गङ्गालाल हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडौँ, २५ भदौ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्र आफ्नै स्रोतबाट गर्नेछ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।

सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूआत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *