क्यान्सरको प्राथमिक रोकथामका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले उल्लेख गरेको ६ बुँदा
काठमाडौँ, ११ असोज । बढ्दो क्रममा रहेको क्यान्सर रोग नियन्त्रण गर्न सरकारले सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४ – २०३० कार्यान्वयनमा ल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनले क्यान्सर रोकथाम गर्नु नै सबै क्यान्सर नियन्त्रण कार्यक्रमहरुको मुख्य पक्ष हुनुपर्ने बताउँछ ।
यस रणनीतिमा पनि क्यान्सर रोकथाम सम्बन्धि कार्यक्रमले क्यान्सर बढाउन सक्ने सुर्तीजन्य पदार्थ जस्ता कारक तत्वहरुमा मात्र नभई स्वस्थ खानपान र शारीरिक क्रियाकलाप जस्ता सुरक्षात्मक तत्वहरुमा पनि ध्यान दिएको छ ।
यस्तै क्यान्सर रोकथामका लागि स्वास्थ्य प्रवर्धन गरी क्यान्सरका जोखिमहरुप्रति जनमानसमा सचेतना प्रदान गर्ने, स्वस्थ जीवनशैली प्रवर्धन गर्ने र सम्भावित क्यान्सरका जोखिमहरू न्यून गर्न स्वस्थ वातावरण सिर्जना गर्ने क्रियाकलापहरु पनि नयाँ रणनीतिमा समावेश छन् ।
सामान्यतया क्यान्सरको जोखिम कारक तत्वहरु व्यवहारिक, सामाजिक, आर्थिक र सांस्कृतिक कार्यहरुको परिणाम हो, जुन परिवर्तन गर्न चुनौतीपूर्ण हुनसक्छ। विश्वव्यापी अनुभवले क्यान्सर रोकथाम र नियन्त्रणका लागि पर्याप्त लगानी, स्रोतसाधन, नेतृत्व र अनुसन्धानलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न सके जोखिम कारक तत्वहरु न्यून गर्न सकिन्छ भन्ने समेत देखाएको छ ।
रणनीतिले क्यान्सर रोकथामको लागि महत्वपूर्ण माध्यम भनेको सम्भावित जोखिम कारक सम्बन्धि शिक्षा र जनचेतना प्रदान गर्नु भन्दै क्यान्सरको मुख्य कारक पक्ष र नियन्त्रणको उपाय बारेमा यसरी उल्लेख गरेको छ ।
१. सुर्तीजन्य पदार्थ नियन्त्रणः
सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य समस्या हो । सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर गराउँछ र नसर्ने रोगबाट हुने अधिकांश मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारणले नै हुने गर्दछ ।
ग्लोबोक्यानको तथ्याङ्क (२०२०) अनुसार नेपालमा क्यान्सरबाट हुने मृत्युमध्ये २३.७ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गर्दछ । विभिन्न उमेर समूहमा धुम्रपान प्रमुख समस्याको रूपमा देखिन्छ ।
सबै नयाँ क्यान्सरमध्ये फोक्सोको क्यान्सरको हिस्सा पुरूषहरुमा १८ प्रतिशत र महिलाहरुमा ७.७ प्रतिशत देखिएको छ ।
सन् २०१९ को एनसीडी स्टेप्स सर्वेक्षण अनुसार नेपालमा हाल सुर्तीजन्य पदार्थ (धुम्रपान र धुवाँरहित) सेवन गर्नेको प्रतिशत २८.९ रहेको छ भने धुम्रपान गर्नेको प्रतिशत १७.१ रहेको छ ।
२० वर्षको उमेर नपुग्दै धुम्रपान सुरू गर्ने दरलाई हेर्दा युवाहरुलाई लक्षित गरी विशेषत विद्यालयमा वृहत तथा सङ्गठित रूपमा धुम्रपान विरूद्धका अभियान तत्काल सुरू गर्नुपर्ने देखिन्छ ।
नेपालले सन् २००७ फेब्रुअरी ५ तारिखमा विश्व स्वास्थ्य सङ्गठनको सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिको पक्षमा भाग लिएको थियो । यस महासन्धिको कार्यान्वयनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन), २०६८ बनेको हो र यो ऐनले सार्वजनिक स्थान, कार्यस्थल र सार्वजनिक यातायातमा धुम्रपान निषेध संगै सुर्तीजन्य पदार्थको विज्ञापन, प्रचार र प्रयोजन गर्न नपाउने राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४ २०३०) व्यवस्था गर्नुका साथै प्याकेजिङ र लेबलिङ नियमन गर्दछ ।
यस ऐनका प्रावधानहरु लागू गर्नका लागि यस अन्तर्गत नियमावली र तीनवटा निर्देशिका जारी भए पनि सोको कार्यान्वयन थप प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।
२. मादक पदार्थको नियमन :
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्गको अनुसार क्यान्सरसँग सम्बन्धित मृत्युमध्ये ३.२ प्रतिशत मृत्यु मादक पदार्थ सेवनका कारण हुने गरेको छ ।
सन् २०१९ मा नेपालमा गरिएको एनसीडी स्टेप्स सर्वेक्षणले २०.८ प्रतिशत वयस्कहरूले हाल (बितेको ३० दिनभित्रमा) मादक पदार्थ सेवन गर्ने गरेको र झण्डै ८ जनामा १ जना पुरुष (११.७ प्रतिशत) ले दैनिक मादक पदार्थ सेवन गर्ने गरेको देखिएको छ ।
सन् १९९९ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मादक पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । सन् २००१ मा सरकारले मादक पदार्थको बिक्री, वितरण र उपभोगका सम्बन्धमा नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो । यी प्रयासका बावजुद पनि मादक पदार्थ सेवनको दर बढ्दो क्रममा छ ।
मादक पदार्थको प्रयोगबाट स्वास्थ्य र सामाजमा हुने हानिकारक तत्व परिणामहरुलाई कम गरी प्रत्येक नागरिकको उच्च जीवनस्तर सुनिश्चित गर्न मादक पदार्थको नियमन र नियन्त्रण सम्बन्धी राष्ट्रिय नीति निर्माण प्रक्रियामा रहेको छ । यस नीति कार्यान्वयनको अनुगमन गर्न स्थानीय र केन्द्रीय तहका लागि छुट्टाछुट्टै संयन्त्रको परिकल्पना गरिएको छ । यसमा प्रस्तावित योजनाहरुमा मादक पदार्थको विज्ञापन, प्रचारप्रसार र प्रयोजनमा पूर्ण प्रतिबन्ध लगाउने, बिक्री वितरणका लागि इजाजतपत्र जारी गरी जहाँकहीँबाट मादक पदार्थ उपलब्ध गराउन निषेध गर्ने र बिक्री गर्ने दिन र समयमा नियमन गर्ने विषयलाई समावेश गरेको छ।
त्यसैगरी नेपाल सरकारले मादक पदार्थ बजारका सम्बन्धमा विभिन्न तहमा इजाजतपत्र र एकाधिकार प्रस्तुत गरेको छ । जसमा मादक पदार्थ पसलबाट मादक पदार्थ बेच्ने समय, स्थान र कार्यक्रमको आधारमा बिक्री वितरणमा प्रतिबन्धहरु जारी गर्नुका साथै न्यूनतम खरिद उमेर (१८ वर्ष), व्यवसायिक रूपमा मादक पदार्थ उपलब्धतालाई प्रतिबन्ध गर्न सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्न नपाइने जस्ता नियमहरुको व्यवस्था गरेको छ।
त्यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने विरूद्ध कारवाही र मादक पदार्थ सस्तो दरमा उपलब्ध नहोस् भनेर हरेक वर्ष मादक पदार्थमा कर वृद्धि गर्दै आएको छ ।
३. खानपान र मोटोपना :
सन् २०१९ मा गरिएको विश्व स्वास्थ्य सङ्गठनको एनसीडी स्टेप्स सर्वेक्षणका अनुसार नेपालमा फलफूल र तरकारीको अपर्याप्त सेवन सबै वयस्कहरुमा देखिएको छ। सोहि सर्वेक्षण अनुसार २४.३ प्रतिशत वयस्कहरु (२३.४ प्रतिशत पुरुष र २५.१ प्रतिशत महिला) मा अधिक तौल र मोटोपना देखिएको थियो ।
बहुक्षेत्रीय पोषण योजनाले नेपालीहरूका लागि उचित पोषण अवस्था हासिल गर्ने लक्ष्य सहित जीवनशैलीसंग सम्बन्धित रोगहरूका लागि आहारको निर्देशिका समावेश गरेको छ।
४. शारीरिक गतिविधिः
विश्व स्वास्थ्य सङ्गठनले सन् २०१३ र २०१९ मा गरेको एनसीडी स्टेप्स सर्वेक्षणको तुलनात्मक तथ्याङ्क हेर्दा वयस्कहरुमा पर्याप्त शारीरिक गतिविधि नगर्ने दर २.४ प्रतिशतबाट ७.४ प्रतिशत र किशोरकिशोरीहरुमा ७.२ प्रतिशतबाट १०.८ प्रतिशत सम्म बढेको देखिन्छ।
वयस्कहरुको तुलनामा किशोर किशोरीहरूमा शारीरिक सक्रियतामा कमी रहेको र वयस्कहरुको पारिवारिक सम्पति वृद्धिसंगै शारीरिक सक्रियता घटेको देखिन्छ ।
५. ह्युमन प्यापिलोमा भाइरस (एचपीभी):
पाठेघरको मुखको क्यान्सर गराउने एउटा प्रमुख कारक तत्वको रूपमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण देखिएको छ ।
यो भाइरस यौनाङ्ग तथा मलद्वार (मलद्वार, भल्भा, योनि र लिङ्गमा हुने क्यान्सर) र टाउको तथा घाँटीमा हुने क्यान्सरहरुको सम्भावित कारक तत्व भएको प्रमाण पनि देखिएको छ।
विश्वभर देखिने ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ र १८ का कारण हुने गरेको पाईन्छ । हाल उपलब्ध एचपीभी खोपले ह्युमन प्यापिलोमा भाइरस १६ र १८ ले गर्दा हुने संक्रमणहरुबाट जोगाउँछ ।
यो खोपले पाठेघरको मुखको क्यान्सर र अन्य मलद्वार तथा यौनाङ्गमा हुने क्यान्सरको दर कमी गर्ने क्षमता राख्दछ ।
नेपालले सन् २०१६ मा चितवन र कास्की जिल्लामा एचपीभी खोपको परिक्षण गरेको थियो । जस अन्तर्गत ११ देखि १३ वर्षका बालिकाहरुलाई नियमित खोप कार्यक्रम अन्तर्गत एचपीभी को दुई डोज खोप प्रदान गरिएको थियो ।
सन् २०२३ मा नेपाल सरकारले सातै प्रदेशबाट लक्षित समुहका बालिकाहरुलाई एचपीभी को दुई डोज खोप प्रदान गरेको थियो । सो खोप अभियानलाई निरन्तरता दिई नियमित खोप सूचीमा समावेश गर्न हाल नेपाल सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) संग सहयोगको लागि अनुरोध गर्ने योजना बनाईरहेको छ ।
६. हेपाटाइटिस बी भाइरस (एचबीभी):
एचबीभी भाइरसबाट हुने संक्रमणलाई कलेजोको क्यान्सर हुने प्रमुख कारण मानिन्छ । हेपाटाइटिस बी भाइरस संक्रमणलाई खोपबाट रोकथाम गर्न सकिन्छ र यो खोपले कलेजोको क्यान्सरका साथै कलेजोसम्बन्धी अन्य रोगहरु जस्तै लिभर सिरोसिसको रोकथाम गर्नमा मद्दत गर्दछ । हाल नेपालले यस खोपलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]