फेरिएको ‘टेकु अस्पताल’

काठमाडौँ, २० भदौ ।  कोभिड -१९ को महामारी अघिसम्म टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) रेविजबिरुद्धको खोप लगाउने केन्द्र जस्तै लाग्दथ्यो ।

कहिलेकाँही झाडापखला, डेंगीका केस थपिन्थे र अस्पतालमा भर्ना भएरै बिरामीले उपचार सेवा लिन्थे तर पनि यो अस्पताल, अस्पताल जस्तो नै लाग्थेन । जनताको रोजाईमा पर्थेन । तर कोभिड महामारीका बेला भने यहि अस्पताल जनताको पहिलो रोजाईमा पर्‍यो । यहाँ बेड पाउन सोर्स लगाउनु पर्ने स्थिति बन्न पुग्यो । अर्थात ओझेल रहँदै आएको टेकु अस्पताल एकाएक चर्चामा आयो ।

हुन त यसरी कोभिडका बेला चर्चामा आउनका लागि सरकारको ठूलो लगानी थियो ।

कोभिड १९ को उपचारका लागि डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गर्न र त्यसका लागि साधनस्रोत सम्पन्न गराउन सरकारले कसर बाँकी राखेको थिएन । त्यसबाहेक त्यहाँका तत्कालीन नेतृत्वको लगन र प्रयासले अझ बढी बल पुग्यो ।

कोभिड महामारीको ‘भुङ्रो’मा टेकुले गर्न सक्छ है भनेर चर्चामा त्कालीन निर्देशक डा. अनुप बास्तोला र त्यसअघिका निर्देशक डा. सागरराज राजभण्डारीको भूमिका विशेष थियो । त्यस यता अहिले डा. युवानिधि बसौलाको नेतृत्व आईपुग्दासम्म अस्पतालले आफूलाई अब्बल सावित गरिरहेको छ ।

धेरैलाई लाग्न सक्छ कोभिडपछि अस्पताल पुन त्यसैगरी सुस्तायो । तर त्यस्तो होईन । गएको आर्थिक बर्षमा मात्रै टेकु अस्पतालको ओपिडीमा सेवा लिनेको संख्या १ लाख ५८ हजार १३२ जना थिए । आकस्मिक सेवा लिनेको संख्या ८ हजार ३३३ जना, भर्ना भएर उपचार लिनेको संख्या १ हजार ३४६ जना रहेको निर्देशक डा. बसौला बताउँछन् ।

‘अस्पतालले सेवामा थप सुधार गर्नका लागि साउन देखि दुई सिफ्ट ओपिडी सञ्चालनमा ल्याएको छ । अहिले विवादित जस्तै बनेको सार्वजनिक विदामा ओपिडी सञ्चालन गर्ने कार्य यो अस्पतालमा पहिले देखि नै लागू भएको छ । विहान ८ :३० देखि १:३० सम्म पहिलो सिफ्टको ओपिडी हुन्छ । बीचमा केही ग्यापछि पुन २ : ३० देखि ४ बजेसम्म दोस्रो सिफ्टको ओपिडी हुन्छ । साउन देखि दुई सिफ्ट ओपिडी सञ्चालन गरेका हौँ । बिरामीको संख्या बढी रहेको छ,’ डा. बसौलाले भने ।

उनले अनलाइन र टोकन सिस्टममा टिकट लिने व्यवस्था केही अघि देखि नै सुरु भइसकेको बताए ।

२० बेडको इमरजेन्सी र ४० बेडको जनरल वार्ड बिरामीका लागि निशुल्क हो । १२ वेडको क्याविन, ४ वटा एचडीयू सहितको २८ बेडको आईसीयू न्युनतम शुल्क लिने गरिएको छ । अस्पतालमा टिटानसका बिरामीलाई लक्षित गर्दै ५ बेडको डार्क रुम समेत सञ्चालन गरिरहेको छ ।

बिरामीको चाप
कुल १०० बेडको स्विकृति भएपनि बिरामीको चापको आधारमा टेकु अस्पतालले ११० बढी बेडमा सेवा दिन बाध्य छ । अस्पतालमा इमरजेन्सी देखि वार्डसम्म बिरामीको भिडभाड देखिन्छ । कुकुरले टोकेको खोप लगाउन आउने र अन्य खोप लगाउन आउनेहरुलाई समेत जोड्दा त सेवाग्राहीको संख्या निकै ठूलो हुन्छ । सेवाग्राही मात्रै होइन अहिले अस्पतालमा चिकित्सक नर्स तथा प्यारामेडिक्सहरुको संख्या पनि पर्याप्त देखिन्छ । ‘अहिलेलाई जनशक्ति पनि ठिक छ,’ निर्देशक डा.  बसौलालले भने ।

तीन दिन अघि अस्पताल पुग्दा डा. बसौलाले अघिल्लो राती आकस्मिक सेवामा आएका बिरामीको संख्या गणना गर्दै थिए । ‘राती मात्रै ३६ जना आकस्मिक सेवाका लागि आउनु भएको थियो त्यसमध्ये १४ जना ज्वरोका बिरामी हुनुहुँदो रहेछ । यस्तै ७ जना सर्पले टोकेका व्यक्ति आएका थिए । यस्तै दम खोकी र अन्य स्वास्थ्य समस्या भएर आकस्मिक सेवाका लागि आउने बिरामीको संख्या पनि कम छैन,’ उनले भने । डा. बसौलालले त्यसबेला ४२ जना भएको र त्यसमध्ये डेंगीका बिरामी १२ जना रहेको समेत जानकारी दिएका थिए ।

टेकु अस्पताल कुकुरले टोकेर रेविजविरुद्धको सुई लगाउन आउनेहरुको मुख्य ‘हव’ हो । यहाँ गत आर्थिक वर्षमा ६३ हजार ८१५ जनाले रेबिजबिरुद्धको सुई लिए । पुरानो समेत गरेर सुई लिनेको संख्या गत आवमा १ लाख ४२ हजार १४९ जना रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ । डा. बसौलाले रेबिजबिरुद्धको खोप टेकु अस्पतालमा चौविस घण्टा उपलव्ध भएको समेत जानकारी दिए ।

यस्तै एचआईभी संक्रमित २ हजार ३४३ जनाले नियमित औषधि लिने गरेका छन् । यो देशकै सबैभन्दा बढी एचआईभी संक्रमितलाई सेवा दिने केन्द्रको रुपमा समेत चिनिएको छ । गतवर्ष मात्रै सो अस्पतालबाट १९४ जना नयाँ संक्रमित पत्ता लागेको निर्देशक डा. बसौलाले जानकारी दिए ।

‘एडल्ट’ खोपहरु पनि उपलव्ध

टेकु अस्पतालमा रेबिजबिरुद्धको खोप मात्रै होईन नेपालमा बयस्कहरुले लगाउने अरु थुप्रै खोपहरु लगाउन सकिन्छ । कोरिया र अफ्रिका जानेहरुले लिने खोप देखि कोभिडविरुद्धको खोप सम्म अहिले उपलव्ध छ ।

‘केही निशुल्क छ केही खोप सशुल्क लगाउनु पर्छ, प्रमुख अस्पताल नर्सिङ प्रशासक सहप्राध्यापक रोशनीलक्ष्मी तुईतुई भन्छिन्, ‘ टेकु अस्पताल एडल्ट खोपका लागि यो उपयुक्त थलो पनि हो ।’

उनका अनुसार एमएमआर, चिकेनपक्स, म्यानिङ्गोकोकल, इन्फ्ल्युएन्जा, निमोकोकल, हेपाटाइटिस ए र बी बिरुद्धको खोप लगाउन सकिन्छ । यस्तै डिप्टेरिया, डीटी, यलो फिवर, टाइफाइडविरुद्ध, एचपीभी, टीटी खोप पनि यहाँबाट उपलव्ध छ ।

अस्पतालले सिटिस्क्यान सेवा देखि प्रयोगशाला सुविधा पनि दिदै आएको छ ।

‘कोरिया लगायत विदेश जानेहरुको मेडिकल परीक्षण समेत यहाँबाट हुने गरेको छ । समग्रतामा टेकु अस्पतालले न्युन शुल्कमा उच्चस्तरीय सेवा उपलव्ध गराएको छ । अहिले यहाँ थप सेवाका लागि भवन अभाव हुने अवस्था आइसकेको छ,’ डा. बसौलाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *