यो वर्ष १६ लाख बढी बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ दिईदै

खोप सहयोगका लागि गाभीसंग भयो सम्झौँता

काठमाडौँ, २० भदौ ।  सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप देशभरका बालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा सरकारले आगामी माघ महिना भित्र १६ लाख ८८ हजार डोज खोप ल्याई १० देखि १४ वर्ष उमेर समूहका सबै बालिकाहरुलाई एचपीभी खोप लगाउने भएको हो ।

यस वर्ष १० देखि १४ वर्ष उमेर समूहका सबै बालिकाहरुलाई नछुटाई खोप दिएपछि अर्को वर्ष देखि नियमित खोप कार्यक्रममा समावेश गरी १० वर्ष उमेरका बालिकाहरुलाई मात्रै दिने योजना सरकारको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार आउँदो माघ महिना भित्र १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी बालिकाहरुलाई एचपीभी खोप लगाउनका लागि आवश्यक परिमाणमा खोप आउँदै छ । ‘केही दिन अघि मात्रै एचपीभी खोप खोप ल्याउने गरी गाभीसंग सम्झौँता भएको छ,’ खोप शाखा प्रमुख डा. अभियान गौतम भन्छन्, ‘यो पटक १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई खोप दिई सकेपछि अर्को वर्ष नियमित खोप कार्यक्रममा एचपीभी पर्ने र १० वर्ष उमेर समूहका ३ लाख २० हजार बालिकाहरुलाई यो खोप दिइने छ ।’

त्यसो त गतवर्ष वर्ष पनि सरकारले २० हजार डोज खोप ल्याई सातै प्रदेशका अस्पतालबाट १४ वर्ष उमेरका करीव १० हजार बालिकारुलाई खोप दिएको थियो । त्यसबेलाको अभियानलाई ‘डेमोस्ट्रेसन’ भनिएको थियो । अब भने देशव्यापी अभियान हुने हो ।

खोप शाखा प्रमुख डा. गौतमले माघ महिनामा सुरु हुने अभियान विद्यालय केन्द्रीत हुने बताए । उमेर समूह १० देखि १४ वर्षका बालिका कक्षा ६ देखि १० सम्मका हुन सक्छन् भन्ने अनुमान छ । विद्यालयमै खोप केन्द्र तयार गरी यो अभियान सञ्चालन गर्दछौँ । डा गौतमले भने ।

अब आउने एचपीभी खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्ड नेममा उत्पादित खोप हो । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यो खोपका लागि सरकारको पनि थोरै लगानी रहने बताइएको छ । ‘नेपाल सरकारको सह लगानी र गाभीको सहयोगमा खोप आउने हो,’ डा गौतमले भने ।

एचपीभी खोप किन आवश्यक ?

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा अरुण शाही किन आवश्यक छ भनेर प्रश्न गर्नु अघि एचपीभीबारे जान्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।

यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।,’

उनका अनुसार विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एचपीभी खोपहरुमा अहिले सर्भरिक्स, गाडासिल, गाडासिल –९, र सिकोलिन ब्राण्डका चारवटा खोपहरु आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *