कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज
प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्री पौडेल लगायतका उच्च अधिकारी जुम्लामा
जुम्ला, २८ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुँदै छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समारोहमा भाग लिन जुम्ला आउँदैछन् ।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार यसपटक जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन्।
प्रतिष्ठानको दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो। तर प्रधानमन्त्री स्वास्थ्यको कारण भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा। अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए।
उनले भने, ‘स्नातकतर्फ बिपिएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन्।’
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए। दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।
सम्पर्क इमेल : [email protected]