सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस - २०२४

आत्महत्याको डरलाग्दो तथ्य : दैनिक २० जना नेपालीले ज्यान गुमाउँछन्

काठमाडौँ, २५ भदौ । कल्पना गर्नुहोस् त, ‘२० जना यात्रु बोकेको मिनिबस त्रिशुली नदिमा खसेर आज बेपत्ता छ, यो आज मात्रै होइन पछिल्लो एक वर्ष देखि हरेक दिन यसैगरी खसेको छ र वेपत्ता भएको छ,’ के हुन्थ्यो होला ?

हो नेपालको आत्महत्याको दरले बढाएको मृत्युको संख्या यस्तै छ । यो रोक्न वा नियन्त्रण गर्न सकिने मृत्यु हो तर सकिरहेको छैन जसरी गाडी दुर्घटनालाई रोक्न वा नियन्त्रण गर्न सकिन्छ ।

नेपालमा  हरेक दिन २० जनाले आत्महत्या गर्दछन् ।  हरेक दिन २० जना यात्रु बोकेको मिनिवस दुर्घटनामा परी नदिमा बेपत्ता भए जस्तै ।

आत्महत्याका कारणहरु विविध हुन सक्छन्, तर यसरी ज्यान गुमाउनेको संख्या नेपालमा झन् झन् बढ्दो क्रममा छ ।

आत्महत्या रोक्न सकिने मृत्यु हो । आत्महत्या गर्ने व्यक्तिले देखाउने व्यवहार, संकेतलाई समयमै बुझ्न सकेमा रोक्न सकिने विज्ञहरु बताउँछन् तर त्यसो हुन सकेको छैन ।

नेपाल सरकारले सन् २०३० सम्ममा आत्महत्याको दर प्रति लाखमा ४.७ जना झार्ने भनेको छ तर अहिले प्रतिलाखमा २५ रहेको छ । पछिल्लो ९ वर्षको तथ्यांक हेर्दा नेपालको आत्महत्या गर्ने दर बढ्दो क्रममा छ ।

नेपाल प्रहरीले तीनवर्ष अघि सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका थिए, आर्थिक वर्ष ०७९/०८ मा ६ हजार ९९३ जनाले र गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।

नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आशिष दत्त आत्महत्याको अवस्था नेपालको सन्दर्भमा भयावह भएको बताउँछन् । उनी भन्छन, ‘१५ देखि ४५ वर्ष उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको देखिएको छ । कृषि पेशामा लागेकाहरु, विद्यार्थीहरु बढी आत्महत्यामा सम्लग्न भएको पाइएको छ । गरीव, दलित र पछाडी परेका वर्गहरु पनि यस्तो कार्यमा बढी लागेको पाइएको छ ।’

पाटन अस्पतालका मानसिक रोग विज्ञ डा बासुदेव कार्की भन्छन्, ‘आत्महत्या गर्ने व्यक्तिले केही दिन देखि नै संकेतहरु दिने गर्दछन तर त्यसलाई बुझेर सम्झाउन सकेमा त्यो दुर्घटना हुँदैन ।’

उनले निराशाका कुरा गर्ने, मर्न मन लागेको कुरा गर्ने जस्ता संकेतहरु दिने भन्दै समयमै उनका कुरा सुनिदिने र सम्झाउने गर्न सकेमा सोच बदलिने बताए । जीवनप्रति नैराश्यता अनुभव गर्ने व्यक्ति र युद्ध हिंसा आघात जस्ता घटना, लान्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरुमा पनि आत्महत्या गर्ने सम्भावना बढी हुने उनी बताउँछन् ।

यसैबीच आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्याबारे संवाद सुरु गरौँ: दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे दिवस मनाउनुको मुख्य कारण आत्महत्या रोकथामका लागि सचेतना अभिबृद्धि यससंग सम्वन्धित लान्छना न्युनिकरण र विश्वव्यपी रुपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरुलाई प्रोत्साहन गर्नु रहेको बताउँछन् ।

हुन पनि विश्वमा मृत्युको २० प्रमुख कारणमध्ये आत्महत्या पनि एक रहेको छ । विश्वमा हरेक वर्ष करीव ७ लाख व्यक्तिहरुले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभई सो व्यक्तिसंग सम्वन्धित १३५ जनालाई पनि आघात पुग्ने अनुसन्धानले देखाएको छ ।

आत्महत्याको कारण बहुआयामिक हुन्छ तर यसको बढी सम्वन्ध मानसिक स्वास्थ्य समस्या संग जोडिएको पाइन्छ । आत्महत्या गर्ने ६८ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्य समस्या भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा उदासिनताको रोग (डिप्रेसन) मुख्य कारण भएको पाइएको छ । त्यसो त सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ तयार गरी काम पनि गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *