आजको मौसम : बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
काठमाडौँ १२ असोज । अस्ति राती देखि सुरु भएको निरन्तर वर्षा आज (शनिबार) पनि जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।
महाशाखाका अनुसार आज कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ ।
साथै भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।
यस्तै विभागले देशभरका १०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाहको लागि सञ्चालन गरेको फेसबुक पेज ‘नेपाली बाढी सूचना’ मा उक्त जानकारी दिएको हो ।
सामाजिक सञ्जालमा राखिएको सूचना अनुसार बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियल टाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ।
सम्पर्क इमेल : [email protected]