सुर्ती उद्योगबाट प्रायोजित साहित्यक सम्मेलनको उद्घाटन गर्न पुगे प्रज्ञा प्रतिष्ठानका कुलपति राई

उद्घाटन पछि भने, मलाई त कानुनबारे थाहा नै भएन

काठमाडौँ, २२ भदौ । सुर्तीजन्य पदार्थ उत्पादक सूर्य नेपाल प्रालिले प्रयोजन गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई सहभागी भएका छन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको कार्यक्रममा सार्वजनिक निकायका पदाधिकारीको सहभागिता निषेध गरेको छ।

कानुन विपरित राई प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कार्यक्रममा सहभागिता अस्वीकार गरेपछि कुलपति राईलाई प्रमुख अतिथि बनाइएको हो।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’

उपकुलपति राईले आफूले कानुनबारे ख्याल नगरी सहभागी भएको बताए । `मैले खासमा ख्याल नै गरेनछु, साहित्यिक कार्यक्रम भनेर निमन्त्रणा भयो । उद्घाटन गरेर आएँ । अहिले तपाईँहरुले भनेपछि बल्ल थाहा भयो । अब देखि सचेत हुन्छु´ राईले भने ।

फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोगमा हुने यस्ता कार्यक्रममा सार्वजनिक व्यक्तित्वको साझेदारिता र सहभागिता रोकेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *