पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो
काठमाडौँ, १९ कात्तिक । पाकिस्तानमा यस वर्ष पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ ।
हालै बलुचिस्तान प्रान्तको चगइ जिल्लामा नयाँ बिरामी फेला परेसँगै सङ्क्रमितको कुल सङ्ख्या ४३ पुगेको हो ।
पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमका अनुसार क्षेत्रीय प्रयोगशालाले उक्त जिल्लामा वाइल्ड पोलियोभाइरस टाइप–१ का सङ्क्रमित फेला पारेको हो ।
उक्त जिल्लामा पोलियोका सङ्क्रमित भेटिएको यो पहिलो पटक हो ।
पाकिस्तानको बलुचिस्तान प्रान्त पोलियो सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा पोलियोका २२ जना बिरामी फेला परेका छन् । त्यसैगरी, सिन्ध प्रान्तमा १२ जना, खैबर पख्तुनख्वामा ७ जना तथा पञ्जाब र इस्लामावादमा समान एक जनामा पोलियो सङ्क्रमण पत्ता लागेको छ ।
संसारका प्रायः सबै मुलुकबाट उन्मूलन भइसकेको पोलियो हाल पाकिस्तान र अफगानिस्तानमा मात्रै भेटिने गरेको छ । पाकिस्तान सरकारले पोलियो उन्मूलनका लागि खोप अभियान सञ्चालन गरेपनि खासै प्रभावकारी भने देखिएको छैन ।
सम्पर्क इमेल : [email protected]