बिराट मेडिकल कलेज शिक्षण अस्पतालमा एक हजार नर्सका लागि जागिरको अवसर

काठमाडौँ, ८ असोज । बिराटनगरस्थित बिराट मेडिकल कलेजले एकै पटक १००० नर्स पदपूर्ति गर्ने भएको छ । १००० शय्या क्षमताको अस्पतालले बिरामीको संख्या बढी रहेको, चिकित्सक र पूर्वाधार समेत तयारी अवस्थामा रहँदा नर्सको अभाव भएको भन्दै एकैपटक एक हजार जना पदपूर्ति गर्नका लागि आवेदन मागेको हो ।

कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले भने, अस्पतालमा हाल आइसीयू तथा क्रिटिकल केयरका लागि २०० शय्या रहेका छन्। चिकित्सकहरु पनि प्रयाप्त हुनुहुन्छ तर नर्सको अभाव भयो त्यसैले एकैपटक ठूलो संख्यामा दरखास्त मागिएको हो ।

डा कार्कीले बिरामीको संख्या बढ्दै जानु र नर्स लगायत दक्ष जनशक्तिको अभाव हुँदै जानुले देशको अवस्था विकराल तर्फ धकेलिदै गएको बताए । उनले यस्तो अवस्था आउनुमा सरकारको कमजोरी रहेको बताए ।

‘बिरामी दिनहुँ बढी रहेको छ, सरकारले नर्सिङ कलेज बन्द गर्दै गयो । नर्सिङ उत्पादन घटाउँदै गयो । चिकित्सा शिक्षा आयोगले १३७ कलेजबाट अहिले ३९ वटा कलेजमा खुम्च्याएको छ । बार्षिक ४ हजार नर्स उत्पादन हुँदा पनि अभाव नै थियो । अहिले घटेर १८०० मा झरेको छ । अहिलेका नयाँ पुस्ताहरु नर्सिङ सक्ने विदेश जाने भन्ने देखिन्छ । यस्तो बेलामा सरकारले तत्काल नसोच्ने हो भने भविस्य त डामाडोल छ,’ उनले भने ।

उनले नर्सहरु अभाव भएकोले दुई तीन सिफ्टमा काम गर्नु पर्ने बाध्यता रहेको समेत सुनाए ।

‘काठमाडौँमा अभाव नहोला, त्यहाँ त कोही विदेश जाने तयारीमाा रहेका बेला पनि जागिर गर्न मिल्ने भयो, केही समय काम गरौँ भनेर पनि आवद्धता होलान, मोफसलमा त विजोक छ । त्यसैले ठूलो संख्यामा माग गरेको हो । राज्यले नर्सिङ जनशक्ति उत्पादन हुने बातावरण बनाउनु पर्छ,’  डा कार्कीले जोड दिए ।

डा कार्कीले अस्पतालमा स्टाफ नर्सको बेसिक तलब नै २२ हजार रहेको र नर्सहरुको ग्रेडका आधारमा उक्त तलब सुविधा थप हुँदै जाने जानकारी दिए। उनले कोही नर्सले पाँच वर्षसम्म जागिर छाड्दिन भनेर सम्झौता गर्छ भने उसको तलब सुरुमै ४५ हजार हुने पनि बताए।

बिराट मेडिकल कलेज पूर्वी नेपालको ठूलो शिक्षण अस्पतालको रुपमा पहिचान बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *