सार्वजनिक विदाको दिन अस्पतालको ओपिडी चलाउ भन्नु अव्यवहारिक र अबैज्ञानिक कदम : नेपाल चिकित्सक संघ


काठमाडौँ, १८ भदौ । नेपाल चिकित्सक संघले बिदाको दिन समेत ओपीडी चलाउने सरकारी निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने विषय पूर्ण कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएपछि यो विषय एकपटक चर्चामा आएको छ ।

प्रधानमन्त्री कार्यालयको पत्र पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सरकारी अस्पताललाई सार्वजनिक विदाको दिनमा ओपिडी लगायतका सेवा सुचारु गर्न पत्राचार गरेको छ ।

नेपालमा २०४८ सालदेखि सरकारी अस्पतालहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दरबन्दी नथपिएको र अस्पतालहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधाहरु ज्यादै न्युन रहेकोतर्फ समेत संघले ध्यानाकर्षण गराएको छ।

‘अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ । कम दरबन्दी तथा ज्यादै न्यून सुविधामा समेत २०७२ सालको भूकम्प तथा कोभिड १९ महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान जोखिममा राखी अनवरत रूपमा अहोरात्र सेवामा खटेको कुरा सबैलाई अवगत छ,’ विज्ञप्तिमा भनिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि मानव नै भएकाले अन्य पेशाकर्मीहरुलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको नबिर्सिन भनिएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आराम गर्नको लागि हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको उल्लेख गरिएको छ ।

‘स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ,’ भनिएको छ।

कामको अत्याधिक बोझ तथा लगातारको तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा डिभोर्ससम्म हुने गरेको बताइएको छ। कतिपय स्वास्थ्यकर्मीहरुमा अत्याधिक तनावका कारण जटिल मानसिक समस्याहरु उत्पन्न भई आत्महत्या समेत देखा परिरहेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने कार्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि ठूलो अन्याय भएको संघको ठहर छ।

स्वास्थ्यकर्मीहरुलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकौशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नको लागि बिदा अपरिहार्य रहेको बताइएको छ। ‘ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरुमा समेत बहिरंग सेवा संचालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौं,’ महासचिव डा सञ्जीव तिवारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

विषय अहिले चर्चामा आएपनि यो निर्णय भने १२ पुस २०८० मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय हो । त्यस लगत्तै राजपत्रमा विदा र सेवाका बारेमा सूचना प्रकाशित भएको थियो । पछि २९ माघ २०८० मा विसं २०८१ सालमा हुने सार्वजनिक विदाको सूचना जारीगर्दा समेत सो विषय उल्लेख थियो ।

अघिल्लो वर्ष पास भएको व्यवस्था कतिपय अस्पतालहरुमा कार्यान्वयन नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो विषयमा ध्यानाकर्षण गराएको हो ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर अस्पतालहरुले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सट्टा विदा दिनु पर्ने उलेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *