कस्तो हुनुपर्छ चाडबाडको खानपान ?

– प्रनिति सिंह

चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ ।

विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको संख्या पनि बढी हुने गरेको छ ।

दशैंका बेला सजिलोका लागि एकै पटक मासु ल्याएर फ्रिजमा राख्ने र त्यसैलाई झिकेर पकाउने गरिन्छ । अथवा, भुटेर, तारेर, पक्कु–कबाब बनाएर फ्रिजमा राखेर खाने चलन छ । तर, फ्रिजमा चिसो बनाएर राखेको खानेकुरालाई बारम्बार बाहिर निकाल्दै, राख्दै गर्नु ठीक होइन । यसो गर्दा एक त मासुको पोषक तत्व घट्ने हुन्छ भने अर्कोतिर स्वास्थ्यमा समस्या निम्तन सक्छ । फ्रिजको चिसोमा राखेको खानालाई तत्काल तताउनुपर्छ ।

मासुमा भिटामिन बी १२, जिंक, फोलिक एसिड, आइरन लगायतका पोषक तत्व हुन्छ । त्यसैले मासु सन्तुलित रुपमा खाने हो भने स्वास्थ्यलाई फाइदा हुन्छ । अन्यथा, त्यसले असर गर्छ ।

रातो मासुले मिर्गौला, बाथ, उच्च रक्तचाप, युरिक एसिड, उच्च कोलेस्टेरोल भएका बिरामीलाई नराम्रो असर गर्न सक्छ । त्यसैले यस्ता बिरामीले सकेसम्म त रातो मासु खानै हुँदैन । खानै परे थोरै मात्रामा कुखुराको मासु खान सकिन्छ । नुन धेरै हालिएको खानेकुरा पनि खानुहुँदैन । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीका लागि हानिकारक हुन् ।

स्वस्थ व्यक्तिले पनि मासु खाँदा तरकारी बढी खाने, सलादका रुपमा काँक्रो, गाँजर, मुला खाने गर्नुपर्छ । चाडबाडका बेला शारीरिक अभ्यासमा पनि ध्यान दिनुपर्छ ।

यस्तै, चाडबाडका बेला पेटमा बढी समस्या निम्तन्छ । चिल्लो बढी र अनियन्त्रित खानपानले ग्यास्ट्रिक बढ्ने, अपच, झाडापखाला तथा कब्जियत हुने, कोलेस्टेरोल बढ्ने र कलेजोमा बोसो जम्ने जस्ता समस्या आउँछन् ।

चाडबाडका बेला सुगर, कोलेस्टेरोल, रक्तचाप, युरिक एसिडका समस्या लिएर अस्पतालका पुग्ने बिरामीको संख्या धेरै हुन्छ । यसैले अस्पताल पुग्ने अवस्था निम्तन दिनुभन्दा पहिल्यै सचेतता अपनाउनु उचित हुन्छ ।

कतिपय उच्च रक्तचाप, मुटु, मिर्गौला, सुगरका बिरामीहरुले चाडबाडको बेला छ, पहिले खाऔं, अनि अस्पताल जाउँला भनेर हेलचेक्र्याइँ गरेको पनि पाइन्छ । यसो गर्दा इमर्जेन्सी रुपमा अस्पताल पुग्नुपर्ने हुन सक्छ । यसो गर्नुहुन्न ।

चाडबाडका बेला कलेजोको समस्या पनि निम्तन सक्छ । यस्तो बेला मदिरा, बोसोयुक्त मासु र चिल्लो खाना बढी खाने गरिन्छ । ती सबैलाई पचाउने काम कलेजोको हो । तर, यी सबै चिज एकै पटक खाँदा कलेजोले जोडतोडका साथ काम गर्नु पर्ने भएकाले बोसो जम्मा हुँदै जान्छ, जुन रक्तनली र मुटुसम्म जम्मा हुन सक्छ । जसको परिणाम कलेजो फेलसम्म हुने भएकाले यस्ता खानपानमा नियन्त्रण गर्नुपर्छ ।

कलेजोका बिरामीले मदिरा त छुनै मिल्दैन । राम्रो प्रोटिनको स्रोत भएकाले लिभर सिरोसिस भएका बिरामीलाई रातो मासु खाने सल्लाह दिइन्छ, । तर, कलेजोको रोग कुन चरणमा छ, त्यसमा भर पर्छ कति खाने भनर ।

यस्तै, सुगरका बिरामीले चिनी र चिनीबाट बनेका परिकार, आलुको अचार, बोसो भएको मासु, मह, केक, हर्लिक्स, आइसक्रिम, तेलमा तारेका खाना खानुहुँदैन ।

धूमपान र मद्यपान त गर्नैहुँदैन । बरु, थोरै मात्रामा चामल, गहुँ, मकै, फाफर, कोदो, जौ, चिउरा, गेडागुडी, फलफूल खानु पर्छ । मासु तथा अण्डा नियन्त्रित रुपमा अलिकता खान सकिन्छ ।

सुगरका बिरामीले हरिया सागसब्जी, सलाद, काँक्रो, मुला, कुरिलो, पालुंगो, कागती खान मिल्छ ।

मुटुका बिरामीले पनि रातो मासु खानुहुन्न । मासु पकाउँदा एक त चिल्लो बढी प्रयोग गरिन्छ भने अर्कोतिर छाला तथा बोसोले कोलेस्टेरोल बढ्ने भएकाले मुटुको समस्या पनि बढ्ने हुन्छ ।

यस्तै, मासुका साथ भात तथा चिउरा बढी खाने, मदिरा सेवन गर्ने हुनाले यसले मधुमेह, रक्तचाप तथा मुटुका बिरामीलाई असर गर्छ । त्यसैले मुटुका बिरामीले रातो मासुबाहेक धूमपान तथा मदिरा सेवन गर्नुहुँदैन । नुनु धेरै खानुहुन्न । बरु केही टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानुपर्छ । जथाभावी खानपान, चिल्लो खाना, मद्यपान र धूमपानले मुटुको चाल अनियमित गर्ने भएकाले यस्ता चिजमा नियन्त्रण गर्नुपर्छ ।

मिर्गौलाका बिरामीले पनि सकेसम्म रातो मासु सेवन गर्नुहुन्न । डायलिसिसमा नभएका बिरामीलाई तौलको हिसाबले कति प्रोटिन दिने भनेर तय गरिन्छ र कुन कुन स्रोतबाट प्रोटिन दिने भनेर हिसाब गरिन्छ । त्यसैले मिर्गौलाका बिरामीले दिनहुँ रातो मासु सेवन नगरेको राम्रो, कहिलेकाही खाएको छ भने एक–दुई टुक्रा मासु हप्तामा एक पटक या बढीमा दुई पटकसम्म खान मिल्छ ।

आजकाल मानिसहरुको बदलिँदो जीवनशैलीका कारण विगतमा ५० वर्षको उमेरमा देखिने रोग आजकाल २० वर्षकै उमेरमा देखिन थालेको छ । शारीरिक अभ्यास हुन छाडेको छ । त्यसैले चाडबाडका बेला मात्र होइन, सामान्य अवस्थामा पनि खानपानमा सजग र सचेत हुनैपर्छ ।

# सिंह नर्भिक इन्टरनेशनल अस्पतालका डाइटिसियन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *