दुईवटा सरकारी क्यान्सर अस्पतालको बिस्तारित सेवा कार्यक्रम तीनवटा प्रादेशिक अस्पतालमा सुरु

काठमाडौँ, १९ भदौ । सरकारी दुईवटा क्यान्सर अस्पतालको बिस्तारित सेवा तीनवटा प्रादेशिक अस्पतालमा सुरु भएको छ ।

भक्तपुर अस्पतालले कोशी प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सम्बन्धि बिस्तारित सेवा सुरु गर्दा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिमको प्रादेशिक अस्पताल सेतीमा सम्झौँता गरेको छ ।

क्यान्सर उपचार सम्वन्धी पछिल्लो सम्झौँता बुधबार सेती प्रादेशिक अस्पताल धनगढी र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनबीच भएको हो ।

अब भरतपुर क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलीले धनगढीस्थित सेती अस्पतालमा क्यान्सर उपचार सेवा प्रदान गर्नेछ । बिस्तारित सेवाका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले सम्झौँतामा हस्ताक्षर गरेका हुन् ।

यसअघि मंगलबार मात्रै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा पौडेल नेतृत्वको टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा समेत सेवा विस्तार गर्ने बारेमा सम्झौँता गरेको छ ।

चार दिन अघि मात्रै भक्तपुर क्यान्सर अस्पतालले आफ्नो सेवा कोशी प्रादेशिक अस्पतालमा विस्तार गर्ने गरी सम्झौँता गरेको थियो । अब छिटै नै मधेश प्रदेशमा समेत बिस्तारित सेवाबारेको सम्झौँता विस्तार गर्ने योजना रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो ।

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।

यस लगत्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन र भक्तपुर क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा क्यान्सर उपचार सम्वन्धि बिस्तारित सेवाको सम्झौँता गरेर उपचार सेवा आरम्भ गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *