कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोहमा अन्तिम समयमा स्थगित

दीक्षान्तका लागि नयाँ मिति २८ कात्तिकका लागि तोकियो

काठमाडौँ, २३ भदौ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो ।

‘अन्तिम समयमा कुुलपति सहभागी हुन नसक्ने जानकारी आयो । त्यसपछि स्थगित गर्नुको विकल्प रहेन,’ प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले भने । उनले आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने जानकारी दिए ।

प्रतिष्ठानले मध्यरात १२ बजे सूचना जारी गर्दै दीक्षान्त समारोह स्थगित भएको घोषणा गरेको थियो । स्रोतका अनुसार शनिबार राती १० बजे प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने भन्दै दीक्षान्त समारोह स्थगित गर्न लगाएका थिए । प्रधानमन्त्री ओलीले नै अर्को दीक्षान्त समारोह २८ कात्तिकका दिन राख्न उपकुलपतिलाई निर्देशन दिएका हुन् ।

‘यता हाम्रो सबै तयारी पुरा भएको थियो । राती मात्र विशेष कारणवस कुलपति ज्यू आउन नमिल्ने जानकारी आयो । त्यसपछि कार्यक्रम रद्ध गर्नु परयो,’ उपकुलपति डा. रावलले भने ।

यसपटक प्रथम दीक्षान्त समारोहमा कुल ५६ जना दीक्षित हुँदै थिए । स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो व्याच गरी ३८ जना, बीएमएसमा पनि दुई ब्याचको गरी १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपी ३ जना, एमडी एनेस्थेसिया र पेडियाट्रिकमा १ गरी कुल ५ जना थिए । ती मध्ये शनिबारसम्म २७ जना जुम्ला पुगिसकेका थिए ।

उपकुलपति डा रावलले दीक्षान्त समारोह नभएपनि पूर्व सूचना अनुसारको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट प्राप्त इएमआर सिस्टम हस्तान्तरण कार्यक्रम भने आज सम्पन्न हुने बताए ।

तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालन हुने जुम्लाको आँखा उपचार केन्द्र उद्घाटन गर्न बरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुईत तथा तिलगंगाका प्रतिनिधिहरु जुम्ला पुगिसकेका छन् ।

यस्तै स्वास्थ्य सचिव डा. रोशन पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा तथा मन्त्रालयका प्रतिनिधिहरु पनि शनिबार नै जुम्ला पुगेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *