राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाईदै

काठमाडौँ, १३ कात्तिक । यसवर्षको राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। हरेक बर्ष कात्तिक शुल्क त्रयोदशी दिन यस दिवस मनाइँदै आइएको छ।

जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिएको हो।

सरकारले विसं २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसको रुपमा मनाउन थालेको हो। आयुर्वेदमा धन्वन्तरीलाई शल्यचिकित्साको प्रवर्तकको रुपमा हेरिने गरिएको छ ।

यसैबीच ‘स्वस्थ जीवनशैलीमा सात्विक आहार,नागरिक अरोग्यताको मजबुत आधार’ भन्ने नाराका साथ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउन लागिएको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागद्धारा आज आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो ।

विभागका महानिर्देशक डा. प्रदीप केसीले वर्तमान समयमा मधुमेह, उच्चरक्तचाप, मुटु रोग जस्ता जीवनशैली जन्य रोगहरुको प्रकोप बढेकोले सात्विक आहार र स्वस्थ जीवनशैली नै आरोग्यताको मूल मन्त्र रहेको हुँदा जनस्तरसम्म यसको चेतना फैलाउने उदेश्यले ‘स्वस्थ जीवनशैलीमा सात्विक आहार, नागरिक अरोग्यताको मजबुत आधार’ भन्ने नारा तय गरिएको बताए ।

आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा श्यामबावु यादवले आयुर्वेद संसारको सृष्टिसंगै आएको भन्दै अथर्ववेदको उपवेदको रुपमा आयुर्वेद भएको बताए । नेपालीहरुको महानपर्व तिहार तथा छठको पूर्व सन्ध्यामा यो दिवस परेको भन्दै खानपानमा ध्यान दिई स्वास्थ्य ख्याल गर्न समेत आग्रह गरे ।

कार्यक्रममा डा बंशदिप खरेल तथा डा मुनकर्ण थापा समेतले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसबारेमा आफ्ना धारणा राखेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *