सिंहदरबार वैद्यखाना विकास समितिले झण्डै एक वर्ष पछि पायो अध्यक्ष

काठमाडौँ, २१ असोज । रिक्त रहेको झण्डै एक वर्ष पछि सिंहदरबार वैद्यखाना विकास समितिले अध्यक्ष पाएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा प्राडा ठाकुरप्रसाद दुवाडीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

वैद्यखाना विकास समितिको अध्यक्ष पद २२ असोज २०८० देखि रिक्त थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई अध्यक्ष मनोनीत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

मल्ल राजाका पालामा १६ औँ शताब्दीमा स्थापित यो वैद्यखानाले नेपालकै सबैभन्दा पुरानो मानिन्छ । तर पछिल्लो समय व्यवस्थापकीय कमजोरीका कारण यसको अस्थित्व नामेट हुने अवस्थामा पुगेको छ ।

वैद्यखानाको कार्यकारी निर्देशकको जिम्मेवारी समेत रहेका आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. प्रदीप केसीले दुई महिना अघि आयोजना गरेको पत्रकार सम्मेलनमा अस्तित्व जोगाउने कुरा मात्रै गरेनन् ऐतिहासिक बिरासत फर्काउने र देशकै ‘नम्बर वान’ सरकारी उद्योग बनाउने योजनामा अघि बढेको सुनाएका थिए ।

संगसंगै उनले तत्कालका लागि रामशाहपथ र सिंहदरबाट आर्थिक तथा नीतिगत सहयोगको अपेक्षा गरेका थिए । उनले त्यसबेला विकास समितिमा पदाधिकारी नियुक्त नहुँदा उद्योगलाई अघि बढाउन समेत समस्या भएको बताएका थिए ।

शुक्रबारको पछिल्लो निर्णयले अब वैद्यखानालाई अघि बढाउन बाटो खुलेको छ ।

यस्तै बैठकले आज देखि २३ असोजसम्म भारतको दिल्लीमा हुने डब्लुएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री प्रदिप पौडेल नेतृत्वको प्रतिनिधि मण्डलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

मन्त्री पौडेल दिल्ली पुगेर भारतीय समकक्षीसंग भेटवार्ता समेत गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *