अतिरिक्त शुल्क फिर्ताको माग गर्दै काठमाडौँ मेडिकल कलेजका इन्टर्न डाक्टर आन्दोलित

काठमाडौँ, ६ कात्तिक । आफूहरुसंग तोकिएको भन्दा बढी शुल्क उठाएको भन्दै काठमाडौँ मेडिकल कलेजका चिकित्सकहरु आन्दोलित भएका छन् ।

पोष्ट ग्राजुएट्स (पीजी) तहका इन्टर्न चिकित्सकहरुले १० महिना अघि व्यवस्थापनको मनोमानीबिरुद्ध बृहत आन्दोलन छेडेका थिए । त्यसको ठ्याक्कै १० महिनापछि अण्डर ग्राजुएट्स (एमबीबीएस) का इन्टर्न चिकित्सकहरु आन्दोलित भएका हुन् ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत ०७५/७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकहरु कलेजले लिएको अतिरिक्त शुल्क शिक्षा मन्त्रालयको निर्देशनपछि पनि फिर्ता नभएकोले आन्दोलनमा जान बाध्य भएको बताउँछन् ।

पाँच दिन देखि आन्दोलनमा रहेका उनीहरुले सिनामंगलस्थित अस्पताल तथा कलेज परिसरमा व्यवस्थापनलाई शुल्क फिर्ता गर्नुपर्ने माग अघि सार्दै धर्नामा बसेका छन् । उनीहरुले आज देखि ओपिडी सेवा समेत बन्द गरिदिएका छन् ।

उनीहरुले इन्टर्नशीप शुल्क २ लाख, एन एम सी रजिष्टेशन शुल्क ५ हजार, कम्युनिटी भिजिट ९० हजार तथा अन्य विभिन्न शीर्षकमा गरि ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम कलेजले अशुलेको उनीहरुको दावी छ । आन्दोलनरत विद्यार्थीहरुले ५० जना नेपाली विद्यार्थी र ४० जना विदेशी विद्यार्थीबाट केएमसी तीन करोड ७१ लाख ७८ हजार चार सय अतिरिक्त शुल्क दावी गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको नियम विपरीत तथा जारी गरेको प्रतिवेदन विपरीत कलेजले शुल्क लिएको तथा फिर्ता नभएको उनीहरु बताउँछन्।

चिकित्सा शिक्षा आयोगको उक्त प्रतिवेदनको ऐन २०७५ दफा २ को ६ बमोजिम शिक्षण संघ संस्थाहरुले शिक्षण अवधिभर लिने भर्ना, ल्याब, पुस्तकालय, समुदाय तालिम जस्ता विषयहरु शिक्षण शुल्क भएकोले विद्यार्थीहरुले अतिरिक्त शुल्क तिर्न नपर्ने उल्लेख भएपनि केमएमसीले उक्त नियम अटेरी गरेको विद्यार्थीहरुको दावी छ ।

यो कानुनी रुपमा नै वैधानिक नहुने विषय भएकोले आफुहरु आन्दोलित भएको एक चिकित्सकले बताए।

यता केएमसीका प्रिन्सिपल डा रतिन्द्रनाथ श्रेष्ठले यस बारेमा आफूलाई खासै थाहा नभएको बताए । ‘अघिल्लो व्यवस्थापनको डील थियो भन्ने सुन्छु, बीचमा नयाँ व्यवस्थापन भित्रियो, त्यसैमा केही असमझदारी भएको हो कि ?,’ उनले हलुका जवाफ दिए ।

केएमसीका मुख्य सञ्चालन नेपाली कांग्रेसका नेता एवं सांसद सुनिल शर्मा हुन् । केएमसीको व्यवस्थापनमा शर्मा ग्रुप भित्रिएसंगै लफडा हुन थालेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *