थ्य सेवा ऐन यथाशीघ्र ल्याउन नेपाल सरकार संग माग गर्ने समेत निर्णय गरेको महासंघका प्रचार विभाग सचिव नहर्बु फुर्वा दोर्जेले बताए ।

गत ३० कात्तिक देखि सुरु भएको बैठकको समापन सत्रको उद्घाटन प्रमुख अतिथिको रुपमा निम्त्याइएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

सो अवसरमा पार्टीका जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल तथा पार्टी स्थायी कमीटी सदस्य तथा महासंघका इन्चार्ज कृष्णगोपाल श्रेष्ठको उपस्थिति थियो । यस्तै पार्टीका स्वास्थ्य विभागका सचिव महेन्द्र श्रेष्ठ  तथा सदस्य सहित केन्द्रीय सल्लाहकारको समेत उपस्थिति रहेको थियो । उनीहरुले महासंघले गरेको कामको प्रशंसा गर्दै थप गर्नु पर्ने कामका विषयमा आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा चौथो महाधिवेशन २०७८ पश्चात् महासंघको विधान, कार्यक्रम र योजना बमोजिम संगठन बिस्तारमा विभिन्न तीन वटा प्रदेश तथा सातै प्रदेशका एक एक जिल्ला समितिहरु र उपत्यका विशेष प्रदेश समितिका एक वटा जिल्ला समितिले गरेको उत्कृष्ट कार्य सम्पादन मूल्यांकनको आधारमा प्रसंशा पत्र प्रदान गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *