बलिउडका सुपरस्टार शाहरुख खानद्धारा चुरोट सेवन त्यागेको घोषणा
दिनमै १०० खिल्ली बढी चुरोट सेवन गर्थे खान
मुम्बई । बलिउडका सुपरस्टार शाहरुख खानले चुरोट सेवन गर्न छाडेको बताएका छन् । गत २ नोभेम्बरका दिन आफ्ना फ्यानसंग ५९ औँ जन्मोत्सव मनाउन आयोजित विशेष समारोहमा उनले सो जानकारी दिएका हुन् ।
खानले अघिल्लो शनिबार जन्मदिन मनाउन बान्द्राको रंगमन्दिर अडिटोरियममा पुगेका थिए । यही क्रममा उनले स्टेजमा गुड न्युज भन्दै चुरोट छाडेको बताएका थिए । ‘अर्को राम्रो कुरा छ साथीहरू, अब म चुरोट पिउँदिन,’ उनले स्टेजमा भने ।
किङ खानले सो जानकारी दिईरहँदा दर्शकदिर्घामा रहेका उनका फ्यानले समर्थन गर्दै हुटिङ र ताली बजाएका थिए ।
त्यसो त खान बलिउडमा सबैभन्दा बढी चुरोट सेवन गर्ने अभिनेताको सूचीमा परेका थिए । उनले दिनमै १०० खिल्ली चुरोट सेवन गर्ने गरेको बताएका थिए ।
शाहरुख खानसँग फिल्म कोयलामा काम गरेका अभिनेता प्रदीप रावतले हालै सिद्धार्थ कननलाई दिएको अन्तर्वार्तामा भनेका थिए कि शाहरुख चेन स्मोकर हुन् । उनले भनेका थिए, ‘छायाङ्कनको क्रममा म शाहरुखसँग धेरै नजिक थिइनँ, तर उनी निकै राम्रो स्वभावका व्यक्ति हुन् । मलाई एउटा कुरा याद छ कि शाहरुखले जति चुरोट पिउने गरेको मैले अरु कुनै अभिनेतालाई देखेको छैन । उनले एउटै चुरोटबाट आर्को चुरोट बालेर दोस्रो र तेस्रो चुरोट पिउने गर्थे । उनी एक वास्तविक चेन स्मोकर हुन्। तर फिल्मप्रति उनको समर्पणको कुनै सीमा छैन।’
अभिनेता खानले भने आफ्नो परिवारका सदस्य र स्वास्थ्यलाई ख्याल गरेर चुरोट सेवन गर्न छाडिदिएको बताएका छन् ।
‘मलाई सास फेर्नै समस्या हुन थाल्यो’ उनले भने।
चुरोट छोडेपछि आफूलाई सास फेर्न समस्या नहोला भन्ने लागेको तर अहिलेसम्म समस्या सुल्झिसकेको बताए । उनले भने, ‘मलाई श्वास फेर्न समस्या नहोला भन्ने लागेको थियो तर अहिले पनि त्यो महसुस गरिरहेको छु । आशा गरौँ यो पनि समयसँगै ठीक हुनेछ।’
केही वर्षअघि नै शाहरुखले आफ्ना सन्तान आर्यन, सुहाना र अबरामका लागि चुरोट छोड्न चाहेको बताएका थिए ।
“I am not smoking anymore guys.”
– SRK at the #SRKDay event ❤️❤️ #HappyBirthdaySRK #SRK59 #King #ShahRukhKhan pic.twitter.com/b388Fbkyc4— Shah Rukh Khan Universe Fan Club (@SRKUniverse) November 3, 2024
सन् २०१२ मा शाहरुख खान आफ्नो टोली कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल हेर्न आएका बेला सार्वजनिक स्थानमा धुम्रपान गरेको भन्दै जरिवाना लगाइएको थियो ।
यस क्रममा उनलाई स्टेडियममा सार्वजनिक रुपमा चुरोट पिइरहेको देखिए । यस्तो अवस्थामा जयपुरको अदालतले उनलाई दोषी ठहर गर्दै १०० रुपैयाँ जरिवाना लगाएको थियो ।
सम्पर्क इमेल : [email protected]