‘हाकिम साब’को गाडीमा संगै काठमाडौँ जाँदा…….
त्यस दिन हामी बुढाबुढी नै काठमाडौँ जाने तयारीमा थियौँ । तर ठ्याक्कै हिड्ने बेलामा थाहा भयो हाम्रा हाकिम साव पनि काठमाडौँ जाँदै हुनुहुदो रहेछ ।
मैले केही हिम्मत जुटाएर मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा (हाकिम) लाई सोधें, “डाक्टर साब हजुर काठमाडौँ जाँदै हुनुहुदो रहेछ, हामी पनि काठमाडौँ जान लागेको, के तपाईँको गाडीमा जान मिल्छ होला ? अटिन्छ भने मात्र ।’
हाकिम सावको उत्तर नआउँदै भनिहाले, ‘छोराछोरीलाई भेट्न हामी त्यहाँ जान लागेको ।’
डा. झाले मुस्कुराउदै, ‘बिनाकुनै हिचकिचाहट भन्नुभयो, ‘हुन्छ नि, नवराज दाइ, मलाई कुनै समस्या छैन। सँगै जाउँ ।’
म खुशी भएँ । ‘एकैछिनमा आए है डाक्टर साब’ भनेर झोला प्याक गर्न क्वाटर भित्र पसेँ । तुरुन्तै केहि कोसेलीहरू आफ्नो बच्चाहरूको लागि सानो प्लास्टिकको बोरामा पोका पारे जसमा केही आलु, फर्सी, स्याउ र न्यूरो थियो ।
गाडीको पछाडि लोड गर्यौं।
त्यसपछि गाडी चड्यौँ ।
रसुवा सदरमुकाम धुन्चेबाट काठमाडौँका लागि गाडी हुईकिन सुरु गरयो ।
…………………………………………………………………………..
यो दशैंमा छोराछोरीसंग केही दिन भएपनि सँगै बस्न भएर म दंग थिएँ । मेरी श्रीमती म भन्दा अझ बढी खुशी थिईन । हामीले एक अर्काको आँखामा हेरेर ती खुशी साटासाट गरेका थियौँ ।
जब हामी घुमाउरो बाटोमा हिड्न थाल्यौं, डा. झा जिज्ञासु हुँदै म तिर फर्के। “नवराज जी, तपाई त लामो समयदेखि रसुवामा हुनुहुन्छ, हैन ? कति भयो रसुवा बस्नु भएको ?
उहाँको जिज्ञासाको कदर गर्दै मुस्काए झैँ गरी मैले भने “हो, डाक्टर साब, म रसुवा बसेको धेरै भयो। २०४४ सालमा अस्थायी जागिरबाट रसुवाको को ले नि का मा १७ वर्षको उमेरमा मैले सरकारी जागिर सुरु गरेँ । केही समयमा थाई भइहाले।’
त्यतिबेला म जवान थिएँ, फुर्तीलो थिएँ र जे काम गर्न पनि लागिपर्ने र जुनसुकै काम सिक्न तयार हुन्थे। खै, जति काम गरे नि हामी जस्तो दुर्गममा काम गर्ने कर्मचारीको जीवन कहिल्यै सजिलो हुँदैन रहेछ डाक्टर साबू
त्यतिमै मेरी श्रीमतीले थपिन, ‘उहाँले धेरै दुःख गर्नुभएको छ, सर हजुर। उहाँले त पहिला पहिला अफिसको काम सम्हाल्नेदेखि लिएर अस्पतालमा प्लम्बर र इलेक्ट्रिसियनको काम समेत उहाँले नै गर्नु हुन्थ्यो।”
डा. झा अचम्म मानेर आँखा ठूलो बनाउँदै हामीतिर फर्केर हेर्दै सोध्नुभयो, ‘साँच्चै, तपाईंले प्लम्बिङ र इलेक्ट्रिसियनको पनि काम गर्नुभयो ?’
मैले फिस्स हाँस्दै टाउको हल्लाएँ । “हो, डाक्टर साब ।’
‘पहिलो पोस्टिङपछि २०५० सालमा टिमुरे हेल्थ पोस्टमा सरुवा भयो। त्यो समय धेरै नै कठिन थियो बच्चाहरू ससाना थिए चाँडो चाँडो सरुवा भइराख्थ्यो जागिर र परिवारले जीवन अस्तव्यस्त भएको थियो। त्यसपछि चार महिनापछि मलाई फेरि जिल्ला अस्पताल रसुवामा पुर्याइदियो । जबदेखि रसुवा अस्पताल आएनी डाक्टर साब त्यसपछि मात्र मेरो जागिर र पारिवारिक जीवन अलि आनन्द भयो,’ म जागिरका सुरुवाती समय सम्झिदै सुनाएँ ।
त्यति नै बेला मेरी श्रीमतीले थपिन, ‘उहाँ त त्यो बेला कार्यालय सहयोगीको काम मात्र हो र अस्पतालमा मान्छे नै थिएन, सर। उहाँलाई त एक्सरे विभाग पनि सम्हाल्न लगाए। एक्सरेको लागि ठिक्क मात्रामा पानी तताउने, केमिकल बनाउने डार्क रुममा काम गर्ने , सरसफाई जस्तो थुप्रै काम उहाँले नै गर्नु हुन्थ्यो , यस्तो कामहरु कसरी गर्ने भनेर जान्नको लागि त्यो बेलाको हाकिम साहबले मिलाएर उहाँलाइ ट्रेनिङ लिन काठमाडौँ पठाउनु भएको थियो ! ”
श्रीमतीको कुरा पछि डाक्टर झाले अचम्म मान्दै भन्नुभयो, ‘तपाईंले त साँच्चै धेरै विभागहरू सम्हाल्ने मौका पाउनुभएको रहेछ नवराज दाइ ।’
म दङ्ग पर्दै मुस्कुराए। “हो नि, डाक्टर साब ।
‘त्यतिखेर हामीले दिनमा ४- ५ जना मात्र बिरामी मात्रै हेर्थ्यौ र उबेला मेरो काम गर्ने समय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म थियो अस्पताल चल्ने भनेको २ बजेसम्म मात्रै हो। त्यो एक किसिमले आनन्दकै टाइम थियो । तर, अहिले चीजहरू धेरै परिवर्तन भएका छन्। आजकाल दिनमा ६०-७० जना बिरामी, दुईजना एमडी जीपी विशेषज्ञ र पाँचजना मेडिकल अफिसरले काम गर्दा त अस्पताल सधैं व्यस्त हुन्छ। हामीसँग अहिले रेडियोग्राफरहरू, प्रयोगशाला प्राविधिकहरू, र यो वर्षदेखि बायोमेडिकल प्राविधिकहरू पनि छन्। यो त्यो हेर्दा त धेरै नै सुधार भएको जस्तो लाग्छ डाक्टर साब’ मैले भने ।
कुरा गर्दा गर्दै हामी नुवाकोटको बटार पुगिसकेछौँ । त्यहाँ खाजा खान भनेर एकैछिन रोकियौँ ।
खाजा घरमा पसेर हामी बुढाबुढीले चिया समोसा अर्डर गर्यौँ तर किन हो डा. झा त्यो बेला गहिरो सोचमा देखिनुहुन्थ्यो ।
…………………………………………………………………………..
जब हामी हाम्रो यात्रा पुन: सुरु भयो, कुराकानी फेरि डाक्टर साहबले सुरु गर्नुभयो।
डा. झाले सोध्नुभयो “तर नवराज जी, यति लामो समयसम्म यस्तो दुर्गम क्षेत्रमा बस्न गाह्रो भएन र । मान्छेको जिन्दगीमा गाह्रो समय पनि आउँछ, तपाईहरु दुर्गममा यति लामो समय बस्दा कस्तो समस्याहरु आयो ?”
मैले आफ्नो कठिन दिनहरूको बारेमा याद गर्दै लामो सास फेरेँ, “रसुवामा बस्न त्यति सजिलो थिएन डाक्टर साहब। वर्षौंसम्म, मेरो परिवार र म चिसो मौसममा अस्थायी टिनको छाना भएको क्वार्टरमा बस्नु परेको थियो। तलब बाहेक समितिबाट प्रोत्साहन न्यून थियो, र मेरा छोराछोरीलाई शिक्षाको लागि काठमाडौं पठाउनु हाम्रो लागि ठूलो आर्थिक बोझ थियो। डाक्टर साहब, मेरी माईली छोरी अहिले बंगलादेशमा अर्थशास्त्र पढिरहेकी छिन्, अर्की छोरी काठमाडौंमा नर्स छिन्। छोरा रसुवामै बोर्डिङ स्कूलमा पढ्छ,’ मैले थपें, ‘यस्तो दुर्गममा जनतालाई सेवा गरेर बस्दा उनीहरूलाई पढाउन र सहयोग गर्नु नै मेरो जिन्दगीको सबैभन्दा कठिन समय मध्ये एक थियो अहिलेसम्म हामीले आफ्नो घर बनाउन सकेको छैनौँ।२०७२ सालमा भूकम्प गएपछि हामी अस्पतालको जस्ताको क्वाटर र डेरामा मात्रै बसेको छौँ ”
म बोल्दा बोल्दै श्रीमतीले गुनासो भाव व्यक्तगर्दै भनिन्, ‘डाक्टर साहब, उहाँले हाम्रो लागि धेरै गर्नु भएको छ, तर कहिलेकाहीँ यस्तो लाग्छ कि उहाँको यत्रो मेहनतको न त सरकारले मतलब गरेको छ न त कुनै हाकिमले नै।’
डा. झाले टाउको हल्लाउनु भयो । “तपाईंजस्ता मेहनती मानिसहरूले नै धेरैजसो दुर्गमका अस्पतालहरू चलाउन मा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, नवराज दाइ। तपाईको कडा परिश्रम साँच्चै नै सम्मान योग्य छ, चिन्ता नगर्नुस् कुनै न कुनै दिन तपाईंको कडा परिश्रमको सम्मान पनि हुन्छ नै ” डा. झाले भन्नुभयो ।
मैले उहाँका शब्दहरूको प्रशंसा गरें र भन्दै गरे, ‘धन्यवाद डाक्टर साहब।’
पहिले पहिलेका धेरैजसो हाकिमहरू राम्रै थिए। तर पनि केही हाकिमहरूसँग मेरो के हो-के हो ? तालमेलै मिलेन, डाक्टर साब। पहिलेका राम्रा राम्रा हाकिम साहबहरूले हाम्रो मेहनत , समस्या र सङ्घर्ष पनि बुझ्नुभयो, तर खै केहीले…. त’ भन्दै कुरा मिलाउन खोज्दै अब नबोलौं भन्दै चुप्प लागे।
गाडी चलाउँदै गरेको गुरुजी सुरेश गोले को हाकिम कस्तो थियो भन्नुस् न नवराज दाई भन्दै थप जिज्ञासु देखिए ।
‘उहाँहरुले हाम्रो समस्या सुन्नु नै भएन, खाली काम मात्रै गराउने,’ मुखबाट फ्याट्टै निस्किहाल्यो तर म फेरि रोकिए।
गाडीको अगाडि सिटमा बसेका डा. झा को अनुहार गाडीको लुकिङ मिररबाट अलि खै कुरा के कुरामा चित्त नबुझेको जस्तो गम्भीर देखिन्थ्यो। ‘यो साँच्चै नै नराम्रो कुरा हो , नवराज दाइ। तर म खुसी छु कि एक दुई जनालाई छोड्ने हो भने तपाईंले आफ्नो जागिरको समयमा राम्रा राम्रा हाकिमहरू पनि भेट्नु भएको रहेछ त, जसले तपाईँलाई ट्रेनिङमा पठाउनुभयो र नयाँ नयाँ काम सिक्नलाई प्रोत्साहन पनि गर्नुभएको रहेछ त ‘ त्यसबेला भने डा झाले आफ्ना अग्रज हाकिमहरुको विषयमा कुरा मिलाएर ढाकछोप गर्न खोज जस्तो लाग्यो।
छाहरेको फाँट छिचोल्दै गर्दा डा. साहबले क्यामेरा निकालेर भिडियो बनाउन थाल्नुभयो। सायद टिकटकको लागि होला।
छहरेबाट माथि डाँडा चढ्न लाग्दा सम्म हाम्रो कुराकानी चलि नै रह्यो ।
पछिल्लो समय अस्पतालमा आएको परिवर्तनबारेमा समेत चर्चा भयो ।
मैले पनि लागेको कुरा भने, ‘यो वर्षदेखि त डाक्टर साहब हाम्रोमा डाटा हेर्ने मेडिकल रेकर्डर पनि आएको छ , र डाक्टरहरू पनि थपिएका छन् निक सामानबाट शल्यक्रिया पनि पनि हुन थालेको छ। ल्याबका कर्मचारीहरू पनि थपिएका छन्। इमर्जेन्सी पहिला त एक दुई जना अहेव को भरमा पो चल्थ्यो त डाक्टर साहब, काम गर्नेलाई कहाँ पो सजिलो थियो र अहिले त हजुर आएदेखि मर्निङ कन्फ्रेन्स पनि लगातारै चलेको छ। सबैले खुब नाम लिन्छन् हजुरको। चिकित्सकहरू, नर्सहरू र प्यारामेडिकहरूलाई सीएमई चलेको छ । साँच्चै नै डाक्टर साब अस्पतालमा धेरै नै परिवर्तन भएको छ।’ मैले थपेँ।
यसपटक पनि डा झा मुस्कुराउनु भयो । ‘ यति सानो समयमा यो सबै गर्न सक्नु अहिलेका डाक्टर साहब, नर्सहरू र तपाईं जस्ता कर्मचारीको आफ्नो काम प्रतिको लगावको कारणले हो, नवराज दाइ। तपाईं पनि त यो परिवर्तनको एक साक्षी हुनुभएको छ हैन,’ उहाँले थप्नु भयो ।
हाकिमको यस्तो कुराले मलाई निकै खुशी लाग्यो ।
…………………………………………………………………….
हामी त कुरा कुरामै टोखा पो पुगिसकेको रहेछौं। अझै अझै धेरै कुरा गर्न र भन्न बाँकी नै थियो मलाई तर काठमाडौँ पुग्न आँटेकोले नयाँ कुरा थाल्न गर्न मन लागेन।
ढुङ्गेधारा, बनस्थलीमा पुग्दा मैले हाकिम साहब तर्फ फर्केर भनें, ‘डाक्टर साब, हजुरलाई धेरै धेरै धन्यवाद, र मेरो बारेमा भन्न पाउँदा म नै हलुङ्गो भएको जस्तो भएको छ। र हजुरले ध्यान दिएर सुनिदिनुभयो।’
डा. झा मुस्कुराउँदै भन्नुभयो, ‘मलाई पनि तपाईँको बारेमा, दुर्गममा काम गर्ने कर्मचारीहरूको बारेमा बुझ्न पाउँदा राम्रो लाग्यो , नवराज दाइ।’
हामीले एक अर्कालाई बिदाइ अभिवादनपछि, चाँडै दशैं बिदापछि फेरि भेट्ने वाचा गर्दै गाडीबाट ओर्लियौँ ।
सम्पर्क इमेल : [email protected]