प्राकृतिक विपद्का कारण रोकिएको विश्व मुटु दिवस शुक्रबार मनाईयो (फोटो फिचर सहित)

करोड रुपैयाँ जम्मा गर्ने लक्ष्यका साथ खोलिएको 'इन्ड आरएचडी फण्ड'मा पहिलो दिन नै उठ्यो ३० लाख बढी सहयोग

काठमाडौँ, १९ असोज ।  विश्व मुटु दिवसको दिन अर्थात २९ सेप्टेम्बर नेपाली पात्रोमा १३ असोजको दिन पर्दथ्यो ।

नेपाल एनसीडी एलायन्स र रोटरी क्लव अफ पाटनले अघिल्लो वर्ष जस्तै यसपटक पनि त्यस दिन संयुक्त रुपमा विशेष कार्यक्रमको आयोजना गर्दै थिए । तर, त्यसको अघिल्लो दिन अर्थात १२ असोजमा काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा भारी वर्षासंगै ठूलो जनधनको क्षति हुने गरी भिषण बाढी र पहिरो आयो । देश एकाएक प्राकृतिक विपत्तीमा परेका बेला कार्यक्रम हुने कुरा भएन, पूर्वनिर्धारित कार्यक्रम स्थगित गरियो । फेरी जब वर्षा रोकियो, जनजीवन सामान्य उन्मुख हुन थाल्यो यसअघि स्थगित विश्व मुटु दिवसको कार्यक्रम शुक्रबार विशेष कार्यक्रम गरी मनाईयो ।

यसवर्ष विश्व मुटु दिवसको नारा ‘काम गरौँ, मुटु बचाउँ’ भन्ने रहेको छ ।

बरिष्ठ मुटुरोग विशेषज्ञ समेत रहेका नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले  नाराको भावलाई आत्मसात हुने गरी  मुटुरोग रोकथाम सम्वन्धी सचेतनामुलक प्रस्तुति दिएका थिए ।

‘विश्वमा प्रतिवर्ष २ करोड ५ लाख मानिसको ज्यान मुटुजन्य रोगबाट जाने गरेको छ । नेपालमा मुटुरोगकै कारण बार्षिक ३० हजार बढीको मृत्यु हुने गरेको छ । यो बढ्दो क्रममा छ । तर खानपान र स्वस्थ जीवनशैली अपनाउन सकियो भने ८० प्रतिशतले यसको जोखिम कम गर्न सकिन्छ,’ प्रस्तुतिकरण गर्दै उनले भने, ‘सबैभन्दा रिस्क फ्याक्टर धूमपान नै मानिन्छ त्यसपछि मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरोल, तनाव बढ्नु पनि अर्को जोखिम हो । अस्वस्थकर खानपान कारण, ५० वर्ष माथिको उमेर र लिंगको आधारमा पुरुषहरु तुलनात्मक रुपमा मुटुरोगको जोखिममा हुन्छन् ।’

सो अवसरमा उनले उच्चरक्तचापको नयाँ मापदण्ड सुनाउँदै १२०/७० लाई सामान्य मानिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि बनेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनीभुषण उपाध्यायले मुटुरोग नियन्त्रणका लागि स्वास्थ्य सचेतना महत्वपूर्ण हुने बताए ।

‘विकसित देशहरुमा मुटुरोग घट्दोक्रममा छ, तर हाम्रो जस्तो मुलुकमा बढ्दोक्रममा छ । यसलाई घटाउन सकिन्छ तर आम जनमानस सचेत हुनु परयो । त्यसका लागि एनसीडी एलायन्स, रोटरीक्लव जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ।

डा. उपाध्याले राज्यले उपचारका लागि केही गरे पनि रोकथामको लागि धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रममा रोटरीक्लव अफ पाटनका सभापति प्रिति खेम्काले मुटुरोग रोकथामका लागि सहकार्य गरेर अघि बढन पाएकोमा खुशी व्यक्ति गरिन् । उनले बढ्दो क्रममा रहेको नसर्ने रोग र त्यसमा पनि मुटुरोगको जोखिम कम गर्न एनसीडी एलायन्ससंग सहकार्य गरेको स्पष्ट पारिन । उनले भनिन्, ‘खानपान, जीवनशैलीमा ध्यान दिन सकेमा पनि मुटुरोग जस्ता नसर्ने रोगको जोखिम कम गर्न सकिन्छ । त्यसका लागि रोटरी क्लवले विगत देखि नै विभिन्न संस्थासंग मिलेर काम गर्दै आएको छ,’ अव पनि यस किसिमका कार्यमा रोटरीले हातेमालो गर्दै जाने छ ।,’

उनले पछिल्लो पटक आएको बाढी पहिरोले पुरयाएको क्षतिमा समेत दुख व्यक्त गर्दै मानवीय कार्यमा रोटरी लागि परेको बताईन ।

यस्तै नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले मुटुु मानव शरीरमा भएका अंगहरु मध्ये सबैभन्दा महत्वपूर्ण र सम्वेदनशील रहेको भन्दै यसलाई स्वस्थ राख्नका लागि अपनाउनु पर्ने उपायका बारेमा आम जनमानसलाई थाहा दिन जरुरी रहेको बताए ।

कार्यक्रममा डा. रेग्मी र डा. उपाध्यायसंगै मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु, डा. प्रेमराज वैद्य लगायतले मुटुरोगका सन्दर्भमा उठेका सवालहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा विश्व मुटु दिवसको सन्दर्भमा आयोजित विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितमा प्रथम र द्धितिय हुने क्रमश सिद्धि मंगल मावि र महेन्द्र ग्राम स्कुलका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

२ करोड जम्मा गर्ने लक्ष्य लिइएको इण्ड आरएचडी फण्डमा पहिलो दिनमै उठ्यो ३० लाख बढी सहयोग
यसैबीच बाथमुटुरोग अन्त्यका लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठानले खडा गरेको इन्ड आरएचडी फण्डमा शुक्रबार मात्रै ३० लाख बढी रकम सहयोग उठेको छ ।

अघिल्लो वर्ष एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्यका साथ स्थापना गरिएको कोषमा लक्ष्य पुरा भएपनि थप रकम आवश्यक भएको भन्दै शुक्रबार थप दुई करोड रकम संकलन गर्ने नयाँ लक्ष्य अघि सारिएको थियो । त्यसमा पहिलो दिन नै ३० लाख २ हजार रकमको चेक तथा प्रतिवद्धता प्राप्त भएको डा रेग्मीले बताए ।

शुक्रबार मात्रै कोषमा चन्द्रलेखा पाण्डे र रविन्द्रराज पाण्डे (दम्पत्ती)ले २५ लाख रुपैयाँ दान गरेका छन् ।

यस्तै ब्राइट स्टार सोसाइटीका दृष्टिविहिन बासुदेव अधिकारीले २१ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । यस्तै कमल न्याच्छुले २ लाख रुपैयाँ, निर्मला श्रेष्ठले १ लाख ११ हजार रुपैयाँ, मिथिला राजभण्डारीले ५० हजार रुपैयाँ, विजया लक्ष्मी शाक्यले १० हजार रुपैयाँ र पुष्पमान श्रेष्ठले ५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यता यसअघि तीन पटक सहयोग गरिसकेको पद्मोदय भेट्रान्स क्लवले १ लाख ५ हजार रुपैयाँ नगद सहयोग गरेको थियो ।

डा रेग्मीले आगामी वर्षको विश्व मुटु दिवसको दिनसम्ममा दुई करोड थप गर्ने लक्ष्य पुरा गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *