लैङ्गिक पहिचानका लागि एलिनले लडेको सामाजिक र कानूनी लडाई

– एलिन भण्डारी

काठमाडौँ, २९ कात्तिक । जन्मदा शरीरको अंग छोरी मान्छेको थियो तर उमेर बढ्दै जाँदा उनको हाउ भाउ र गतिविधि छोरीको जस्तो पटक्कै देखिएन । यसले दुई छोरी र एक छोरा हुकाईसकेका काठमाडौँ महाराजगञ्ज चक्रपथ चोकका भण्डारी दम्पत्तीलाई कम्ति टेन्सन हुँदैनथ्यो ।

बढ्दै गरेकी आफ्नो ‘कान्छी छोरी’लाई केटाको जस्तो नक्कल नगर भनेर भण्डारी दम्पत्तीले पटक – पटक सम्झाए। कहिले काँही गाली पनि गरे । तर उनीहरुको ‘कान्छी छोरी’मा कुनै परिवर्तन आएन ।

‘मैले नक्कल गरेको भए पो सच्याउन सक्थें होला । शारीरिक र मानसिक विकास नै मेरो फरक थियो,’ कुरो सुरु गर्ने क्रममा उनले हामीलाई आफ्नो विगत पोखिहाले ।  त्यसरी विगत पोख्ने व्यक्ति हुन् लैंगिक पहिचानका लागि सामाजिक तथा कानूनी लडाईमा होमिएका ३३ वर्षीय पारालैंगिक पुरुष एलिन भण्डारी ।

बुधबार मध्यान्न मण्डिखाटारस्थित उनको कार्यालयमा पुग्दा पाटन उच्च अदालतले २०८० जेठ १७ गते उनको पक्षमा गरेको फैसलाको पूर्ण पाठ हातमा लिएर बसेका थिए ।

‘म सुरुमा आफैसंग लडें, परिवार र समाजले मलाई छोरी मान्छे भन्यो तर मलाई त्यो लाग्दैनथ्यो, त्यसैले म को हुँ भनेर आफैसंग लडें । गलत शरीरमा मेरो आत्मा बन्धक बनेको हो कि भनेर समेत सोच्थें । तर पछि थाहा भयो म पारालैंगिक पुरुष रहेछु । त्यो थाहा भएपछि मैले एलिनाबाट नाम परिवर्तन गरेर एलिन बनाएँ । तर परिवार र समाजसंग म कसरी खुल्ने ? परिवारसंग एलिन बन्न निकै संघर्ष गर्नुपरयो । तर मेरो दाईको सहयोगमा म त्यसमा पनि सफल भएँ । अब म कानूनी लडाईँमा छु राज्यसंग, कि म मेरो पहिचानमा औपचारिक रुपमै चिनिन चाहन्छु भनेर । अर्थात म आफूलाई पुरुष पाउँछु तसर्थ मैले मेरो सानैमा राखिएको नाम एलिनाबाट एलिन बन्न चाहन्छु । नागरिकता, पासपोर्ट मेरा शैक्षिक प्रमाणपत्र सबैमा नाम एलिन र लिंग पुरुष लेखाउन चाहन्छु । यहि विषयमा मैले उच्च अदालत पाटनमा रिट दायर गरेको थिएँ । मेरो पक्षमा फैसला आएको छ,’ उनले पूर्ण पाठको सन्दर्भ सम्छिप्तमा सुनाए ।

हुन पनि उच्च अदालतका न्यायाधीशद्धय नरिश्वर भण्डारी र ध्रुवराज नन्दले धारा १४४ को अधिकार प्रयोग गर्दै एलिनको मुद्धाको पक्षमा आदेश जारी गरेका थिए ।

नेपालको संविधानको धारा १२ मा लैगिंक पहिचान सहितको नागरिकता भनेको छ । लैगिंक पहिचान सहित हामीले नागरिकता पाउनु पर्छ । हाम्रो पहिचान हुनुपर्छ एलिनले थपे, ‘उच्च अदालतले पनि सोही बमोजिमको फैसला सुनायो तर जिल्ला प्रशासन कार्यालयले अझै मानेको छैन । हामी सल्लाह गरेर खबर गर्छौ भनेको छ तर तीन चार महिना भईसक्यो केही आएको छैन ।’

‘छोरी भनेर नागरिकता त बनेकै रहेछ, शैक्षिक प्रमाणपत्र पनि छोरीको नाममा आइरहेको रहेछ, अब किन फेरी परिवर्तन गर्ने ?’ प्रश्न नसकिदै उनले जवाफ दिई हाले,  ‘यो हाम्रो पहिचानको मुद्धा हो । आत्मसम्मानको विषय हो । आफ्नो अधिकारको सवाल हो । शारीरिक रुपमा केटीको शरीर लिएर जन्मेपनि मेरो आत्म, सोच विचार सबै पुरुषको छ । म आफूलाई पुरुष ठान्छु । हर्मोनल औषधिले गर्दा अहिले त दाह्री जुँगा समेत आएको छ । अब त मैले आफ्नो लडाई झन तगडासाथ लड्नुपर्छ । यो मेरो मात्रै मुद्धा पनि होइन हामी जस्ता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धा हो । यसलाई राज्यले सहज ढंगले निकास दिनु पर्छ,’ उनले थपे ।

पारालैङ्गिक भएकै कारण परीक्षाबाट बन्चित भएँ
‘किशोरावस्था सुरु हुँदै जाँदा मलाई आफू महिला वा पुरुष भन्दा फरक प्रकृतिको व्यक्ति हुँ भनेर लाग्न थालेको थियो । प्लस टू सम्म आईपुग्दा त्यो एक्ट्रिम भयो । व्याचलर पढ्दा पढ्दा सम्म मेरो रुप नै धेरै परिवर्तन भएको थियो । पशुपति क्याम्पसमा परीक्षा केन्द्र थियो । प्रवेश पत्रमा नाम छोरीको तर हेर्दा छोरा जस्तो देखिएपछि मलाई नक्कली परिचयपत्र बोकेर आएको भन्दै परीक्षामा सहभागी हुन नै दिईएन । त्यसपछि मैले पढाई छाडिदिएको थिएँ । अहिले फेरी अर्को कलेजमा पुन सुरु गर्दैछु,’ एलिनले आफ्नो भोगाई सुनाए ।

उनले आफू परीक्षा दिनबाट बन्चित भएजस्तै आफू जस्तै समुदायका महिला तथा पुरुषहरुलाई बैंक खाता खोल्दा दुख पाएको, पासपोर्ट बनाउन जाँदा दुख पाएको, सवारी साधनको लाइसेन्स बनाउन जाँदा दुख पाएको र हरेक पाइला पाइलामा समस्या भएको बताउँछन् ।

कतिपयले शल्यक्रिया गरेर लिंग परिवर्तन गरेर मात्रै नागरिकता वा प्रमाणपत्रमा परिवर्तन हुन सक्ने भन्ने सुनेको भन्दै उनले शल्यक्रिया नगरीकनै नागरिकता र प्रमाणपत्र प्राप्त गर्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *