नेप्लीज सोसाईटी अफ मेडिकल अंकोलोजिष्टमा नयाँ कार्यसमिति, अध्यक्ष बने डा. सुदीप श्रेष्ठ

काठमाडौँ, ३१ भदौ ।  नेप्लीज सोसाईटी अफ मेडिकल अंकोलोजिष्ट (नेस्मो)को अध्यक्षमा बरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठ निर्वाचित भएका छन् । गत शुक्रबार ललितपुरमा सम्पन्न नेस्मोको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष समेत रहेका डा. श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

त्यसरी निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरुमा डा. रोशन प्रजापति उपाध्यक्ष, डा. अजय झा सचिव र डा. सुस्मिता शर्मा कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यहरुमा डा. राजिव देव, डा. सचिन शाक्य, डा. रमिला सिल्पाकार डंगोल, डा. लिजा कोशिन र डा. विवेक कंडेल रहेका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

अध्यक्षमा निर्वाचित भएपछि बोल्दै डा. श्रेष्ठले क्यान्सर उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि संगठनले सम्वन्धित निकायलाई मार्गनिर्देश गर्ने बताए । ‘मेडिकल अंकोलोजिष्टहरुको लागि ‘रिकगनाइजेसन’ गर्न, युवापुस्ताका मेडिकल अंकोलोजिष्टलाई अवसरहरु दिन तथा क्यान्सर उपचारका लागि मेडिकल अंकोलोजिष्ट बन्ने वातावरण निर्माणका लागि काम गर्नुपर्ने छ,’ अध्यक्ष डा. श्रेष्ठले भने ।

उनले क्यान्सर उपचारमा औषधिको महत्व एकदमै रहेको भन्दै नेपालको पुरानो औषधि नीतिका कारण बेलाबखत समस्या हुँदै आएको बताए ।

‘भारतमा आएको औषधि नेपालमा सहज रुपमा आउन ३-४ वर्ष लाग्छ तर यो अवधीमा थुप्रै नयाँ औषधि आईसक्छ । बिरामीहरु उपचारका लागि भारत जानुको एउटा कारण यो पनि हो । यसैले औषधिको सहज उपलव्धताका लागि नीतिगत तहलाई झक्झक्याउनु र ध्यानाकर्षण गराउनु हाम्रो दायित्व हो भनेका छौँ । त्यसबाहेक क्यान्सर रोगको उपचारमा भएका नयाँ नयाँ अनुसन्धान विकासलाई नेपालमा भित्र्याउने र बिरामीहरुलाई त्यसको लाभ प्रदान गर्नका लागि सहयोग गर्ने काम पनि हाम्रो कमिटिले गर्नेछ,’ डा. श्रेष्ठले थपे ।

उनले अहिले नेस्मोमा ४० जना भन्दा बढी सदस्य रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *