जनस्वास्थ्यमा उदाउदो समस्या: बहु दीर्घकालीन रोग

स्वास्थ्यको इतिहासलाई फर्केर हेर्दा विभिन्न काल खण्डमा विभिन्न रोगहरुले मानव अस्तित्वलाई नै त्राहिमाम गर्ने गरी सताएको छ । अर्थात विश्वभरका मानिसको जीवनमा थुप्रै रोग र जनस्वास्थ्यका समस्याहरु आएका छन् ।

प्राचिन समयमा आएको प्लेग महामारी देखि अहिलेको समयमा आएको कोभिड- १९ महामारी त्यसको ज्वलन्त उदाहरण हो ।

बिगत केहि समय देखि विश्वमा फेरी अर्को जनस्वास्थ्य समस्या (रोग) को उदय हुदैछ । त्यो हो बहु-दीर्घकालीन  अवस्था।

बहु- दीर्घकालीन अवस्था भनेको दुई वा दुइभन्दा बढी दीर्घ रोग भएको अवस्था भनेर परिभाषित गरिएको छ। बहु-दीर्घ अवस्थालाई बुझ्नु अघि हामीले दीर्घ रोग बुझ्नु जरूरी छ ।

दीर्घ रोग भनेको यस्तो रोग जुन निरन्तर लामो समयसम्म रहने वा समयसँगै आउने रोग हो। प्राय रोग जब तीन महिना भन्दा बढी रहन्छ, त्यसलाई दीर्घ रोग भन्ने गरिन्छ ।

दीर्घ रोग दुबै सर्ने र नसर्ने रोगहरु हुन सक्छन ।

उच्च रक्तचाप, मधुमेह (सुगर), मुटुको रोग, नशाको रोग, क्षयरोग, मानसिक रोग, हड्डीको रोग, कुनै किसिमको चोट, दुखाई जस्ता रोगहरु लाई दीर्घ रोग भन्न सकिन्छ ।

यी माथि भनिएका रोग मध्ये कुनै दुई वा दुई भन्दा बढी रोग लागेको अवस्थालाई बहु दीर्घ रोगको अवस्था भन्न सकिन्छ ।

उमेर बढ्दै जाँदा बहु दीर्घकालिन अवस्था पनि बढेको देखिएको छ र यसले देखाएको जटिलता र समस्याहरु पनि देखिन थालेको छ ।

विश्वव्यापी रूपमा हेर्दा स्वास्थ्य सेवा प्रणाली तथा कार्यक्रमहरू एकल रोग केन्द्रित छन् र त्यसमा पनि विशेष गरि एउटा मात्र अवस्थाको उपचार गर्ने लक्ष्य राख्दछ। यसले गर्दा स्वास्थ्य सेवा एवम चिकित्सकले बिरामी हेर्ने नजर एकल-रोग केन्द्रित छ ।

बहु दीर्घकालिन अवस्था अहिलेको समयमा एकदमै बढ्दै गइरहेको छ। बहु दीर्घकालीन अवस्थाहरूले गर्दा अस्पताल भर्नाको समय बढ्ने , बारम्बार भर्ना गर्नु पर्ने , धेरै चिकित्सकसंग सल्लाह लिनु पर्ने, धेरै औषधि सेवन गर्नु पर्ने र त्यसले गर्दा औषधि सम्बन्धित समस्याहरू देखा पर्ने हुन सक्छ ।

बहु दीर्घकालिन अवस्था भएका व्यक्तिहरूको जीवनको गुणस्तर कम हुने गर्दछ भने  सामान्य जनसंख्याको तुलनामा मृत्युको जोखिम एकदम उच्च रहेको पाइएको छ। बहु दीर्घकालीन अवस्थाले गर्दा बिरामीलाई तथा समाजलाई नै आर्थिक बोझ पर्ने गरेको छ ।

बहु दीर्घकालिन भएका व्यक्तिहरूलाई प्रायः बारम्बार मेडिकल अपोइन्टमेन्टहरू, औषधिहरू, र अस्पतालमा भर्ना गर्न आवश्यक पर्दछ, जसले खर्च बढाउने गर्दछ । रोगले गर्दा ब्यक्ति को आफ्नो काममा अनुपस्थिति हुने गर्दछ र त्यस कारण उसको खर्च र आयको हानि हुन्छ।

परिवार, समाज र राष्ट्रहरूका लागि आर्थिक बोझ सहित उच्च स्वास्थ्य सेवाको उपयोग हुने गर्दछ । यो बोझले प्रत्यक्ष स्वास्थ्य सेवा लागत मात्र होइन, कार्यबलको सहभागिता र सामाजिक हेरचाह आवश्यकताहरू सहित व्यापक आर्थिक परिणामहरूलाई पनि असर गर्छ।

बहु दीर्घकालिन अवस्थाहरु बढ्दो गएका कारणले यसको व्यवस्थापन गर्न अन्य स्रोतहरू बढाउनु पर्ने हुन सक्छ। स्वास्थ्य सेवाको मागलाई सम्बोधन गर्न लागतको बारेमा निर्णय गर्नु महत्त्वपूर्ण छ।

त्यसैले अहिले रोगिलाई एकल-रोग केन्द्रित मात्र नभइकन बहु-रोग केन्द्रित भएर सेवा प्रदान गर्न आवश्यक देखिन्छ।

अनुसन्धानले देखाएको अनुसार विश्वव्यापी रुपमा बहु दीर्घ अवस्थाले ६५ वर्ष उमेरको ९५ प्रतिशत प्राथमिक जनसंख्यालाई असर गर्छ । नेपालमा पनि बहु दीर्घकालिन अवस्थाहरूको बोझ बढ्दै गइरहेको छ र पुर्वी नेपालमा गरिएको एउटा अनुसन्धान अनुसार वृद्धावस्थामा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा १४५ लाई बहु दीर्घरोग भएको पनि देखिन्छ। (Shiva Balakrishnan Et. al.) विश्वव्यापी रूपमा, कोभिड- १९ महामारीको समयमा बहु दीर्घ रोग भएका मानिसहरू सबैभन्दा बढी प्रभावित थिए र बहु दीर्घ अवस्था नभएको ब्यक्तिको तुलनामा उच्च मृत्युदर र जटिलताहरू थिए।

विश्वव्यापी रुपमा बहु दीर्घकालीन अवस्थाको बारे अहिले एकदमै कम अनुसन्धान भएको छ । त्यसैले युनिभर्सिटी अफ लेस्टर (युके), पब्लिक हेल्थ फाउन्डेसन अफ इंडिया र बेलायतका अन्य प्रतिष्ठित संस्थाहरुको सहकार्यमा नेपालको काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बहु-दीर्घकालीन अवस्था भएका व्यक्तिहरुको हेरचाह सुधार गर्न एकीकृत व्यक्ति केन्द्रित, स्वास्थ्य प्रणाली प्रबिधि निर्माणमा अध्ययन भइरहेको छ ।

काठमाडौँ मेडिकल कलेजको नेतृत्वमा नेपालमा यो पाँच वर्षीय परियोजना सञ्चालन हुँदैछ । यो परियोजना मुख्य गरी बहु दीर्घकालिन अवस्थाहरू भएका व्यक्तिहरूको उपचार तथा हेरचाहमा सुधार ल्याउने उद्देश्य सहित संचालन हुदै छ ।

यस अध्ययनमा समुदाय संग्लनता र सहभागिता सहित पहिलो पटक नेपालमा इलोक्ट्रोनिक डिसिजन सपोर्ट सिस्टम र टेलिमेडिसिन मार्फत बहु दीर्घकालीन अवस्थाहरु भएका व्यक्तिहरुको हेरचाहमा सुधार गर्ने लक्ष्य राखेको छ ।

यस परियोजनाले समुदायमा रहेको मानिसहरुको आवाज समेटेर बहुदीर्घ रोगीहरुको हेरचाहमा सुधार ल्याउने छ । साथै यसले गर्दा समाजमा बहु-दीर्घकालीन अवस्था बारे सचेतना बढ्ने र सबैको ध्यान केन्द्रित हुने छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *