बुढ्यौली र दीर्घायुको रहस्य : वैज्ञानिक अध्ययनले देखाएका जीवन लम्ब्याउने उपाय
बुढ्यौली र दीर्घायुको बारेमा चासो सबैलाई हुन्छ। ‘जीवनको अन्त्यसम्म स्वस्थ र खुसी कसरी रहन सकिन्छ ?’ यो प्रश्नको उत्तर पत्ता लगाउन धेरै अनुसन्धानहरू भएका छन्।
यसैक्रममा गरिएको हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट विश्वकै सबैभन्दा लामो र गहिरो अनुसन्धान हो।
सन् १९३८ मा सुरु भएको यो अध्ययनले करिब ८५ वर्षसम्म विभिन्न मानिसहरूको जीवनलाई नजिकबाट अध्ययन गरेको छ। यसको मुख्य उद्देश्य भनेकै– उमेरसँगै मानिसहरूको स्वास्थ्य, खुशी, र मानसिक सन्तुलनमा कस्तो प्रभाव पर्छ भन्ने बुझ्नु थियो।
अनुसन्धानको पृष्ठभूमि र उद्देश्य
हार्वर्ड विश्वविद्यालयले यो अध्ययन सुरु गर्दा दुई भिन्न समूहका मानिसहरूलाई छानिएको थियो। पहिलो समूह हार्वर्ड कलेजका विद्यार्थीहरू थिए, जो प्रायः सम्पन्न र शहरी परिवेशका थिए। दोस्रो समूहमा बोस्टनका कम आय भएका परिवारका बालबालिका थिए।
अध्ययनको सुरुवातमा यी व्यक्तिहरूको स्वास्थ्य, पारिवारिक पृष्ठभूमि, समाजसँगको सम्बन्ध, र जीवनशैलीको बारेमा जानकारी संकलन गरिएको थियो। त्यसपछि, करिब हरेक वर्ष उनीहरूलाई भेटेर जीवनका विभिन्न पक्षहरूको जानकारी लिइन्थ्यो।
अध्ययनको उद्देश्य थियो– बुढ्यौलीको प्रक्रियामा कुन-कुन कारणले मानिसहरू स्वस्थ र खुसी रहन्छन् भनेर पत्ता लगाउनु। यसले उमेर बढ्दै जाँदा शारीरिक, मानसिक, र सामाजिक स्वास्थ्यलाई जोगाइराख्नका लागि महत्वपूर्ण सूत्रहरू दिएको छ।
अध्ययन कसरी गरियो ?
यो अध्ययन ७२४ जना मानिसहरूसँग सुरु भएको थियो। उनीहरूलाई समय-समयमा अन्तर्वार्ता, स्वास्थ्य परीक्षण, र मानसिक स्वास्थ्य मूल्याङ्कनजस्ता प्रक्रिया गराइन्थ्यो।
उनीहरूको जीवनका हरेक पाटोबारे जानकारी संकलन गरिएको थियो । सम्बन्ध, करियर, मानसिक स्वास्थ्य, जीवनशैली, र समाजमा उनीहरूको भूमिका।
अनुसन्धानको खास विशेषता यो थियो कि सहभागीहरूको परिवारलाई पनि अध्ययनमा समेटिएको थियो। यसले बुढ्यौलीमा परिवार र समाजको भूमिकालाई समेत विस्तृत रूपमा उजागर गर्यो
अध्ययनका प्रमुख निष्कर्षहरू
यो लामो अनुसन्धानबाट धेरै महत्वपूर्ण नतिजाहरू निस्किएका छन्, जसले उमेर बढ्दै जाँदा जीवनलाई सार्थक र खुसी बनाउनका लागि महत्वपूर्ण तत्वहरू देखाएको छ :
- सम्बन्धको महत्त्वस् अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष भनेको – खुशी र स्वास्थ्यको मुख्य स्रोत घनिष्ठ सम्बन्ध हो। पारिवारिक सम्बन्ध, साथीहरूसँगको मित्रता, र समाजमा सहभागिता हुने मानिसहरू बढी स्वस्थ र खुसी देखिए। यो मात्र नभई, सम्बन्धमा न्यानो, माया, र समर्थन भएको खण्डमा मानिसहरूले तनावलाई राम्ररी सामना गर्छन्।
- एक्लोपनको असरस् अध्ययनले देखाएको छ कि उमेर बढ्दै जाँदा एक्लोपनको प्रभाव गम्भीर हुन्छ। एक्लोपनले तनाव, डिप्रेसन, र अन्य मानसिक स्वास्थ्य समस्याहरूको सम्भावना बढाउँछ। एक्लोपनका कारण शारीरिक स्वास्थ्य पनि प्रभावित हुन्छ।
- स्वास्थ्यकर जीवनशैलीको प्रभावस् स्वस्थ खानपान, नियमित व्यायाम, धुम्रपान र मद्यपानमा नियन्त्रण राख्ने बानीले दीर्घकालीन स्वास्थ्यमा गहिरो असर पार्छ। अध्ययनका अनुसार, स्वास्थ्यकर जीवनशैली अपनाउने मानिसहरूको बुढ्यौलीमा शारीरिक स्वास्थ्य राम्रो देखिएको छ।
- मानसिक स्वास्थ्य र सकारात्मक सोचस् अध्ययनले देखाएको छ कि सकारात्मक सोच, मानसिक सन्तुलन, र खुसी जीवनलाई दीर्घकालसम्म स्वस्थ राख्न महत्त्वपूर्ण हुन्छ। उमेर बढ्दै जाँदा खुशीको प्रमुख स्रोतहरू मानिसका सम्बन्ध र मानसिक सन्तुलन नै हुन्छन्।
- पैसाभन्दा खुशी र सम्बन्ध महत्त्वपूर्णस् जीवनमा आर्थिक स्थिति भन्दा मानसिक स्वास्थ्य र सन्तुलन, सम्बन्ध, र खुशी धेरै महत्त्वपूर्ण छन्। धेरैजसो सहभागीहरूले पैसा र प्रतिष्ठाभन्दा सम्बन्ध र मानसिक शान्तिलाई प्राथमिकता दिनु नै दीर्घायु र स्वास्थ्यको मूलमन्त्र भएको बताए।
सर्वसाधारणका लागि सिफारिसहरू
यस अध्ययनले दिन सक्ने महत्त्वपूर्ण सिफारिसहरू छन्, जुन हाम्रोजस्तो समुदायका लागि विशेष लाभदायक हुन सक्छ। यहाँ केही प्रमुख सिफारिसहरू छन् :
- सम्बन्धलाई प्राथमिकता दिनुहोस्स् परिवार र साथीहरूसँग समय बिताउनुहोस्। समाजमा सक्रिय सहभागिता, साथीभाईसँग घनिष्ठ सम्बन्ध, र पारिवारिक सम्बन्धलाई सबल बनाउनुहोस्। सम्बन्धले खुशी र तनाव व्यवस्थापनमा ठूलो सहयोग गर्छ।
- सामाजिक रूपमा सक्रिय रहनुहोस्स् एक्लोपन र अलगावबाट जोगिनुहोस्। समाजमा हुने गतिविधिहरू, क्लबहरू, वा स्वयंसेवामा सहभागिता बढाउनुहोस्। यसले मानसिक स्वास्थ्यलाई सबल बनाउँछ र दीर्घकालीन खुशी दिन्छ।
- स्वास्थ्यलाई ध्यान दिनुहोस्स् स्वस्थ आहार, नियमित व्यायाम, र पूर्ण निद्राको महत्त्वपूर्ण प्रभाव पर्छ। धुम्रपान र मद्यपान जस्ता हानिकारक बानीबाट जोगिनु स्वास्थ्यका लागि महत्त्वपूर्ण छ।
- सकारात्मक सोच राख्नुहोस्स् जीवनमा सकारात्मक दृष्टिकोण राख्ने अभ्यास गर्नुहोस्। ध्यान, योग, वा कुनै सकारात्मक क्रियाकलापमा संलग्न हुनु, तनाव र चिन्ताबाट टाढा राख्न मद्दत गर्छ।
- स्वास्थ्य परीक्षण र आत्ममूल्याङ्कन गर्नुहोस्स् हरेक वर्ष स्वास्थ्य परीक्षण गराउनुहोस्, मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् र व्यक्तिगत स्तरमा आत्ममूल्याङ्कन गर्दै सकारात्मक परिमार्जन गर्नुहोस्।
निष्कर्ष
यो हार्वर्डको ऐतिहासिक अध्ययनले उमेर बढ्दै जाँदा मानिसको खुशी, स्वास्थ्य, र दीर्घायुका लागि सम्बन्ध, मानसिक स्वास्थ्य, र जीवनशैलीको महत्त्व देखाएको छ। यसले पत्ता लगाएको छ कि उमेर बढ्दै जाने प्रक्रियामा आर्थिक सम्पन्नता, प्रतिष्ठाभन्दा पनि जीवनमा खुशी, सम्बन्ध र सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ।
सर्वसाधारणले पनि यी सिफारिसहरू अपनाएर दीर्घकालसम्म स्वस्थ र खुसी रहन सक्छन्। जीवनको हरेक चरणमा सम्बन्धलाई सुदृढ बनाउनु, सकारात्मक दृष्टिकोण राख्नु, र स्वास्थ्यकर जीवनशैली अपनाउनु नै स्वस्थ बुढ्यौलीको आधार हो।
#डा. गुरागाईं, बिराट मेडिकल कलेज सामुदायिक चिकित्सा विभागमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]