कानूनले बर्जित गरेको ब्यानर मुनि बसेर लेखक-साहित्यकारले कसलाई के अर्ति देलान ?
काठमाडौँ, १९ भदौ । एउटा साहित्यिक कार्यक्रममा संगै रहेका बेला भारतका राष्ट्रकवी रामधारी सिंह दिनकरले त्यहाँका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भनेका थिए, ‘जब जब राजनीति डगमगाउँछ साहित्यले त्यसलाई सधै बल दिन्छ ।’ एउटा कार्यक्रममा भएको सामान्य घटनापछि त्यहाँका राष्ट्रकविले प्रधानमन्त्रीलाई भनेको उद्धरणले आवश्यक परेका बेला साहित्यले सही राजनीतिका लागि सधै सहयोग गर्छ भन्ने जनाएको थियो ।
राजनीति र साहित्यबीचको सम्वन्धको कुरा गर्दा त्यहाँ मात्रै होइन नेपालमा पनि गज्जब छ । देशमा शान्ति, स्थिरता, विकास र परिवर्तनका आन्दोलन देखि थिति बसाल्न बनाइएका कानून कार्यान्वयनका विषयमा दवाव मुलक कार्यक्रम अगाडी बढाउन साहित्य क्षेत्र सधै अग्रसर रहयो, चाहे त्यो २०६२/ ०६३ को आन्दोलन होस या २०७२ को संविधान बनाउनका लागि दवाव दिन । त्यसपछि त्यसको सही कार्यान्वयनका लागि पनि साहित्यकारहरुले निरन्तर दवाव दिदै आएका छन् ।
तर पछिल्लो केही वर्ष यता भने नेपालको साहित्य क्षेत्र प्रदुशित हुन थालेको देखिएको छ । साहित्य क्षेत्रमा ख्याति आर्जन गरेका साहित्यकारको भूमिका विवादित देखिन थालेको छ ।
किन ?
उनीहरु बिचार नै नगरी कानुनले निषेध गरेका स्थान र कार्यक्रममा जाने, दर्शन साहित्यका गफ छाट्ने गर्न थालेका छन् । यसले उनीहरुको मान प्रतिष्ठा र छविमा समेत गम्भीर आँच पुगेको छ ।
हो, साहित्य केन्द्रीत कार्यक्रम भनेर सात महिना अगाडी पोखरामा गरिएको नेपाल लिटरेचर फेस्टिवल देखि अब हुँदै भनिएको काठमाडौँ कालिंगा लिटेररी फेस्टिवलको आयोजकले तिनै साहित्यकारहरुलाई जनस्वास्थ्यलाई गम्भीर हानी पुर्याउने सुर्तीजन्य पदार्थका उत्पादक सामू घुँडा टेकाएका छन् ।
सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले भारतीय राष्ट्रकवीले त्यहाँका तत्कालिन प्रधानमन्त्री नेहरुलाई राजनीति र साहित्यकारको सम्वन्ध र साहित्यबीच सम्वन्ध र बलको विषय उदृत गर्दै कलिंगा लिटरेरी फेस्टिवलमा नजान आग्रह गरेको छ ।
एक्सन नेपालका कार्यक्रम संयोजक पामिर गौतमले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हजारौँ मानिसहरुको ज्यान बचाउने उदेश्यले ल्याइएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने कानूनको कार्यान्वयनमा सरकार कमजोर देखिएको छ । यसका कारण अपराधी उद्योगहरुलाई आफ्नो गतिविधिहरुलाई तिब्र बनाउन र बढाउन थप सहज भएको छ । कलिंगा लिटेररी फेस्टिवललाई सूर्य नेपालको प्रायोजकत्व त्यहि आफ्नो बैधानिकतालाई छाप लागउने रणनीतिले प्रेरित गरेको कुरामा दुई मत छैन । तर सुर्ती उत्पादकको व्यानर मुनि बसेर वा बसाएर साहित्यका बहु आयामिक विषयमा छलफल गराउनु वा गरिनु विडम्बनापूर्ण छ’ विज्ञप्तीमा अगाडी भनिएको छ, ‘राजनीति डगमगाउँदा देश र बृहत्तर लोककल्याणका लागि कलम र आवाज उठाउने साहित्यलाई काठमाडौँ कलिंगा लिटेररी फेस्टिवलका आयोजकले जनस्वास्थ्यमा गम्भीर हानी पुरयाउने सुर्तीजन्य पदार्थका उत्पादक सामु घुडा टेका छन् । नाम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरुको ठूलो दवाव र लगाईँपछि बनेका कानुनहरुकै भद्दा मजाक हुने गरी र आफ्नो सामाजिक उत्तरदायित्वको समेत पर्वाह नगरी सुर्तीजन्य पदार्थ उत्पादकको प्रचारका लागि लोगोसहित कार्यक्रम गरिनु हास्यास्पद छ ।’
एक्सन नेपालले यस्तो सुर्ती उद्योगको व्यानर मुनि कुनै कार्यक्रम आयोजना नगर्न र त्यसमा सामेल नहुन समेत आयोजक तथा सार्वजनिक निकायका व्यक्तित्व, लेखक पत्रकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट संसारमा हरेक वर्ष ८० लाख भन्दा बढी व्यक्तिहरुको ज्यान जाने गरेको छ । नेपालमा मात्रै यसको प्रयोगका कारण बर्षेनी ३७ हजार बढीले ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी अपराधी उद्योग (सीन इन्ड्रस्टी भनिने गरिएको हो ।
सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौँको अनुसन्धानहरुले देखाएका छन् । यसकारण अधिकांश देशहरुले सुर्ती उद्योगरुलाई कुनै पनि प्रकारको विज्ञापन प्रवद्र्धन र प्रायोजनमा प्रतिवन्ध लगाएका छन् । नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून र नियमावली तथा निर्देशिकाले यस्तो कार्य गर्न प्रतिवन्ध गरेको छ ।
यस्तो थियो भारतका तत्कालिन प्रधानमन्त्री नेहरु र राष्ट्रकवि दिनकरको प्रसंग
जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री भएका बेला लाल किल्लामा एउटा कवि सम्मेलनको आयोजना भएको थियो । प्रधानमन्त्री नेहरु सो कार्यक्रममा प्रमुख अतिथि थिए । भारतका राष्ट्रकवि रामधानी सिंह दिनका पनि बाचक थिए ।
कार्यक्रमस्थलमा पुगेर मञ्चमा जान संगसंगै सिँडी चडिरहेका बेला प्रधानमन्त्री नेहरुको खुट्टा अचानक लरखरायो । त्यसबेला राष्ट्रकवि दिनकरले प्रधानमन्त्री नेहरुको हात समातेर उनलाई लडन दिएनन् र माथि उक्लन सहयोग गरे । त्यसपछि नेहरुले दिनकरलाई यसका लागि धन्यवाद दिए । तर दिनकरले तत्कालै जवाफ फर्काउदै भने, ‘नेहरु जी यसमा धन्यवाद दिनु पर्ने केही कारण छैन, जब जब राजनीति डगमगाउँछ, साहित्यले त्यसलाई सधै बल दिन्छ ।’
नेपालको कमजोर राजनीतिको फाईदा उठाउदै कानून विपरित कार्य गर्न सक्रिय सूर्य नेपालको व्यानर मुनि सहभागी हुन जाने कि कानून विपरितको हुने त्यस्तो कार्यक्रम बहिस्कार गर्ने कलिंगा लिटरेरी फेस्टिवलमा अतिथिका लागि निम्त्याइएका लेखक साहित्यकार तथा पत्रकारहरु पुर्नबिचार गर्नु जरुरी छ ।
सम्पर्क इमेल : [email protected]