नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा जैनुद्धिन अन्सारी निर्वाचित

काठमाडौँ, २९ भदौ । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) जोरपाटीको अध्यक्षमा प्राडा जैनुद्धिन अन्सारी निर्वाचित भएका छन्। कलेजको शुक्रबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले प्राडा अन्सारीलाई चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

यसअघि कलेजमा लामो समय अध्यक्षको जिम्मेवारी डा भोला रिजालले सम्हालेका थिए ।

साधारणसभाले प्राडा अन्सारीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । त्यसरी निर्वाचित हुनेहरुमा निवर्तमान अध्यक्ष डा रिजालसंगै डा आनन्द प्रसाद श्रेष्ठ, डा साविहा यासमिन, शाहनवाज अन्सारी रहेका छन् । डा साविहा र शाहनवाज डा जैनुद्धिनका छोरी र छोरा हुन् ।

अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्राडा अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । आफू मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताए । ‘पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु,’ उनले भने ।

हुन पनि डा. अन्सारी वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका पनि अध्यक्ष हुन् । उनले सो कलेजको लामो समय देखि नेतृत्व गर्दै आएका छन् ।

एनएमसीमा अन्सारी परिवारको झण्डै ५७ प्रतिशत शेयर रहेको छ । बहुमत शेयरवाला अध्यक्ष हुने प्रावधान अनुसार नै अधिकतम शेयरवाला अन्सारी नेतृत्वमा आएका हुन् । यसअघि उनी त्यहाँ मेडिकल डाइरेक्टर थिए ।

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा उत्साहजनक सुधार भएको बताउँदै प्राडा अन्सारीले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटी, एमआरआई लगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरु विस्तार गर्ने बताए । ‘तपाईहरु धैर्य गर्नुहोस् नेपाल मेडिकल कलेज आगामी दिनमा अझ राम्रो बनाएर लैजान्छौं ।’ प्राडा अन्सारीले कलेज स्थापनामा योगदान पुर्‍याउने संस्थापकहरुलाई धन्यवाद दिँदै भने ।

यस्तै साधारण सभामा बोल्दै कलेज सञ्चालक सदस्य डा. भोला रिजालले संस्थापक अध्यक्ष डा सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विस्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गरे ।

अर्का सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले प्राडा अन्सारी नेतृत्वको टीमले कलेजको व्यवस्थापन संहालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको बताए

अर्का सञ्चालक सदस्य तथा डाइरेक्टर डा. साविहा यासमिनले कलेज व्यवस्थापनको जिम्मेवारीमा आफुहरु रहेपछि संस्थालाई सही ढंगले सञ्चालन गर्न सम्पूर्ण शेयर सदस्य, डाक्टर, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेकोले आवश्यक सल्लाह सुझावहरु दिइरहन अनुरोध गरिन । उनले कलेजको ३ वर्षयता सुधारका धेरै कामहरु भएको बताउँदै भनिन्, ‘हामीले ३ वर्षको अवधिमा व्यवस्थापकीय र स्वास्थ्य सेवामा सुधार गरेका छौं । फिलिप्सको क्याथ ल्याब सुरु गर्न गइरहेका छौं । सिटी र एमआरआई पनि सुरु गर्न गइरहेका छौं । डेण्टलको नयाँ भवन सुरु भइसकेको छ । नेपाल मेडिकल कलेजमा काम गर्दा मैले जुन साथ र सहयोग पाइरहेको छु भविष्यमा पनि पाउने आशा गरेको छु ।’

कलेजका सञ्चालक समिति सदस्य शाहनवाज अन्सारीले नेपाल मेडिकल कलेजको विकास, बिस्तार र व्यवस्थापनमा सबैको उत्तिको ठूलो भूमिका रहने बताउँदै ३ वर्षको दौरानमा पाएको साथ र सहयोग आगामी दिनमा पनि प्रदान गर्न गरे । आफुहरु सदैव सकारात्मक सोच बोकेर अगाडी बढ्ने बताउँदै उनले सञ्चालक सदस्यहरुसँग सम्पूर्ण कलेज परिवारबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरे ।

विसं २०५४ साल फागुन २५ गते स्थापना भएको एनएमसीमा मेडिकल शिक्षाका एमबीबीएस, बीडीएस, एमडीएमएस, एमडीएस, बिएस्सी नर्सिङ, एमएस्सी नर्सिङ लगायतका विषयमा पढाई हुने गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *