बालरोग विशेषज्ञ डा. खनालले ल्याए साइन्स फिक्सनमा आधारित उपन्यास सावर्णि

काठमाडौँ, ७ असोज । बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सनमा आधारित एआई र रोबोटिक्स उपन्यास सावर्णि बजारमा आएको छ ।

गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा प्राध्यापक अभि सुवेदी, लेखक डा। रवीन्द्र समीर, लेखक सगुना शाह र सावर्णिका लेखक स्वयम् डा. श्रीधर खनालले एक कार्यक्रमकाबीच सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक माथि बिबेचना गर्दै लेखक समीरले अबको युग ‘सावर्णि’ युग भएको बताए ।

‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ । कुनै लेख लेख्नुपरे च्याट जीपीटी छ । एआईको उच्चतम प्रयोगबाट मानिसमा भएको संवेदना, सृजना र आत्मियता हराउँदै जाने र एकदिन ‘हामीलाई एआईले नियन्त्रण गर्ने छ,’ भन्दै लेखक समीरले त्यो भयावह अवस्थाको सुन्दर चित्रण सावर्णि उपन्यासमा पढ्न सकिने बताए ।

एक नव लेखक युवा चिकित्सकले यस्तो विषयमा यति गम्भिर ढंगले पुस्तक लेखेकोमा आफु अचिम्मत भएको उनले बताए ।

उनले भने, ‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट हामी र हाम्रा सन्ततीलाई बचाउने उपायहरु समेत यस पुस्तकले प्रदान गरेको रहेछ यसबाट मैले सन्तोषको सास फेरेको छु ।’

लेखक सगुना शाहले ‘सावर्णि’मा डा. खनालको अध्ययन, प्रस्तुती र कल्पनशिलताको उच्चतम फैलावटबाट आफु रोमाञ्चित भएको बताइन् ।

‘सावर्णि हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा हामी कैयौं पटक बाल्यकालमा पुग्छौं । त्यहि सुन्दर, उत्सुक र निस्फिक्रि संसारमा पुग्छौं । भविष्यको युगमा हाम्रा सन्ततीमाथी हुने नियन्त्रणको प्रभावमा मानिसले भोग्ने छट्पटाहटलाई यो पुस्तकले सुक्ष्म तहमा विवेचना गरेको छ,’ उनले भनिन् ।  शाहले अबको प्यारेन्टिङ कस्तो हुनपर्छ भनेर यस पुस्तकले सचेत गराएउँदा आफु एकहद सम्म ढुक्क भएको पनि बताइन् ।

कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै प्राध्यापक अभि सुवेदीले  मान्छेले सिर्जना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै  यो उपन्यासले विनासको रौद्र रुपमा मात्र होइन् आशाको सुन्दर संकेत समेत गरेको बताए ।

सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको र सम्भवतः एआई र रोबोटिक्स युगकोबारे यसरी लेखिएको यो नेपालको पहिलो उपन्यास नै भएको उनले टिप्पणी गरे ।

‘हाम्रा पौराणिक मान्यता, धर्म ग्रन्थहरुलाई समेत आधार बनाएर कल्पनशिलताको त्यो युग र हामी पछिको एआई नियन्त्रित युगको बर्णन सुन्दर ढंगले प्रस्तुत गर्न सफल भएको  छ, लेखकलाई धेरै बधाई र धन्यवाद भन्न चाहन्छु,’ प्राध्यपक सुुवेदीले भने ।

दैनिक जसो बालबालिकाको अनेकौं समस्यासँग जुध्दै, झेल्दै र समाधान गर्दै आएका बाल चिकित्सक डा. श्रीधर खनालले पछिल्लो समयमा बालबालिकामा देखिएको मनोबैज्ञानिक समस्याहरुलाई सुक्ष्म रुपमा लिएको र त्यसबारे अध्ययन गरिरहेको बताए ।विभिन्न क्षेत्रको अध्ययनको निष्कर्ष स्वरुप आम मानिसलाई मनोरञ्जनात्मक रुपमा भविष्यको दृष्य देखाउन आफुले सावर्णिलाई औपन्यासिक रुप दिएको लेखक डा. खनालले बताए ।

सावर्णि पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *