सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालको प्रायोजनमा हुने साहित्य सम्मेलनमा पर्यटनमन्त्री पाण्डे नजाने

सुर्तीजन्य पदार्थको प्रायोजन भन्ने थाहा थिएन, थाहा पाएपछि सहभागी हुन नसक्ने जानकारी गराएँ : मन्त्री पाण्डे

काठमाडौँ, २१ भदौ । ललितपुरस्थित होटल हिमालयमा हुने काठमाडौं कलिङ लिटरेरी फेस्टिबल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे नजाने भएका छन्। सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालको प्रायोजनमा हुने कार्यक्रममा आफू उपस्थित नसक्ने जानकारी आयोजकलाई गराएको उनले बताएका छन्।

यसअघि आयोजकले उनलाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याएको थियो । त्यसलाई उनले स्विकारेका पनि थिए ।

‘अन्तराष्ट्रिय स्तरको दुई दिने साहित्यिक सम्मेलन रामै हो भनेर पहिले मैले आयोजकलाई आउँछु भनेको थिएँ । तर त्यहाँ सुर्तीजन्य पदार्थ उत्पादक गर्ने कम्पनी प्रायोजक रहेछ । त्यो मलाई पहिले थाहा पनि थिएन । जतिखेर थाहा पाएँ । आयोजकलाई जानकारी गराएँ । कानून भन्दा माथि कोही छैन । त्यसैले मैले उपस्थित हुने कार्यक्रम रद्ध गरिदिएँ’ मन्त्री पाण्डेले नेपाली हेल्थसंग भने ।

मन्त्रीको यो निर्णयले सुर्ती उत्पादकको प्रायोजनमा कुनै पनि कार्यक्रम गर्न मिल्दैन भन्ने सन्देश गएको छ तर आयोजकले अझ पनि कार्यक्रममा सूर्यको प्रायोजनलाई नै राखेर निरन्तरता दिने योजनामा देखिएको छ ।

यो कार्यक्रम कानुन विपरित छ । गर्न मिल्दैन भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिकालाई समेत पत्र पठाइसकेको छ । भोली देखि सुरु हुने भनिएको यो कार्यक्रममा स्थानीय सरकार र स्थानीय प्रशासनले कस्तो ‘एक्सन’ लिन्छन् । त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले मन्त्री पाण्डेको पछिल्लो कदमलाई स्वागत गरेको छ ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कार्यक्रमको प्रमुख अतिथि बनिसकेको व्यक्तिले कानूनको पालना स्वरुप कार्यक्रम बहिस्कार गर्नु राम्रो काम हो भन्दै प्रसंशा गरे । उनले स्थानीय प्रशासन र स्थानीय सरकारले पनि कानुनविपरितको कार्य रोक्नका लागि आफ्नो अधिकार प्रयोग गर्नुपर्ने धारणा राखे ।

कानूनमा के छ ?

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’

यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न किन आवश्यक छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ अर्थात् प्रति घण्टा ४ जना भन्दा धेरै मानिसहरुले ज्यान गुमाईरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ ।

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने किसिमका रोगहरु जस्तै क्यान्सर, श्वासप्रश्वास सम्वन्धि रोगहरु लगायत विभिन्न मुटु सम्बन्धि रोगहरु लाग्ने गर्दछ ।

त्यसलाई नियन्त्रण गर्न सरकारले १३ वर्ष अघि सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत कार्यान्वनमा ल्याइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालको प्रायोजनमा हुने साहित्य सम्मेलनमा पर्यटनमन्त्री पाण्डे नजाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *