स्वदेशी औषधि उत्पादकलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, २८ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालय र औषधि एक अर्काका प्रतिद्वन्द्वी नभएको बताएका छन् । नेपाल औषधि उत्पादन संघ (एपोन)को ३० औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो धारणा राखेका हुन् ।

औषधि उत्पादक र स्वास्थ्य मन्त्रालयबीच द्वन्द्व गर्नुपर्ने कुनै छैन, औषधि उत्पादक व्यवयायी र स्वास्थ्य मन्त्रालय आमुन्ने–सामुन्ने होइनन्’ सम्वोधनका क्रममा मन्त्री पौडेलले भने, ‘नदीको दुई किनारजस्तो होइनन् । द्वन्द्व गर्नुपर्ने कुनै कारण छैन।’

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने अहिलेको आवश्यक भएकाले सरकार औषधि उद्योगको उन्नति र विकासका निम्ति बाधा नबन्ने उनले बताए ।

‘विदेशी कम्पनीसँग मिल्नुपर्ने कुनै कारण छैन’ मन्त्री पौडेलले भने, ‘राष्ट्रिय उत्पादकसँगै मिलेर वृद्धि, विकास गर्न दिनुपर्ने, नागरिकको पनि सेवा गर्ने , नागरिकलाई पनि सजिलो, सहज, गुणस्तरीय औषधि कसरी उत्पादन गर्न सकिन्छ त्यसको बारेमा चिन्ता गर्नुपर्ने हाम्रो दायित्व हो ।’

नेपाली औषधि व्यवसायीलाई कसरी प्रोत्साहित गर्नुपर्छ ?, यहीँ उत्पादन भएको औषधिलाई कसरी खपत गर्न सकिने परिस्थिति कसरी बनाउन सकिन्छ ? त्यसका लागि कस्तो नीति बनाउने ? त्यसमा आफू तयार रहेको उनले बताए ।

‘आवश्यक नीति निर्माण कसरी गर्ने हो, त्यसका लागि हामी तयार छौँ । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न, नीतिगत पैरवीका लागि तयार छौँ’ मन्त्री पौडेलले प्रतिवद्धता जनाए ।

स्वेदशी उत्पादनबाट सस्तो, गुणस्तरीय र सर्वसुलभ औषधि कसरी दिन सकिन्छ भन्ने विषयमा सोच्न उनले उद्योगीहरुलाई आग्रह समेत गरे ।

मन्त्री पौडेलले उद्योगीहरुलाई आफू, आफ्नो उद्योगसँगै नागरिकको बारेमा पनि चिन्ता लिन आग्रह गरे । उद्योगी र राज्य अलग कुरा नभएको र उद्योगी पनि राज्यभित्रै पर्ने मन्त्री पौडेलले बताए ।

आवश्यक छ भनेर नै आफैले औषधि ऐन निजी रुपमा संसदमा प्रवेश गराएको पौडेलले जानकारी दिए । औषधि क्षेत्रका सबै विषय समेटेर नागिरकलाई लाभ हुने गरी ऐन बनाइने प्रतिवद्धता उनले जनाए ।

विधेयकमा पनि स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने कुरा स्पष्ट उल्लेख गरेको पनि मन्त्री पौडेलले जानकारी दिए ।

औषधि उद्योगीको जेडीपी र आर्थिक क्षेत्रमा पनि योगदान गरेको भन्दै उनले  विदेशमा खपत गर्न गर्ने अवस्था बनाउनका लागि नीतिगत व्यवस्था गर्न तयार रहेको पनि मन्त्री पौडेलले बताए ।

कार्यक्रममा नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष महेश प्रधानले औषधि उद्योगहरु धरासायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपालका औषधि उद्योगमा ७०–८० अर्ब लगानी भएको तर त्यो अनुसार व्यापार नहुँदा घाटा व्यहोर्न बाध्य भएको गुनासो प्रधानको छ । उनले ४० वर्ष पहिले औषधि उद्योग खोल्ने लहर भएजस्तै अहिले निरन्तर बन्द हुने क्रम चलिरहेको उनले बताए । ‘नेपाली औषधि उद्योगको व्यापार पनि निरन्तर ओरालो लागिरहेको छ ७०- ८० अर्व लगानी छ तर व्यापार ३५ अर्वबाट घटेर २९ अर्वमा खुम्चिएको छ,’ प्रधानले भने ।

नेपालमा लामो समय औषधिको मूल्य वृद्धि नहुँदा पनि उद्योगी मारमा परेको प्रधानको दावी छ । अहिलेकै क्रममा उद्योग बन्द भइरहने हो भने केही वर्षमै ८–१० उद्योग मात्रै बाँकी रहने उनले बताए ।  राज्यले सहयोग गरिदिएमा उद्योगलाई टिक्न सहज हुने प्रधानको भनाई छ । ‘राज्यले अलिकति माया गर्दियो, अलिकति हेर्दियो भने अगाडि जान सकिन्छ’ प्रधानले भने ।

सरकारले वातावरण बनाइदियो भने विदेशमा समेत औषधिको व्यापार गरेर विदेशी मुद्रा भित्र्याउन आफूहरु सक्षम भएको अध्यक्ष प्रधानले दावी गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले धेरै उद्योगीहरुले एउटै खालको औषधि उत्पादन गर्ने अनि बजार पाइएन भन्ने गुनासो गर्ने गरेको बताए । यसमा सुधार गर्न उनले आग्रह गरे ।

औषधि मार्केटिङलगायत अन्य शीर्षकमा धेरे खर्च गर्ने र त्यसको भर्पाइका लागि गुणस्तरमा सम्झौता गर्ने कार्य रोक्न पनि ढकालले आग्रह गरे । नेपाली औषधिको खपतमा त्यस्तो निराशाजनक अवस्था नरहेको उनको दावी छ ।

जनताको भलाईलाई केन्द्रमा राखेर औषधि उद्योगहरुसँग सहकार्य गर्न जहिल्यै तयार रहेको र सहकार्य भइरहेको पनि ढकालले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उद्योगहरुको क्षेत्रमा औषधि उद्योग प्रमुख उद्योगको सूचीमा रहेको भन्दै यसलाई राज्यले सहजीकरण गरेर समृद्धि बनाउने तर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की, निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदम खड्का, नेपाल औषधि व्यावसायी संघ (एनडीसीए)का अध्यक्ष प्रकाश खण्डेलवाल, पूर्व अध्यक्षहरुको तर्फबाट जी नारायणबहादुर क्षेत्री, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *