सुरु भयो सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट नेपालको नवौँ राष्ट्रिय सम्मेलन :

नाक, कान, घाँटी रोग उपचारलाई प्राथमिकतामा पार्न नीतिगत सुधार आवश्यक : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, २८ भदौ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नाक, कान, घाँटीरोग उपचारलाई प्राथमिकतामा पार्न नसकिएको बताएका छन् ।

शुक्रबार सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्ने क्रममा मन्त्री पौडेलले यसलाई प्राथमिकतामा राख्न नीतिगत तहमा के गर्न सकिन्छ, त्यसका लागि आफू तयार रहेको बताए । उनले नीतिगत सुधारका लागि विज्ञहरुसंग आग्रह गर्दै खाका लिएर आफूकहाँ आउन आग्रह समेत गरे ।

‘राज्यले, स्वास्थ्य संस्थाहरुले त्यसरी प्राथमिकतामा राखेर अघि बढ्न सकिरहेको छैनौ । मत केही महिनाअघि मात्रै मन्त्री भएको मान्छे,’ मन्त्री पौडेलले भने, ‘यसका बारेमा विशेषज्ञ पनि तपाईहरू, विज्ञ पनि तपाईहरू जानेको मान्छे पनि तपाईहरू के गर्दा प्राथमिकतामा पर्छ नीतिगत रुपमा कसरी सम्बोधन गर्नुपर्छु त्यसको खाका हामीलाई दिन अनुरोध गर्छु ।’

यसका जनशक्तिलाई व्यवस्थित ढंगबाट परिचालन गर्ने, अस्पतालहरूमा युनिटहरु राख्ने, यसको व्यवसायीकरणको विकास कसरी गर्ने ? भन्ने बारेमा स्पष्ट दृष्टिकोण ल्याउन समेत मन्त्री पौडेलले आग्रह गरे ।नेपालमा सीमित साधन, स्रोतका बाबजुद प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि नीतिगत रुपमा काम गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले चिकित्सा सेवामा नाक कान घाटी विधा महत्वपूर्ण विधा हो भन्दै यसलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताए । उनले कहाँ निर ‘ग्याप’ छ भन्ने बारेमा खोज गर्नु पर्ने आवश्यकता रहेको भन्दै यस्ता सम्मेलनले ती अभावलाई पूर्ति गर्न मद्धत गर्ने बताए ।

सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट नेपालका अध्यक्ष डा. दीपेन्द्र श्रेष्ठले नेपालमा इएनटीको उपचारका क्षेत्रमा विस्तारै प्रगति हुँदे गएको भन्दै नयाँ नयाँ प्रविधि र विकास क्रमलाई टिपेर नागरिकको उपचारमा लाग्नु पर्ने बताए । उनले कार्यक्रममा सहभागि भएकोमा स्वदेश तथा विदेशका चिकित्सकहरुलाई धन्यवाद दिए ।

त्यसअघि सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट नेपालका महासचिव डा. योगेश न्यौपानेले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यबारेमा जानकारी गराएका थिए । उनले नाक कान घाटी रोगका क्षेत्रमा भएका नयाँ नयाँ अनुसन्धान, विकास र गरेका कामको अनुभव आदान प्रदान गरी विषयलाई थप परिस्कृत गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको भन्दै यस तर्फ आफूहरु सफल हुने विश्वास व्यक्त गरे ।

दुई दिने सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र इजिष्टबाट विज्ञ चिकित्सक तथा आवासीय चिकित्सक समेत गरी करीव ३०० जनाको सहभागिता रहेको महासचिव डा. न्यौपानेले बताए ।

यो सम्मेलन हरेक दुई दुई वर्षमा हुने सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट नेपालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *