‘स्वास्थ्य संस्थामा हुने कमजोरी हटाउन अनुगमन बढाउन आवश्यक’

काठमाडौँ, ३० भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य संस्थामा हुने कमजोरी हटाउन अनुगमन बढाउनुपर्ने बताएका छन् ।

जनस्वास्थ्य कार्यालय काठमाडौँको आयोजनामा आज (आइतबार)बाट सुरु भएको दुई दिने बार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले  स्वास्थ्य क्षेत्र अति नै सम्वेदनशील क्षेत्र हो भन्दै यसका कमी कमजोरी हटाउन अनुगमनलाई तिब्रता दिनु पर्ने बताए । उनले बागमती प्रदेश अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थामा कमी कमजोरीहरु धेरै रहेको गुनासो आइरहेको भन्दै त्यसलाई सुधार गर्न जनस्वास्थ्य कार्यालयसंगै स्थानीय तहले सक्रियता बढाउनु पर्ने बताए ।

उनले काठमाडौँ सबैभन्दा धेरै अस्पताल भएको जिल्ला भएकोले स्वास्थ्य संस्थामा कमीकमजोरी सार्वजनिक भइरहेको भन्दै स्वास्थ्य संस्थाले आफ्नो कमीकमजोरीहरुलाई सुधार गर्नका लागि सुझाव दिए ।

जनस्वास्थ्य कार्यालय काठमाडौँले विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा निकै राम्रो प्रगति हाँसिल गर्न सकेको भन्दै मन्त्री थापाले हाल फैलिरहेको डेङ्गु, झाडापखाला, हैजा, जापानिज इन्सेफ्लाइटिस लगायतका महामारीजन्य रोग नियन्त्रणमा लाग्न निर्देशन दिए । एक प्रसंगमा उनले बागमती प्रदेशमा अझै स्वास्थ्य सम्बन्धि ऐन पास नहुँदा धेरै अस्पतालहरुलाई समस्या परेको भन्दै उक्त ऐन संसदबाट पास हुने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक दीपक तिवारीले सरुवाजन्य रोगमा काठमाडौँ अन्य जिल्लाभन्दा धेरै जोखिम जिल्ला भएको बताए । उनले उपत्यका महामारीको जोखिममा रहेको भन्दै त्यसलाई रोक्न काठमाडौँ जनस्वास्थ्य कार्यालयको भूमिका महत्वपूर्ण हुने बताए । उनले जनस्वास्थ्य कार्यालय काठमाडौँले समयमै वार्षिक समीक्षा गरेर यसपटक उदारणीय काम गरेको बताए ।

यता काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन प्रसाद सापकोटाले काठमाडौमा स्वास्थ्यमा धेरै चुनौती रहेको बताए । उनले घना बस्तीको कारण, ७७ वटै जिल्लाबाट उपचारको लागि उपत्यका आउने कारण महामारीजन्य रोग फैलिरहेको जानकारी दिए । ‘काठमाडौँमा कार्यक्रमहरु सञ्चालन गर्न निकै नै कठिन छ तर हामी चुनौतीका बीच कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौँ । यसमा स्थानीय तहको पनि उत्तिकै सहयोग र समन्वय रहेको छ,’ उनले भने ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालले स्वास्थ्यमा सुधार गर्नको लागि अन्य क्षेत्रको प्रभावकारी भूमीका आवस्यक हुने बताए । उनले काठमाडौँ संघीय राजधानी भएको जिल्ला समेत रहेकोले यस जिल्लाको गतिविधिले देशभरका जिल्लालाई प्रभाव पार्ने बताए । उनले प्रदेश र स्थानीय तहका अस्पतालको मात्रै नभई राजधानीले संघीय अस्पतालको समेत विवरण राख्नसके राम्रो हुने भन्दै त्यसतर्फ लाग्न समेत सुझाव दिए ।

काठमाडौँ महानगरपालिकाकी जनस्वास्थ्य शाखा प्रमुख सजिना महर्जनले काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा गरेको कार्यप्रगति विवरण प्रस्तुत गरेकी थिईन ।  उनले खोप लगायतका स्वास्थ्यका कार्यक्रम सञ्चालनमा महानगर सफल भए पनि कतिपय वित्तिय प्रगति अपेक्षा अनुरुप हुन नसकेको बताईन् ।

कार्यक्रममा टोखा चण्डेश्वरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा श्रीधर अर्यालले अस्पतालले दिएको सेवा, देखिएका चुनौती र भावि योजना प्रस्तुत गरेका थिए ।

जनस्वास्थ्य कार्यालय काठमाडौँकी तथ्यांक अधिकृत सारदा चापागाईंले हालसम्म काठमाडौँबाट स्वास्थ्य क्षेत्रमा गरिएका उपलब्धीबारे विस्तृत विवरण सहितको प्रस्तुतिकरण दिएकी थिईन ।

यसैबीच आईतवार उद्घाटन सत्रमा लामो समय स्वास्थ्यमा काम गरी भर्खरै सेवा निवृत्त भएका जनस्वास्थ्य अधिकृत तुलसीप्रसाद सुवेदीलाई सम्मान तथा विदाई कार्यक्रम राखिएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्री थापा र जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा सापकोटाले सुवेदीलाई प्रमाणपत्र तथा मायाको चिनो उपहार प्रदान गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *