नेपालमा अब औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत भन्दा बढी हुन नहुने

अब खानेकुरालाई पत्रपत्रिकामा बेरेर खरीद बिक्री गर्न नपाईने

काठमाडौँ, १५ असोज ।  नेपालमा पनि औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत भन्दा माथि जान नदिने नीति कार्यान्वयनमा आएको छ । यो संगै नेपालमा ट्रान्सफ्याटको मात्रा सिमित गर्ने कानून जारी गर्ने विश्वको ५८ औँ देश बनेको छ ।

२४ माघ २०७८ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्विकृत गरेको नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१ – २०२५ मा यस्तो व्यवस्था समेटिएको छ । सोही कार्य योजनाको एउटा बुँदामा सन् २०२३ भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने लक्ष्य रहेको उल्लेख छ ।

तोकिएको समय भन्दा करीव ढेड महिना ढिला गरी सरकारले गत २५ माघमा राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ । सो सूचनामा नयाँ व्यवस्थाको कार्यान्वयन १८१ दिन अर्थात ६ महिना पछि हुने भनिएको छ । सो अनुसार गत २२ साउन पछि यसको कार्यान्वयनमा भएको हो ।

ट्रान्सफ्याट विरुद्धको अभियानमा लामो समयदेखि सक्रिय बरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल हृदयरोग निवारण प्रतिष्ठानका उपाध्यक्ष डा. प्रेमराज बैद्य ट्रान्सफ्याट सम्वन्धी कानून कार्यान्वयनमा आइसकेको बताउँछन् । उनले यसको कार्यान्वयनका लागि ७७ जिल्लामा खाद्य निरीक्षकहरु परिचालित भएको समेत बताए । अहिले खाद्य निरीक्षकले टीपीएम मिटरको सहयोगमा ट्रान्सफ्याटको मात्रा परीक्षण थालेको बताए ।

के हो औद्योगिक ट्रान्सफ्याट ? नयाँ व्यवस्था अनुसार उत्पादकले के गर्नुपर्छ ?

बनस्पति तेललाई हाईड्रोजिनेसन विधिद्धारा ठोस वा अर्ध ठोस अवस्थामा परिणत गरी बनस्पति घ्यु तथा आंशिक रुपमा हाईड्रोजिनेटेड गरिएको बनस्पति तेल तयार गर्दा उत्पन्न हुने ट्रान्सफ्याटलाई औद्योगिक ट्रान्सफ्याट भनिन्छ ।

नयाँ व्यवस्था अनुसार अब गुणस्तरको क्षेत्र भित्र पर्ने खाद्य पदार्थहरुमा ट्रान्सफ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा बढी नबढेको हुनुपर्ने छ ।

यस्तै खाद्य पदार्थहरुको लेवलमा खाद्य नियमावली २०२७ ले तोके बमोजिमका विवरणहरु उल्लेख गर्नुका साथै अनिवार्य रुपमा ट्रान्सफ्याटको मात्रा समेत उल्लेख गर्नु पर्ने छ ।

उत्पादनको लेवलमा ट्रान्सफ्याटरहित भनि दावि गरिएको पदार्थको हकमा सो खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्सफ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौल भन्दा बढी हुनु हुँदैन ।

डा बैद्यले  पीपीएम मेसिनले खाद्य पदार्थ बनाउन प्रयोग भएको तेल २५ प्रतिशत भन्दा बाक्लो भएको देखाएमा त्यसलाई पुर्न प्रयोग गर्न नमिल्ने गरी फ्याकिने बताए ।

अब खानेकुरालाई पत्रपत्रिकामा बेरेर खरीद बिक्री गर्न नपाईने ?

तपाईँहरुले हिजो आज खाजाघर वा मिठाई पसलबाट पत्रपत्रिकामा र्‍यापिङ गरेर समोसा, जेरी, नमकिन, पेडा लगायतका खाद्य पदार्थ कत्तिको ल्याउने गर्नु भएको छ ? अथवा तपाईँहरुलाई ती पसलेहरुले यस्ता खाद्य पदार्थहरु पोकोपारेर दिने गरेका छन् कि ? त्यसो हो भने अब खरीद गर्ने र विक्री गर्ने दुबै सचेत बन्नु पर्ने भएको छ ।

सरकारले खाद्य पदार्थहरुको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रङ्गाइएको कागजलाई प्रयोग गर्न नपाईने कानून ल्याएको छ ।

खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी खाद्य बस्तुको गुणस्तर निर्धारण सम्बन्धि नयाँ व्यवस्था लागू गरेको हो ।

गत २५ माघमा राजपत्रमा सार्वजनिक गरिएको सूचना १८१ दिन पछि लागू हुने भनिएको थियो । सो अनुसार गत २५ साउन देखि यस्तो व्यवस्था लागू भएको हो ।

मानव स्वास्थ्यमा ट्रान्सफ्याटको कस्तो असर ?

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका उपाध्यक्ष डा.  वैद्य नेपालमा पनि हानिकारक तेल तथा तेलजन्य परिकारका कारण हृदयघात, मस्तिष्कघात, उच्चरक्तचाप, मधुमेह, मोटोपना र अन्य रोगहरुको समस्या कम उमेर देखि नै देखिन थालेको बताउँछन ।

उनी भन्छन्, ‘रोग देखिन थालेको मात्रै होइन हिजो आज त्यस्ता रोगबाट कम उमेरमै मृत्यु हुनेको संख्या समेत बढ्न थालेको छ ।’

नेपालीहरुले प्रयोग गर्ने तेलकै कारण अस्पताल र क्लिनिकहरुमा मुटु र मिर्गौला सम्वन्धि समस्या लिएर आउने बिरामीको संख्या वर्षेनी बढेको छ ।

यसको मुख्य कारण मानिसहरुले दैनिक उपभोग गरिने हानिकारक चिल्लोयुक्त खाना र यसको अधिक प्रयोग तथा शारीरिक व्यायामको कमि मानिदै आएको थियो । तर, अहिले चिल्लोयुक्त खानामा पनि ट्रान्सफ्याटयुक्त खानाको अधिक उपभोगले हृदयघात, उच्च रक्तचाप, मधुमेह, मोटोपन र मस्तिष्कघात बढी हुने गरेको तथ्य बाहिर आएको छ ।

विश्व स्वास्थय संगठनका अनुसार नेपालमा ट्रान्सफ्याटकै कारण बार्षिक २२०० बढीको मृत्यु हुने गरेको छ । डब्लुएचओले सन् २०२५ सम्ममा विश्वबाटै ट्रान्सफ्याटलाई उन्मुलन गर्ने नीति अघि सारेको छ । नेपालको पछिल्लो कदमले डब्लुएचओको विश्वव्यापी अभियानलाई थप सहयोग पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *