औषधि, न्युट्रास्युटिकल प्रडक्ट र स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेललाई संसदीय समितिको निर्देशन

काठमाडौँ, २१ भदौ । औषधि न्युट्रास्यिुटिकल प्रडक्ट र स्वास्थ्य बीमाका विषयमा केन्द्रीत रहेर स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई संसदीय समितिले दुई बुँदे निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मन्त्री पौडेललाई स्वास्थ्य र जनसंख्या व्यवस्थापनसम्बन्धी निर्देशन दिइएको हो ।

समितिले स्वास्थ्यमन्त्री पौडेललाई औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन, बिक्री–वितरण लगायतका कार्यलाई नियमन गर्न निर्देशन दिएको छ । साथै दर्ता नभएका पोषण परिपुरकहरूको जथाभावी बिक्री–वितरण भइरहेको गुनासो आएकोले प्रभावकारी अनुगमन गरी नियमन गर्न पनि समितिको निर्देशन छ ।

यस्तै स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्न र यसअन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक पर्ने सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न पनि समितिले मन्त्रीलाई आग्रह गरेको छ ।

यसैगरी अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाई आम नागरिकले सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गराउन आफूले विगतमा दिएका निर्देशनहरूको कार्यान्वयनको प्रगति विवरण १० दिनभित्र उपलब्ध गराउन पनि समितिले स्वास्थ्यमन्त्री पौडेल​लाई निर्देशन दिएको छ ।

बैठकमा मन्त्री पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् ।

उनले भने, ‘राज्यले उपचारका लागि पनि विभिन्न शीर्षकमा खर्च गरिरहेको छ । हाम्रो उद्देश्य यी सबैलाई एकीकृत प्रणालीमा राखेर थप श्रोतको खोजी गर्ने हो ।’ उनले श्रोत सुनिश्चिततासँगै बीमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बीमा प्रभावकारी बन्ने बताए ।

हालको १ लाख बीमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बीमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताए । यस्तै उनले औषधि क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि मन्त्रालय लागि परेको बताए । मन्त्री पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँगसमेत आग्रह गरे ।

यस्ता छन् समितिले दिएको दुई बुँदे निर्देशनः

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *