पश्चिम नवलपरासीको बर्दघाटमा बन्ने भयो दोस्रो सरकारी ट्रमा सेन्टर

नवलपरासी १४ असोज । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ ।

आइतबार संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु र संघीय सांसद विनोद चौधरीले संयुक्त रूपमा ट्रमा सेन्टरको शिलान्यास गरे ।

संघीय राजधानी काठमाडौँ बाहिर बन्न लागेको यो पहिलो सरकारी ट्रमा सेन्टर हो ।

कुल १२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको १५ शय्याको ट्रमा सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ ।

भवन शिलान्यास पछि बोल्दै संघीय स्वास्थ्य मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए । उनले क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारुले बर्दघाटमा निर्माण हुन लागेको ट्रमा सेन्टर लगायत स्थानिय तहमा निर्माणाधिन र निर्माण सम्पन्न आधारभुत अस्पतालको संचालन, बीमा वापतको शोध भर्ना, चिकित्सक तथा स्वस्थ्यकर्मीको व्यवस्थापनमा तिनै तहका सरकारको समन्वय आवश्यक रहेको र अस्पतालहरुमा शय्या भन्दा सेवा वृद्दी गर्नुपर्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।

सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । १५ करोड बजेट लागतको बहुवर्षीय ठेक्का अन्तर्गत एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *