फुटवल खेल्ने क्रममा मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान

काठमाडौं, २९ असोज। नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् ।

उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् ।

‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीले भने, ‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’

मिर्गौलाको शल्यक्रियामा डा. अन्सारीलाई कलेजका रेजिडेन्ट डा. विधान र डा. हेमन्तले साथ दिएका थिए ।

असोज १७ गते बिहीबार विहान माकलबारीस्थित मनकामना फुटसलमा फुटवल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए ।

त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए ।

करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए । परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए ।

डा. अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो । ‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटवल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उनका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुने केही महिना लाग्छ ।

‘शल्यक्रिया राम्रो भएको छ । दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ’ डा. अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो ।

आफ्नो छोराको मिर्गौला नै सिलाउनु पर्ने भएपछि चिन्तित आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिएका छन् ।

‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा. सावहरुले गरेरै देखाउनु भयो । मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’

कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा. अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा. अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिईरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *