‘डेथ अडिट’को थालनी गर्दै टेकु अस्पताल

काठमाडौँ, ८ कात्तिक । अस्पतालहरुका लागि  ‘डेथ अडिट’ अर्थात ‘मृत्युको कारण पहिचान’ नयाँ विषय होइन, तर टेकुमा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले भने यो कार्य पहिलो पटक सुरु गरेको छ ।

अस्पतालले पहिलो पटक चालु आर्थिक वर्षको प्रथम त्रैमासिक (साउन, भदौ असोज)को डेथ अडिट बुधबारबाट थालेको छ ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कतिपय अस्पतालहरुले गरि नै रहेको कार्य भए पनि टेकुमा पहिलो पटक सुरु भएको बताए । ‘ डेथ अडिटमा खास गरी अस्पतालमा मृत्यु भएका बिरामीहरुको केश पहिचान र उपचारमा भएका प्रयोगसंगै कुनै कमि कमजोरी पनि थिएकी वा सुधार गर्नु पर्ने कामहरु के के छन् भनेर समेत सुझाव दिईने गरिन्छ । यसको एउटै कारण भनेको मृत्युदरमा कमी ल्याउने नै हो । उपचारमा कमि कमजोरी भएका रहेछन् भने पनि सुधार गर्ने भन्ने नै हो,’ उनले भने ।

अस्पतालका मेडिकल रेकर्डर समिरकुमार अधिकारीले पछिल्लो तीन महिनामा टेकु अस्पतालमा आठ जनाको मृत्यु भएको विवरण दिए । त्यसमा दुई जना रेविज, एक जना स्क्रप टाइपस, एक जना निमोनिया, दुई जना क्षयरोग, एक जना एचआईभी र एक जना इन्फ्लुएन्जाका बिरामी रहेको बताए । यस्तै मृत्यु हुनेमा एक जनाको उमेर १५ वर्ष बाहेक अरुको उमेर ३५ भन्दा माथि रहेको बताए ।

‘मृत्यु भएका बिरामीहरुको सामान्य विवरण त हुन्छ नै तर विस्तृत बिबरण अर्थात मुख्य कारणको तथा पहिचान अब हुनेछ,’ अधिकारीले भने ।

निर्देशक डा. बसौलाले पहिलो त्रैमासिक पछि डेथ अडिट कार्य मासिक रुपमा गर्ने निर्णय भएको समेत बताए । ‘अब देखि हाम्रो अस्पतालमा हरेक महिनाको पहिलो बुधबार डेथ अडिट हुन्छ र यो नियमित हुन्छ,’ उनले भने ।

१०० बेडको स्विकृति लिएर सञ्चालित यो अस्पतालको सेवा बढ्दो क्रममा छ । पछिल्लो तीन महिनामा मात्रै ७०० बढी बिरामी भर्ना भई उपचार गरी डिस्चार्ज भएका छन् ।

खासगरी सरुवा रोगको उपचारमा परिचित अस्पतालले पछिल्लो समय अन्य जनरल सेवालाई पनि उसैगरी अगाडी बढाइरहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *