महिला स्वास्थ्य स्वयंसेविकाले पाउने भए अब निःशुल्क यातायात सुविधा

यातायात व्यवसायी राष्ट्रिय महासंघले उपलव्ध गराएको यो सुविधा लिन पोशाक वा परिचयपत्र अनिवार्य

काठमाडौँ, २ कात्तिक । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।  यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्री पौडेलको उपस्थितिमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मख्त्रालयमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार र स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि मन्त्री पौडेलले विपद्प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए । यस्तै उनले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो ।
नयाँ समझदारीको कार्यान्वयन १५ देखि लागू हुने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले महासंघ अन्तर्गतका सवारी साधनमा जिल्लाभर यात्रा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुले भाडा तिर्न नपर्ने बताए । यसका लागि परिचयपत्र वा पोशाक अनिवार्य हुनुपर्छ ।

यो कामका लागि हो त्यसैले स्वयंसेविका कार्यरत क्षेत्रको जिल्लाभर मात्रै यो सुविधा लागू हुने भनिएको छ । डा देवकोटाले भने ।

समझदारी पछि बोल्दै मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण भएको बताए । उनले ‘आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण सहयोगको समझदारी गरेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गरे ।

मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरु चिन्तित रहेको बताए ।

महासंघका अध्यक्ष स्वाँरले आफूहरुलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरे ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् । ‘यो हाम्रा लागि ठूलो निर्णय हो,’ उनले भनिन्, मन्त्रीज्यू र यातायात व्यवसायीलाई धन्यवाद ।’

यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *