बाढीको डुवानमा परेको काठमाडौँमा आउन सक्ने प्रकोपबारे सचेत छ जनस्वास्थ्य कार्यालय

काठमाडौँ, १७ असोज ।  जनस्वास्थ्य कार्यालय काठमाडौँले गत बिहीबार देखि शनिबारसम्म आएको वर्षा पछि आएको बाढीबाट डुवानमा परेका बस्तीमा फैलन सक्ने प्रकोप तथा महामारीबारे सचेत भएको जनाएको छ ।

काठमाडौँका जनस्वास्थ्य प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जोखिमयुक्त क्षेत्रमा सम्भावित प्रकोपको आंकलन गरि स्थानीय तहसंग मिलेर निगरानी बढाइएको बताए ।

गत साता आएको बाढीमा काठमाडौँ जिल्लामा मात्रै ४२०० घरपरिवार डुवानमा परेको उल्लेख छ । त्यसमध्ये १२०० घर परिवार सुकुम्बासी बस्तीका रहेका छन् ।

‘यस्तो डुवान तथा बाढी पछि देखिने भनेको झाडापखला हैजासंगै अन्य सरुवा तथा संक्रामक रोगहरु हुन् । यसमा हाम्रो कार्यालयले स्थानीय तहसंग समन्वय गरेर निगरानी बढाइरहेको छ । अहिलेसम्म त्यस्तो ठूलो मात्रामा समस्या आएको छैन,’ डा सापकोटाले भने ।

उनले बाढीमा परेर काठमाडाँै जिल्लामा मात्रै १७ जनाको ज्यान गएको, १८ जना घाइते भएकोमा ७ जना डिस्चार्ज भएको, दुई जना वेपत्ता भएको प्रहरीको विवरणमा उल्लेख भएको बताए । उनले डुवानमा परेको कामनपा ११ स्थित बंशीघाट सुकुम्बासी टोलमा मात्रै ६० वर्ष माथिका ८४ जना, सुत्केरी १७ जना, गर्भवती २ जना, अशक्त १२ जना र ५ वर्ष मुनिका ३३ जना रहेको बताए ।

डुवानमा परेका घरहरुमा खाद्यन्न, लत्ता कपडा, ओड्ने ओच्छ्याउने भिजेका छन् । हिलोले छोपिएका छन् । यसलाई व्यवस्थापनसंगै सुद्ध खानेपानी र खानाका लागि समेत समस्या देखिएको छ । तर यसका लागि स्थानीय वडाहरु, स्वयंसेवी क्लव तथा संस्थाहरुले सहयोग गर्दै आएको पनि हुनुहुन्छ । स्वास्थ्य कार्यालयले स्वास्थ्य समस्या आउन नदिनका लागि र सम्भावित संक्रमणको जोखिमबाट जोगाउनका लागि समन्वय गरिरहेको छ ।

डा सापकोटाले व्यक्ति तथा समुदायमा बाढीको प्रत्यक्ष असर देखिएपनि आफ्ना स्वास्थ्य कार्यालयहरुमा भने असर नभएको बताए । उनले बाढी पछि सबै पालिकाहरुले विपत व्यवस्थापन समिति परिचालन गरेको समेत जानकारी दिए । उनले अहिलेसम्म जिल्लाभर कहि आउटब्रेक नभएको समेत स्पष्ट पारे ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *