चुरोट कम्पनीको प्रायोजनमा हुन लागेको साहित्यिक महोत्सव :

‘आवश्यक कार्वाहीका लागि’ भन्दै स्वास्थ्यले काट्यो ललितपुर महानगर र जिल्ला प्रशासनलाई पत्र

काठमाडौँ, १९ भदौ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी कानुनलाई ठाडो चुनौती दिदै ललितपुरको होटल हिमालयमा ‘सूर्य नेपाल काठमाडौँ लिटेररी फेस्टिवल’ हुन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कार्वाहीका लागि भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य करकोष सचिवालयका सदस्य सचिव गोपीकृष्ण रेग्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरलाई पत्र लेख्दै ध्यानाकर्षण गराएक हुन् ।

‘आवश्यक कार्वाही सम्वन्धमा’ भन्ने विषयमा लेखिएको पत्रमा विभिन्न सञ्चारमाध्यमहरुमा सुर्ती उत्पादक कम्पनी सूर्य नेपालको मुख्य प्रायोजनमा आगामी २२ र २३ जेठमा होटल हिमायल कुपन्डोलमा ‘सूर्य नेपाल काठमाडौँ कलिङगा लिटरेरी फेस्टिवल’ आयोजना गर्न लागिएको भन्ने जानकारी आएको र त्यसरी कार्यक्रम गर्न खोजिए त्यो कानून विपरित हुने स्पष्ट पारिएको छ ।

पत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० ले प्रायोजन गर्न नपाइने व्यवस्था समेत उल्लेख गरिएको छ । यस्तै दफा १२ मा जिल्लाको हकमा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको हकमा प्रमुख प्रशासकीय अधिकारीलाई निरीक्षक तोक्ने व्यवस्था रहेको, दफा १५ मा निरीक्षकले मुद्धाको अनुसन्धान तहकिकात गर्ने, दफा १७ ले सजायको व्यवस्था तथा दफा २७ ले मुद्धाको किनाराका लागि प्रमुख जिल्ला अधिकारीले गर्ने छ भन्ने बारेमा समेत उल्लेख छ ।

सदस्यसचिव रेग्मीले कार्यक्रम हुँदैछ र त्यो कानून विपरित हुँदैछ भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि यसलाई गम्भीरताका साथ लिई आवश्यक कार्वाहीका लागि स्थानीय प्रशासन र ललितपुर महानगरलाई अनुरोध गरेको बताए । ‘अनुगमन गर्ने र आवश्यक कार्वाही गर्ने अधिकार दुवै निकायसंग छ । हामीले त सम्झाएको मात्रै हो । उहाँहरुले गर्नु होला,’ सदस्यसचिव रेग्मीले भने ।

मन्त्रालयले अरु बेला हुलाकबाट यस्तो पत्र पठाउने गरेको भए पनि अत्यन्त महत्वपूर्ण र तत्काल कदम चाल्नु पर्ने भन्दै हिजो नै दुबै कार्यालयमा पत्र पुर्‍याई सकेको बताएको छ । ‘सीडीओ अफिस र महानगर दुबै ठाउँमा पत्र गईसकेको छ । अब उहाँहरुले निरीक्षण र आवश्यक कार्वाही गर्नुहोला,’ रेग्मीले भने ।

बार्षिक ३७ हजार बढी नेपालको मृत्युको कारक सुर्तीजन्य पदार्थ रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले कानून बनाएको छ । तर प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कानूनको निरन्तर उलंघन गर्दै आएको छ । सात महिना अघि मात्रै पोखरामा यस्तै साहित्यिक महोत्सवको आयोजना हुँदा पनि सूर्य नेपाल प्रमुख प्रायोजक थियो ।

उसले निरन्तर कानून उल्लंघन गर्ने क्रमलाई यसपटक पनि निरन्तरता दिएको हो ।

मन्त्रालयको पछिल्लो पत्रपछि आयोजकले प्रमुख प्रायोजकबाट सूर्य नेपाललाई हटाउँछन् कि हटाउँदैनन् ? त्यो भने हेर्न बाँकी छ ।

स्थानीय सरकार र स्थानीय प्रशासनले आफ्नो अधिकार प्रयोग गर्लान कि चुप बस्लान ? त्यो पनि हेर्न बाँकी छ ।

चुरोट कम्पनीको प्रायोजनमा सार्वजनिक व्यक्तित्वहरुले पनि सहभागिता जनाउन मिल्दैन,  बरिष्ठ भनिएका लेखक, साहित्यकार तथा पत्रकारहरुले अब यो कार्यक्रममा सहभागिता जनाउलान कि बहिस्कार गर्लान त्यो पनि हेर्न बाँकी छ ।

ललितपुरको कार्यक्रम सार्वजनिक भएपछि चुरोट कम्पनीको मुख्य प्रायोजनमा कार्यक्रम गर्न नमिल्ने र यो कानून विपरितको कार्य हो भन्दै सुर्ती नियन्त्रण सम्बन्धी अभियानमा क्रियाशिल विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमले विरोध गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *