बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

काठमाडौँ, २१ असोज । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।

कंकालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताए। शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उनले बताए ।

कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भने, बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हुँदा खाने कुरा छैन ।

चर्को घाममा खुला ठाउँमा बसेका छौँ । सोही ठाउँका अर्का बाढीपीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताए ।

खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उनको गुनासो छ । ुबाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन, उनले भने ।

स्थानीय बाढीपीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताए । धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उनले गुनासो पोखे । उनले तीनै तहका सरकारलाई सहयोगको याचना गरे ।

कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढीपीडितको विचल्ली भएको छ । हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढीपीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं। ३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन् ।

बाढीपीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *