सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने

काठमाडौँ, २० कात्तिक । सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

ठुलो संख्यामा थारु समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । मन्त्री पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरूका लागि समेत व्यवस्था गराउने निर्णय गरेका हुन् ।

उनले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए ।

सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

पश्चिम तराई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका भूभागमा बसोबास गर्ने थारु समुदायका नागरिकहरू सिकलसेल रोगबाट बढी प्रभावित रहेको पाइएको छ ।

विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमिया रोग लागेका बिरामीहरूलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, थप निदानात्मक सेवा, शय्या सेवा शुल्क आदिको लागि एक लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *