क्यान्सर उपचारकी ‘जीवित देवी’ नेपालमा, जसको सहयोगले दशौँ हजार बिरामी बाचिरहेका छन्

प्याट गार्सिया गोन्जालोज

काठमाडौँ, ३ कात्तिक । ‘१७ वर्षको उमेरमा छोरा म्याक्सिमिलियानो रिभालोभा (म्याक्स)को एक प्रकारको रक्त क्यान्सर (सीएमएल)बाट मृत्यु हुँदा एक्लो महसुस गरेकी थिएँ । तर अहिले मेरो परिवारका सदस्य संख्या संसारै भरी भेटाएँ । म संग सदाको लागि छुट्टिएको छोराले मलाई एक्लो होइन हजारौँको आफन्त जोडिदिएको छ,’ शनिबार पाटन अस्पतालमा स्वर्गीय म्याक्सको जन्मजयन्ती मनाउने क्रममा उनकी आमा प्याट गार्सिया गोन्जालोजले भावुव मुद्रामा भनिन् ।

हुन पनि उनको छोरा म्याक्सको सम्झनामा खोलिएको द म्याक्स फाउण्डेशनको सेवा अहिले नेपालसहित संसारका ८३ वटा देशमा फैलिएको छ । ३७ हजार बढी क्यान्सरका बिरामीले फाउण्डेशनको सेवा लिएका छन् ।

नेपालीमा एउटा उखान छ, ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ ठ्याक्कै त्यस्तै भाव व्यक्त गर्छिन् द म्याक्स फाउन्डेशनकी संस्थापक समेत रहेकी सीईओ गोन्जालेज ।

म्याक्सको मृत्यु भएको छ वर्ष पछि अर्थात सन् १९९७ मा ल्याटिन अमेरिकी परिवारले द म्याक्स फाउण्डेशनको स्थापना गरेको थियो । सो संस्थाले सन् २००१ देखि न्युन तथा मध्यम आय भएका देशहरुमा क्यान्सरका बिरामीहरुका लागि निशुल्क रुपमा औषधि उपलव्ध गराउँदै आएको छ ।

नेपालमा पनि सन् २००२ देखि ललितपुरको पाटन अस्पतालमा यो सेवा सुरु भएको हो । अहिले भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर सेन्टरबाट पनि बिरामीहरुले क्यान्सरका निश्चित प्रकारको उपचारका लागि निशुल्क रुपमा औषधि पाउन थालेका छन् ।

द म्याक्स फाउण्डेशनकी नेपाल कोअर्डिनेटर श्वेता अग्रवालका अनुसार अहिले नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने १३ प्रकारका औषधिहरु निशुल्क वितरण भइरहेको छ ।

त्यसमा पाटन र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै छन भने सुशील कोइराला प्रखर क्यान्सर सेन्टरमा एउटा मात्रै औषधि उपलव्ध छ । सुशील कोइरालामा सुरुवात भएको र विस्तारै औषधिको संख्या बढाउँदै जाने समेत अग्रवालले स्पष्ट पारिन ।

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीका अनुसार रक्त क्यान्सरमा सीएमएल सीएसएल, स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर, जीष्ट क्यान्सरको विभिन्न अवस्थामा प्रयोग हुने गुणस्तरीय तथा अति महंगा औषधिहरु म्याक्स फाउण्डेशनले निशुल्क रुपमा वितरण गर्दै आएको छ ।

‘गुणस्तरीय औषधिहरु निकै महंगा छन्, आम नेपालीले यसलाई खरीदको कल्पना पनि गर्न सक्दैनन् । तर म्याक्सले निशुल्क रुपमा उपलव्ध गराएर महान कार्य गरेको छ । धेरैको जीवन बवार्द हुनबाट बँचेको छ,’ डा. शाहीले भने । म्याटलाई उनले क्यान्सर उपचारकी ‘जीवित देवी’को उपमा समेत दिए । ‘उहाँको अभियान ८३ देशमा पुगिसकेको छ । दशौँ हजार क्यान्सरका बिरामीहरुले दोस्रो जीवन पाएका छन् । उहाँ साच्चिकै हामी सबैका लागि महान हुनुहुन्छ । जीवित देवी हुनुहुन्छ,’ डा. शाहीले भने ।

अर्का डा. मिपसाङ लामाले सामान्य तथा गरिव बिरामीको लागि म्याक्स फाउण्डेशन बरदान सावित भएको बताए ।

थप सुविधा बढाउने घोषणा

यसैबीच छोराको जन्मजयन्ती समारोहमा फाउण्डेसनबाट सुविधा लिएका बिरामी र तिनका आफन्तसंग अन्तरक्रिया गर्न आएकी प्याट गार्सिया गोन्जालोजले क्यान्सरका बिरामीका लागि थप औषधि र अन्य सुविधा बढाउने योजना रहेको बताईन् । फाउण्डेसनको उदेश्य न्युन तथा मध्यम आय देशका बिरामीको सेवा गर्नु रहेको भन्दै नेपालमा यसको प्रभाव निकै राम्रो रहेको आफूले पाएको बताईन् ।

‘यो कुराले हाम्रा सहयोगीहरुलाई पनि खुशी तुल्याएको छ कि सहयोग धेरै प्रभावकारी बनेको छ । यसले हाम्रा सहयोगी दाताहरु थपिदै गएका छन् । हामीलाई पनि सहयोगलाई बृद्धि गर्दै जानु पर्छ भन्ने लागेको छ,’ उनले भनिन् ।

नेपालमा अहिले पनि २ हजार बढीले म्याक्सको सहयोगमा निशुल्क औषधि पाइरहेका छन् ।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै पहिलो पटक नेपाल आएकी गोन्जालोजले शनिबार पाटन अस्पतालको अडिटोरियम हलमा म्याक्स फाउण्डेशनले उपलव्ध गराएको औषधि सुविधा लिईरहेका बिरामीसंग अन्तक्र्रिया कार्यक्रम समेत गरिन् । सो क्रममा उनी र उनको टीमलाई बिरामीहरुले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा रबि शाक्यले नेपालमा क्यान्सरका बिरामी बढ्दो क्रममा रहेको र पाटन अस्पतालको क्षमताले अझै भ्याइरहन नसकेको भन्दै क्यान्सरको छुट्टै वीङ बनाउने योजना रहेको सुनाए । उनले त्यसका लागि फाउण्डेसनले सहयोग गर्ने समेत आशा राखे ।

कार्यक्रममा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले नेपालमा क्यान्सर रोगको अवस्थाको जानकारी दिदै पाटन अस्पतालले दिएको सुविधा र म्याक्स फाउण्डेसनको सहयोगबारे विस्तृत रुपमा जानकारी दिएका थिए ।

यस्तै डा रक्तक्यान्सर विशेषज्ञ डा मिपसाङ लामा, बाल क्यान्सर रोग विशेषज्ञ डा सुचारिता तुलाधर लगायतले उपचार सेवा र म्याक्स फाउण्डेशनको सहयोगको बारेमा बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *