आँखा र त्यस वरपरको सुन्दरतामा केन्द्रीत उपचार एस्थेटिक अकुलोप्लाष्टिबारेको प्रयोगात्मक कार्यशाला सम्पन्न
काठमाडौँ, १३ कात्तिक । आँखा र त्यस वरपरको सुन्दरतामा केन्द्रीत उपचार एस्थेटिक अकुलोप्लाष्टि सम्वन्धी एक दिने विशेष कार्यशाला सोमबार सम्पन्न भएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा एस्थेटिक अकुलोप्लाष्टिका तीन जना अन्तर्राष्ट्रिय विज्ञहरुले प्रयोगात्मक प्रशिक्षण दिएका छन् ।
सो कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासिय चिकित्सकहरुले सहभागिता जनाएका छन् ।
एस्थेटिक अकुलोप्लाष्टि भनेको के हो ?
एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ ।
शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ ।
कार्यशालामा के के भयो ?
सोमबार तिलगंगामा भएको कार्यशालामा अन्तर्राष्ट्रिय विज्ञहरुमा फिलिपिन्सबाट डा. इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह् र सिंगापुरका डा. स्टेफेनीइ योङले प्रशिक्षण दिएका थिए ।
त्यसअघि कार्याशालाको उद्घाटन गर्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले अकुलोप्लाष्टि अन्तर्गत बोटक्स तथा फिलरजस्तो सुविधा शुरु गर्ने मार्गमा यस कार्यशाला आयोजना हुनु निकै उत्साहजनक विषय भएको बताएका थिए ।
हाल तिलगंगामा डेढो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्याधिक आँशु आउने समस्या, थाइरोइडबाट हुने आँखाको लिडको समस्याको उपचार बोटक्स इन्जेक्सनबाट हुँदै आएको छ ।
यस कार्यशाला पश्चात थप सेवाहरु प्रदान गर्न सकिने छ जसमा बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन, लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ । यस्ता उपचारहरु चिकित्सकको निर्देशन अनुसार समय–समयमा गर्नुपर्ने हुन्छ ।
कस्मेटिक र सुन्दरताको दृष्टिकोणले गरिने फिलर इन्जेक्सन सेवा यस कार्यशाला पश्चात निरन्तर रुपमा उपलब्ध गराउन सकिने अपेक्षा राखिएको छ ।
नेपालमा आँखारोगको क्षेत्रमा पहिले प्रयोगमा नआएको यो सेवालाई अब नेत्ररोग विशेषज्ञहरुले औपचारिक रुपमै प्रयोगमा ल्याउन सक्नेछन् ।
यो सुविधा तिलगंगा आँखा प्रतिष्ठानमा तथा तिलगंगा सिटि आइ सेन्टर, चुच्चेपाटी, काठमाडौँमा निकट भविष्यमा नै सुरु हुने बताइएको छ ।
यस सुविधा उपलब्ध भएसँगै आँखामा चोटपटक लागेका या असामान्य आँखाको आकार भएकाहरुलाई उपचार सहित मनोबल वृद्धिको सम्भावना हुने आशा राखिएको छ ।
त्यस्तै सुन्दरतामा निखार लयाउन बोटक्स र फिलरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास गरिएको छ । अब प्रयोगमा ल्याउन लागिएको फिलर नेपालीहरुका लागि पहँुच योग्य रहने पनि चिकित्सकहरुको भनाइ छ ।
सम्पर्क इमेल : [email protected]