के हो व्यक्तित्व विकार ?

– खिम बहादुर पौडेल

व्यक्तित्व (Personality) :

व्यक्तित्व भनेको व्यक्तिको सोच्ने,महसुस गर्ने, व्यवहार गर्ने र अरूसँग अन्तर्क्रिया गर्ने विशिष्ट तरिका हो । यो गुणहरु, विचारहरु, भावना, र आचरणहरुको एउटा मिलन हो । जसले व्यक्तिलाई अन्य मानिसहरुभन्दा फरक बनाउछ । व्यक्तित्व जन्मजात गुण,पारिवारिक वातावरण, अनुभव र सामाजिक प्रभावहरुको संयोजनबाट विकास हुन्छ ।

व्यक्तित्व विकार (Personality Disorder):

व्यक्तित्व विकार भनेको मानसिक स्वास्थ्य सम्बन्धी एक प्रकारको विकार हो, जसमा व्यक्तिको सोच, व्यवहार, र अनुभव गर्ने तरिका सामान्य भन्दा फरक हुन्छ । यसले व्यक्तिको दैनिक जीवन, सम्बन्ध, र कामकाजमा नकारात्मक असर पुर्‍याउन सक्छ ।

व्यक्तित्व हामी सबैको आ-आफ्नो हुने भएको हुदा स्वभाव पनि फरक फरक किसिमको हुन्छ । नेपालमा सामान्य मानिस र मानसिक समस्या भएका व्यक्तिहरुमा व्यक्तित्व विकारको प्रतिशत सम्बन्धी ठोस र विस्तृत तथ्यांक सिमित छन् । तथापि, विश्वब्यापी रुपमा मानसिक स्वास्थ्य अध्ययनहरुले व्यक्तित्व विकार धेरै मानिसहरुमा पाइएको मानसिक समस्या हो ।

जनसंख्याको १०-१५% मानिसहरुमा कुनै न कुनै प्रकारको व्यक्तित्व विकार हुन सक्ने अनुमान गरिएको छ । त्यस्तैगरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा ३०-६०% मा यो विकार हुन सक्ने सम्भावना हुन्छ । व्यक्तित्व विकारमा nature (जिनेटिक र जैविक कारणहरु) र nurture (परिवेश र अनुभवहरु) दुबैको भूमिका हुन्छ, तर यी कारणहरुको प्रभाव व्यक्ति विशेष र प्रकार अनुसार फरक पर्न सक्छ ।

१) Nature (जिनेटिक र जैविक कारणहरु):
अनुसन्धानले करिव ४०-६०% को हाराहारीमा जिनेटिक कारकले भूमिका खेल्ने देखाएको छ । त्यस्तै पारिवारिक इतिहास र व्यक्तिको दिमागी संरचनामा हुने जैविक परिवर्तनहरुले पनि यसमा योगदान पुर्‍याँउछन् ।

उदाहरणका लागी, न्युरोट्रान्समिटरहरुको असन्तुलन, हर्मोनल असन्तुलन आदिले व्यक्तिको व्यवहार र व्यक्तित्वमा प्रभाव पार्न सक्छ ।

२) Nurture (परिवेश र अनुभव):

करिव ४०-६०% को भूमिका व्यक्तिको बाल्यकालमा अनुभव गरिएको वातावरण, पारिवारिक गतिशिलता, दुर्व्यवहार, आघातजन्य घटनाहरु, र सामाजिक सम्बन्धले खेल्छ। त्यस्तै अत्याधिक कठोर वा उपेक्षित पालनपोषण, बच्चामा हुने आघात, वा पारिवारिक समस्याहरुले व्यक्तित्व विकार उत्पन्न गर्न सक्छ ।

यसकारण, कुन व्यक्तित्व विकारमा कति nature र कति nurture को प्रभाव छ भन्ने कुरा व्यक्ति र अवस्था अनुसार फरक पर्छ । व्यक्तित्व विकार प्रायस १८ बर्ष पुरा भएपछी मात्र पत्ता लगाउन सकिन्छ ।

व्यक्तित्व विकारका बर्गीकरण :
व्यक्तित्व विकारलाई तिन समुहहरुमा विभाजन गरिएको छ र प्रत्येक समुहमा विभिन्न प्रकारका विकारहरु समाबेश गरिएको छ जसमा व्यक्तिको दिर्घकालिन मानसिकता, व्यवहार, र सामाजिक अन्तरक्रियामा समस्या देखिन्छ।

समुह A (Odd,Eccentric thinking or Behavior)
यस समुहका व्यक्तिहरुले अजीब र असामान्य व्यवहार देखाउछन । उनीहरुको सामाजिक सम्बन्धहरु प्राय: कमजोर हुन्छन ।
१) Paranoid Personality Disorder: यस्तो प्रकारको विकार भएको मानिसलाई अरुले धोका दिने वा हानी गर्ने डर हुन्छ, र सधै संका गर्छन ।

२) Schizoid Personality Disorder: अरूसँग सम्बन्ध स्थापित गर्न रुचि नहुनु, भावनात्मक रुपमा टाढा हुनु ।

३) Schizotypal Personality Disorder: विचित्र बिश्वासहरु, सोच्ने तरिका असामान्य, र असामान्य सामाजिक व्यवहार ।

समुह B (Dramatic, Emotional,or Erratic thinking or Behavior)

यस समुहका व्यक्तिहरुको व्यवहार नाटकीय, भावनात्मक,र अस्थिर हुन्छ ।

१) Antisocial Personality Disorder: अरुको अधिकारको उल्लंघन गर्ने, झुट बोल्ने, हानी पुर्याउने, र पछुतो नमान्ने ।

२) Borderline Personality Disorder: भावनात्मक रुपमा तिब्र उतार-चढाव, सम्बन्धमा अस्थिरता, र आत्मपहिचानमा समस्या ।

३) Histrionic Personality Disorder: ध्यानाकर्षण गर्न अत्याधिक प्रयास गर्ने, नाटकीय र भावुक व्यवहार गर्ने ।

४) Narcissistic Personality Disorder: आफूप्रति असामान्यरुपले उच्च मुल्यांकन गर्ने वा आत्म-प्रशंसा गर्ने, आफैलाई बिशेष मान्ने र अरुको भावनालाई वेवास्ता गर्ने ।

समुह C (Anxious, Fearful thinking or Behavior)

यस समुहका व्यक्तिहरुले अत्यधिक चिन्ता र डरको सामना गर्छन ।

१) Avoidant Personality Disorder: आलोचना वा अस्वीकृत हुने डरले सामाजिक परिस्थितिबाट टाढा रहने, आत्म-बिश्वासको कमी ।

२) Dependent Personality Disorder: अत्यधिक निर्भरता, आफै निर्णय लिन कठिनाई ।

३) Obsessive-Compulsive Personality Disorder (OCPD): पूर्णता प्राप्त गर्न कडा प्रयास गर्ने,लचकता नदेखाउने, र नियन्त्रण चाहने ।

यी विकारहरु लामो समयसम्म देखापर्ने, अनुकुलन गर्न कठिन, र व्यक्तिको सामाजिक तथा ब्यावसायीक जीवनमा गम्भीर असर पार्न सक्ने हुन्छन । साथै यस्तो प्रकारको विकारमा लागु पद्धार्थको प्रयोग गर्ने, मुड डीसअर्डर, खाना खाने बानीमा असन्तुलन, आत्तिने, चिन्ता गर्ने र आत्महत्याको सम्भावना पनि हुन्छ ।

व्यक्तित्व विकार भएका मानिसहरु प्रायस उपचारमा आउदैनन किनकि उनीहरुमा मुख्य रुपमा निम्न समस्या रहेको हुन्छ ।

Ego syntonic: यसमा व्यक्तिले आफ्नो बिचार मात्र मन पराएको हुन्छ र उनीहरुलाई आफ्नो व्यवहार र बिचारले समस्या उत्पन्न गरिरहेको छ भन्ने महसुस हुदैन, र उनीहरुले त्यसलाई सामान्य वा सही रुपमा लिएका हुन्छन ।

Alloplastic: यो एक प्रकारको रक्षा संयन्त्र हो, जसमा व्यक्ति आफ्नो समस्याको कारण बाहिरी वातावरण वा अरु मानिसहरुलाइ ठान्छ । यसमा व्यक्ति आफ्नो कमजोरी, त्रुटी, वा असफलताहरुलाई आत्म-अवलोकन गरेर समाधान गर्नुको सट्टा, आफ्नो वरपरका मानिसहरु, समाज, वा परिस्थितिलाई दोष दिन्छन ।

Alloplastic प्रतिक्रिया गर्ने व्यक्तिलाई आफ्नो जिम्मेवारी लिन गाह्रो हुन्छ र उनीहरु आफ्नो असफलता वा समस्याको जिम्मा बाहिरी तत्वहरुमा थोपर्छन र यसमा आफुलाई बदल्न नचाहने र अरुलाई अथवा वातावरणलाई बदल्ने सोच राख्ने हुन्छ।

समग्रमा भन्नु पर्दा सबै मानिसको आ-आफ्नो व्यक्तित्व हुने हुनाले सबैको आ-आफ्नो दृष्टीकोण रहेको हुन्छ । यदी कसैले फरक दृष्टिकोण राख्छ भने पनि स्विकार्नु पर्छ, तर कसैको व्यक्तित्वले दैनिक जीवन, सम्बन्ध, र कामकाजमा नकारात्मक असर गरेको छ भने समस्या आउन सक्छ ।

त्यसैले आफ्नो व्यवहारको स्व मुल्यांकन गरी ध्यान, योगा, प्राणायाम,वा साइकोथेरापी गरी व्यवहारमा सुधार ल्याउन सकिन्छ ।यदी समस्या बढदै गएमा मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकलाई भेट गरी उपचार गर्नु पर्ने हुन्छ ।

# पौडेल बुटवल उपमहानरपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *